दोलखाका १२ र रामेछापका १९ सामुदायिक माविमा शिक्षक अनुदान कार्यक्रम सञ्चालन हुने

2 weeks ago/Saturday, March 21st, 2020

(जिरी) दोलखा, ८ चैत्र ।

बागमती प्रदेश सरकारले शुन्य दरबन्दी रहेका दोलखाका १२ सहित रामेछापका १९ सामुदायिक माध्यमिक विद्यालयलाई शिक्षक अनुदान कार्यक्रम दिने भएको छ ।

माध्यमिक तहमा अध्यापन गराउँदै आएका मावि तहको शुन्य दरबन्दी रहेका बागमती प्रदेश अन्र्तगतका १३ जिल्लाका २ सय ६२ माध्यमिक विद्यालयमा यो कार्यक्रम लागु हुन लागेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी रुद्रहरी भण्डारीका अनुसार मावि तहको शिक्षकको राहत र दरबन्दीको कोटा नभएका विद्यालयलाई चालु आर्थिक वर्षको ६ महिना अवधिका लागि मावि शिक्षकलाई तलब अनुदान दिने गरी कार्यक्रम सुरु गर्न लागिएको हो ।

यो कार्यक्रम चालु आर्थिक वर्षको असार मसान्तसम्म लागु हुनेछ । माध्यमिक विद्यालय शिक्षक अनुदान कार्यक्रमबाट दोलखाका १२, रामेछापका १९, सिन्धुलीका ३८, सिन्धुपाल्चोकका ३९ र काभ्रेपलाञ्चोकका १५ वटा सामुदायिक मावि लाभान्वित हुनेछन् । कार्यक्रम अनुसार मावि तहको शिक्षकको दरबन्दी शुन्य रहेका विद्यालयले अग्रेजी, गणित र विज्ञान मध्ये कुनै एक विषयको शिक्षक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्नेछ । यसरी नियुक्त भएका शिक्षकले मासिक ३५ हजार ९ सय ९० रुपैयाँ तलब पाउनेछन् । सो रकम विद्यालयको बैँक खातामा सिधैँ जम्मा हुनेछ । बागमती प्रदेशमा माध्यमिक तहमा पठनपाठन हुने ७ सय ८४ सामुदायिक विद्यालय रहेकोमा १ सय २७ वटा माविमा मावि तहको दरबन्दी शुन्य रहेको छ ।

आवरण तस्बीरः मावि तहमा एउटा पनि दरबन्दी नभएको जिरी नगरपालिकाको ठुलोपातल स्थित कालिका मावि

८ चैत्र , २०७६। १२ः३० बजे प्रकाशित ।

VIEWS: 2425 पटक हेरीएको
error: Content is protected !!