दोलखाको ७४ वडापालिकामध्ये २५ वडाको मात्रै नयाँ भवन बन्यो

1 week ago/Monday, December 2nd, 2019

सिर्जना गोले ।

जिरी (दोलखा), १६ मंसिर ।

स्थानीय सरकार बनेको साँढे २ वर्षको अवधिमा दोलखामा २५ वटा वडाको मात्रै आफ्नै वडा कार्यालय भवन बनेको छ ।

२ नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तह रहेको दोलखामा ७४ वटा वडा रहेकोमा अहिलेसम्म २५ वटा वडाको मात्रै आफ्नै कार्यालय भवन बनेको हो । सबैभन्दा बढी जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा ५/५ वटा वडा कार्यालय भवन बनेको छ । जसअनुसार जिरी नगरपालिकामा वडा नम्बर १, २, ४, ७ र ९ को आफ्नै वडा कार्यालय भवन बनेको छ । वडा नम्बर १, २ र ४ को निर्माण कार्य सम्पन्न भइसकेको भने ७ र ९ को निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडा कार्यालय भवन १ करोड भन्दा माथिको लागतमा निर्माण भएका हुन् । जिरी ३ को वडा कार्यालय भवन बनाउन आवश्यक नरहेको तथा ५ र ६ नम्बर वडामा जग्गा प्राप्ति लगायतका कारण भवन बन्न नसकेपछि भाडाकै भवनबाट जनतालाई सेवा दिँदै आइरहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी, बैतेश्वर गाउँपालिकाको २, ३, ४, ५ र ८ को वडा कार्यालय भवन बनेको छ । गत वर्ष ८२/८२ लाखको लागतमा ५ वटा वडा कार्यालयको भवन निर्माण भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचर्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष बाँकी १ र ६ नम्बर वडाको ५५/५५ लाखको लागतमा आफ्नै वडा कार्यालय भवन बन्नेछ भने वडा नम्बर ७ को पुननिर्माण प्राधिकरणले निर्माण गरिदिने छ । कालिञ्चोक गाउँपालिकाले पनि १, २, ३, ८ र ९ को गरी ५ वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बाँकी ४, ६ र ७ नम्बर वडाले भाडाको घरबाट जनतालाई सेवा दिँदै आइरहेको र ति वडापालिकाको भवन चालु बर्ष निर्माण हुने गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताउनुभयो ।

५ स्थानीय तहमा २/२ वटा वडाको मात्रै भवन निर्माण

यसैगरी भीमेश्वर नगरपालिका, मेलुङ, शैलुङ, तामाकोशी र विगु गाउँपालिकामा २/२ वटा मात्रै वडा कार्यालय भवन बनेको छ । भीमेश्वरमा ९ वटा वडा रहेकोमा वडा नम्बर १ र ४ को वडा कार्यालय निर्माणधिन अवस्थामा रहेको र वडा नम्बर ७ र ८ को वडा कार्यालय भवन यो वर्ष निर्माण सुरु गर्नका लागि बजेट छुट्याईएको भिमेश्वर नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ५ र ६ ले भाडामा लिएको भवनबाट जनतालाई सेवा दिँदै आईरहेका छन् ।

मेलुङ गाउँपालिकाको वडा नम्बर २ र ७ मा वडा कार्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष हिरा थोकरले जानकारी दिनुभयो । दुई वडा कार्यालय भवन २५/२५ लाखको लागतमा निर्माण भएको उहाँले बताउनुभयो । यो वर्ष वडा कार्यालय भवन निर्माणका लागि १ करोड रकम विनियोजन गरिएपनि कुन–कुन वडा कार्यालय भवनको निर्माण गर्ने भन्ने टुङ्गो नलागिसकेको प्रवक्ता थोकरले बताउनुभयो । शैलुङ गाउँपालिकामा कारिताससँगको सहयोगमा गत वर्षदेखि ६ र ७ नम्बर वडाको वडा कार्यालय भवन बन्दैछ । यो वर्ष १ र ४ नम्बर वडाको निर्माण सुरु गरिने गाउँपालिकाकी उपाध्यक्ष लालमाया योञ्जनले जानकारी दिनुभयो ।

यसैगरी तामाकोशी गाउँपालिकामा वडा नम्बर १ र ४ को भवन निर्माण भएको छ । गत वर्ष ५६/५६ लाखको लागतमा सो वडा कार्यालयको भवन बनेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष वडा नम्बर ५ र ७ को आफ्नै वडा कार्यालय भवन निर्माण हुनेछ । यस्तै विगु गाउँपालिकामा वडा नम्बर २ र ३ को ९०/९० लाखको लागतमा आफ्नै भवन बनेको र यो वर्ष ६० लाखको लागतमा वडा नम्बर ८ को वडा कार्यालय भवन बन्ने गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीले जानकारी दिनुभयो ।

गौरीशंकर गाउँपालिकामा अहिलेसम्म एउटा पनि बनेन

गौरीशंकर गाउँपालिकामा भने अहिलेसम्म एउटा पनि वडा कार्यालय भवनको निर्माण कार्य सुरु भएको छैन । अहिले सम्म कुनै पनि वडा कार्यालयको भवन निर्माण नभएको भन्दै गाउँपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख लिलाराज पौडेलले वडा नम्बर ६ र ९ बाहेकको ७ वटा वडा कार्यालय भवन यो वर्ष निर्माण हुने बताउनुभयो । ७ वटा वडा कार्यालय भवन निर्माण गर्नका लागि २ करोड ४५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । गौरीशंकर गाउँपालिकाका वडापालिकाहरुको आफ्नै भवन नभएका कारण भाडाको घरमा सँचालन हुदै आएका छन् ।

१६ मंसिर, २०७६ । १ः४० बजे प्रकाशित । 

VIEWS: 3390 पटक हेरीएको
error: Content is protected !!