दोलखाको छुकिमागो हिमाल आरोहण गर्न गएका स्पेनिस आरोहीको मृत्यु, घाईतेको हेलिकोप्टरवाट उद्धार

4 weeks ago/Sunday, October 20th, 2019

दोलखा, ३ कार्तिक ।

दोलखाको रोल्वालिङ हिमश्रृङखलामा हिमाल आरोहण गर्न गएका एक स्पेनिस आरोहीको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

रोल्वालिङमा रहेको ६ हजार २ सय ५८ मिटर उचाईको छुकिमागो (CHUKYIMA GO) हिमाल आरोहणमा गएका स्पेनिस आरोहीको हिमाल आरोहणकै क्रममा हिजो दिउँसो मृत्यु भएको हो । ४४ बर्षिय स्पेनिस नागरिक लुईस फिलिप भल्भर्डे गुजम्यान ( LUIS FELIPE VALVERDE  GUZMAN ) को हिमाल आरोहणको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । हिमाल आरोहणको क्रममा स्नो एङ्कर गर्ने क्रममा खसेर उनको मृत्यु भएको बताईएको छ । घटना हिजो दिउँसो करिव १० बजेको भएपनि आधार शिविरमा रहेका सहयोगि र अन्य स्पेनिस नागरिकले हिजो साँझ ५ बजे मात्रै थाहा पाएका थिए ।

आरोहणको क्रममा साथिको मृत्यु भएपछि छुकिमागो हिमालमा अलपत्र परेका अर्का स्पेनिस नागरिक डेविड स्वेला फर्नान्डेज (DAVID SUELA FERNANDEZ) लाई घाईते अवस्थामा उद्धार गरिएको छ । उनलाई घटना घटेको करिव २८ घण्टापछि हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौं लगिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिनुभयो । चार जना स्पेनिस नागरिक सहयोगि शेर्पासहित करिव १० दिन अघि रोल्वालिङ पुगेका थिए । दुई जना स्पेनिस नागरिक भने ना गाउँमै भएका कारण सकुशल रहेका छन् ।

३ कार्तिक २०७६ । २ः१५ बजे प्रकाशित

VIEWS: 4160 पटक हेरीएको
error: Content is protected !!