दोलखाको पर्यटकीय नगरी जिरीमा स्ट्रिट फुड फेस्टिभल हुने

3 weeks ago/Monday, September 30th, 2019

जिरी (दोलखा) । १३ असोज ।

दोलखाको पर्यटकीय नगरी जिरीमा जिरी स्ट्रिट फुड फेस्टिभल २०७६ आयोजना गरिने भएको छ ।

पर्यटकीय गन्तव्यका रुपमा रहेको जिरीको पर्यटकीय धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचानको प्रचारप्रसार गरि पर्यटकहरुकोे संख्यामा उल्लेख्य वृद्धि गर्ने उद्धेश्यले जिरी स्ट्रिट फुड फेस्टिभल २०७६ आयोजना गर्न लागिएको हो । युवा सञ्जाल जिरीले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी जिरी स्ट्रिट फुड फेस्टिभल यही कार्तिक १, २ र ३ गते तिन दिन आयोजना गरिने जानकारी गराएको हो । पर्यटकीय नगरी जिरीमा विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर यो वर्ष नयाँ सोच र अवधारणाका साथ स्थानीयबासी तथा आन्तरिक पर्यटकहरुलाई लक्षित गरि जिरीको मौलिक स्वाद चखाउनुका साथै साङगितीक कार्यक्रमका साथ स्ट्रिट फुड फेस्टिभल गर्ने घोषणा गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले जानकारी दिनुभयो । उहाँले नयाँ गन्तव्यको पहिचान एवम् प्रवद्धन गर्दै जिरी आउने पर्यटकमा नयाँ स्वाद पस्किएर उनिहरुको बसाई अवधि लम्बाएर आर्थिक लाभ लिने उद्धेश्यले महोत्सवको आयोजना गरिएकोे बताउनुभयो ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा स्ट्रिट फुड फेस्टिभल

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुन लागेको सो महोत्सवले जिरीको पर्यटकीय, धार्मिक तथा मौलिकताकोे प्रचारप्रसारमा सहयोग गर्ने अपेक्षा गरिएको सञ्जालका अध्यक्ष खड्काले बताउनुभयो । महोेत्सवमा करिब ५ हजार आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरि करिब १० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा जिरीमा बसोबास गर्ने आदिबासी जिरेल, शेर्पा, नेवार, तमाङ, सुनुवार लगायत जातका सांस्कृतिक झाँकी सहित स्थानीय कला संस्कृतिको प्रर्दशनी गर्ने तयारी गरिएको युवा सञ्जाल जिरीले जनाएको छ ।

यस्ता छन् महोत्सवको आकर्षण

यस्तै महोत्सवमा स्थानीय मौलिक खाना तथा परिकारहरुको व्यवस्था गर्नुका साथै चिज, छुर्पि, चिया, आलु, किवी, ट्राउट माछा, शिल्मा, ढिडो जस्ता मौलिक उत्पादनहरुको परिकार राखिने छ । यसैगरी पर्यटकहरुको लागि जिरी आसपासका प्रमुख पर्यटकीय गन्तव्यहरुमा हाईकिङ, जिप सफारी, साईक्लिङ गर्ने तयारी गरिएको छ । तीन दिन सम्म चल्ने कार्यक्रममा प्रत्येक दिन ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सांगितीक प्रस्तुती हुनेछ भने १४ वर्ष भन्दा माथि उमेर समूह अन्तर्गत खुला नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको सञ्जालका अध्यक्ष खड्काले बताउनुभयो ।

कार्यक्रममा जिरीको प्रमुख पर्यटकीय गन्तव्यको फोटो, भिडियो, विभिन्न कार्यक्रमहरुमा खिचिएको कला संस्कृति तथा इभेन्टहरुको क्लिपहरु समावेश गरि प्रमोसन भिडियो बनाई विभिन्न सोसियल साईट तथा अनलाईन पोर्टल मार्फत प्रसारण गरिने छ । साथै विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका ब्यानर, फेल्क्स, पत्राचार मार्फत प्रचारप्रसार गरिने बताइएको छ । महोत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि जिरी नगरपालिका, गौरिशंकर संरक्षण क्षेत्र परियोजना, नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघसंस्था, परियोजना लगायतका निकाय र विदेशी जिरीबासीको सहयोग रहेको आयोजकले जनाएको छ ।

१३ असोज, २०७६ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 2520 पटक हेरीएको
error: Content is protected !!