दोलखाको राजनीतिमा महिला सहभागिताः एक जना पार्टी इन्चार्ज, चार साँसद, कमिटीमा न्यून प्रतिनिधित्व

1 month ago/Tuesday, December 17th, 2019

सिर्जना खड्का ।
दोलखा, १ पुस ।

दोलखाका राजनीतिक दलको स्थानीय र जिल्ला तहमा महिलाकोे सहभागिता अत्यन्त न्यून देखिएको छ ।

सँबिद्यानले सवै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपनि राजनीतिक दलभित्रै महिलाको तोकिए अनुसारको प्रतिनिधित्व हुन नसकेको हो । पूर्व एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखादेखि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत वडा तह, नगरपालिका र गाउँपालिका तथा जिल्ला कमिटीमा समेत महिलोको सहभागिता उल्लेख्य छैन । यद्धपि, नेकपा दोलखाको इन्चार्ज र सह ईन्चार्ज जस्तो गरिमामय पदमा दुवै महिला पुगेका छन् । नेकपाकी केन्द्रिय सदस्य देवी खड्का जिल्ला इन्चार्ज र अर्की केन्द्रिय सदस्य रचना खड्का हाल जिल्ला सहइन्चार्जको जिम्मेवारीमा छन् ।

नेकपा जिल्ला कमिटीमा ९ महिला

नेकपा दोलखाको मुख्य नेतृत्व तहमा दुई महिला पुग्नु सुखद भएपनि १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा ९ जना र ४६ सदस्यीय सचिवालयमा ५ जना मात्रै महिला रहेका छन् । जिल्ला कमिटी र सचिवालयको कुल सदस्य सँख्याको आधारमा महिलको सहभागिता निकै न्यून हो । जिल्लाका ९ वटै स्थानिय तहमा नेकपाको ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिव पदमा पनि सबै पुरुष नै रहेका छन् । पछिल्लो पटक प्रदेश सभा निर्वाचन क्षेत्र स्तरीय कमिटी गठन भएपनि दुवै इन्चार्ज पुरुष रहेका छन् । नेकपा दोलखाकी सचिवालय सदस्य एवँ महिला विभागकी प्रमुख रिता रिमालले पूर्व दुई पार्टीमा राजनीतिमा सक्रिय धेरै महिला भएपनि एकता प्रक्रियामा महिला सहभागिता भनेजस्तो हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

नेपाली कांग्रेसमा ४ जना मात्रै

यस्तै, नेपाली कांग्रेस दोलखाको ४३ सदस्यीय जिल्ला कमिटीमा ४ जना मात्रै महिला छन् । २४ जना महाधिबेशन प्रतिनिधी र १० जना महासमिति सदस्यमा दुई जना महिला रहेका छन् । सभापति, उपसभापति, दुई सचिव, कोषाध्यक्ष र सह सचिव गरी काँग्रेस जिल्ला समितिमा ६ जना पदाधिकारी रहेकोमा एक जना पनि महिला छैनन् । दोलखा कांग्रेसको ईतिहासमा अहिलेसम्म महिलाले जिल्ला पार्टीको नेतृत्व गर्न पाएका छैनन् । कांग्रेस दोलखाका कुनै पनि महिला नेतृ अहिलेसम्म साँसद वा मन्त्री पनि बन्न सकेका छैनन् । कांग्रेस महासमिति सदस्य एवँ बिद्यार्थी नेतृ बिनिता अधिकारी समाजको दृष्टिकोण अझै पनि गलत रहेको र महिला पुरुष वीचको विभेद हट्न नसकेका कारण राजनीतिक पार्टीमा पनि महिला सहभागिता न्यून हुन पुगेको टिप्पणी गर्नुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको १ सय ५० सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष र कोषाध्यक्ष गरी दुई पदमा महिला रहेका छन् । राप्रपा जिल्ला अध्यक्ष नवराज श्रेष्ठले पार्टीको जिल्ला समितिमा ३३ प्रतिशत महिला सुनिश्चित रहेको दावी गरे पनि राप्रपामा पनि महिला सहभागिता उल्लेख्य हुन सकेको छैन ।

दोलखा जिल्लाको राजनीतिक इतिहासमा एक जना महिला राज्यमन्त्रीसम्म भईन् । अहिले एक जना सँघीय र तिन जना प्रदेश गरी चार महिला साँसद दोलखावाट प्रतिनिधित्व गर्दछन् । देशको ठूलो पार्टी, नेपाल कम्युनिष्ट पार्टीको जिल्ला इन्चार्ज र सह ईन्चार्ज दुवै महिला भएपनि नेकपा र नेपाली कांग्रेस तथा जिल्लामा क्रियाशिल अन्य दलहरुमा समेत महिलाको सहभागिता भनेजस्तो हुन सकेको छैन । पार्टीका जिल्ला समिति र नगरपालिका तथा गाउँपालिका तहको समितिमा न्यून महिलाको मात्रै सहभागिता छ ।

महिला सहभागिता न्यून हुनुको कारण

पूर्व राज्यमन्त्री समेत रहेकी नेकपाकी केन्द्रिय सदस्य एवँ दोलखा जिल्ला ईन्चार्ज देबी खड्का विगतका सामाजिक मुल्य मान्यता र कानून महिलाको पक्षमा नभएकाले महिला पछि परेपनि अहिले बनेको नेपालको संबिधानले नैं महिलाहरुलाई अवसर दिएको बताउनुहुन्छ । राजनीतिमा निरन्तरता दिन नसक्नु र पाएको अवसरलाई समेत सदुपयोग गर्न नसक्नु महिलाका कमजोरी भएको भन्दै नेतृ खड्काले नेकपा दोलखाको राजनीतिक जिम्मेवारी बाँडफाँडमा छुटेका महिलाहरुलाई कुनै न कुनै रुपमा समेटेर लैजाने प्रतिक्रिया दिनुभयो । कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले विधान बमोजिम महिलाको प्रतिनिधित्व गरिएको बताउनुभयो । कांग्रेसको संशोधित नयाँ बिद्यानले प्रत्येक स्थानीय तहवाट जिल्ला समिटिमा एक जना महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका कारण अधिवेशन पछि बन्ने जिल्ला समितिमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चत हुने उहाँको भनाई छ ।

नेकपाले बनायो चार महिलालाई साँसद

जनयुद्ध र जनआन्दोलन पछि भएको परिवर्तनसँगै बनेको नेपालको सँबिद्यानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेपछि थुप्रै महिलाहरुले अवसर पनि पाएका छन् । यही अवसरका कारण इतिहासमै पहिलोपटक नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायधिशको रुपमा महिलालाई पाएको थियो । केन्द्रिय तथा प्रादेशिक संसद तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व विगतको भन्दा बढ्दै गएको छ । नेकपा दोलखाको तर्फवाट हाल एक जना सँघीय साँसद र ३ जना प्रदेश साँसद महिला हुनुलाई समग्र जिल्लावासी महिलाहरुका लागि गौरवको बिषय मान्न सकिन्छ । यसअघि तत्कालिन नेकपा माओवादीवाट नेतृ देवी खड्का राज्यमन्त्री नैं बन्न सफल भईन् ।

स्थानीय सरकारमा ७ जना उपप्रमुख

नेपाली महिलाले निर्वाचनमा मतदान गर्ने र निर्वाचित हुन पाउने अधिकार प्राप्त गरेको ७० बर्षको इतिहासमा सबैभन्दा बढी महिला जनप्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति दोलखाको उपप्रमुखदेखि ९ स्थानीय तह मध्ये ७ वटामा महिला उपप्रमुख रहेका छन् । उनीहरु सवै तत्कालिन एमालेवाट बिजयी भएका जनप्रतिनिधि हुन् । ७४ वडा वडापालिकामा एक महिला र एक दलित महिला गरी १ सय ४८ महिला सदस्य जनप्रतिनिधि भएपनि नगरपालिका वा गाउँपालिकाको प्रमुख तथा वडापालिकाको अध्यक्ष जस्तो प्रमुख पदको जिम्मेवारी महिलाले पाउन सकेका छैनन् ।

१ पौष २०७६ । १०ः०० बजे प्रकाशित

VIEWS: 6915 पटक हेरीएको
error: Content is protected !!