दोलखामा उत्पादित किवि भारतीय बजारमा

3 years ago/Monday, April 17th, 2017

दोलखामा उत्पादित किवि फल भारतको राजधानी नयाँ दिल्लि सम्म निर्यात हुन थालेको छ ।
फलफूलको राजा मानिने किवि फलको उत्पादन व्यवसायीक रुपमै हुन थालेपछि यो बर्ष देखि नयाँ दिल्लि सम्म निर्यात हुन थालेको हो । दोलखामा उत्पादन भएको किवि फल स्थानीय बजारका अलावा राजधानीका सपिङ्ग कम्प्लेक्स र सुपर मार्केट सम्म विक्रि बितरण भईरहेको छ । यो बर्ष जिल्लामा उत्पादन भएको करिव १५ हजार किलो (१५ मेट्रिक टन) किवि मध्ये ७५ प्रतिशत जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालय दोलखाले जनाएको छ । कार्यालय प्रमुख नारायणकुमार श्रेष्ठका अनुसार जिल्लामा उत्पादित किवि फल २५ प्रतिशत स्थानीय बजारमा खपत हुनुका साथै ७५ प्रतिशत जिल्ला बाहिर निर्यात भएको छ । जिल्ला बाहिर निर्यात भएको मध्ये करिव २ हजार किलो किवि भारतको राजधानी नयाँ दिल्लि निर्यात भएको छ । चालु बर्षदेखि जिल्लामा किवि उत्पादनमा उत्साहप्रद बृद्धि भएपछि जिल्ला बाहिर र छिमेकी मुलुक भारत सम्म निर्यात हुन थालेको हो ।


एउटै गाविसमा ७ मेट्रिक टन उत्पादन
कृषि विकास कार्यालयको तथ्याँक अनुसार यो बर्ष दोलखामा १५ मेट्रिक टन किवि फल उत्पादन भएको छ । त्यो मध्ये बोच गाविसमा मात्रै ७ मेट्रिक टन किवि फलेको छ । करिव पाँच बर्ष अघि बोच गाविसले बिरुवा खरिदमा ५० प्रतिशत अनुदान दिएर एक घर १० किवि अभियान सँचालन गरेको थियो । त्यस यता सो गाविसका किसानहरुले किविको व्यवसायीक खेतिको समेत बिस्तार गरेका छन् । बोच गाविसमै रहको बागवानि केन्द्रमा यो बर्ष २ मेट्रिक टन किवि फलेको छ भने जिल्लाको अन्य क्षेत्रमा ६ मेट्रिक टन किवि फलेको छ । चरिकोट स्थित आमा किवि फलफूल नर्सरीका सँचालक स्याम खड्काले २७ बोटमै १४ सय किलो किवि फलाएका छन् । एउटा बोटमा ८० किलो सम्म किवि फलेको उनले बताए । जिल्लामा उत्पादित किवि फल स्थानीय बजारमा प्रति किलो दुई सय देखि साँढे तिन सय रुपैयाँ सम्म कारोवार भईरहेको छ । दोलखा भ्रमणमा आउने आन्तरिक पर्यटकहरुले समेत किविलाई कोसेलीको रुपमा खरिद गरेर लैजान थालेका छन् । दोलखामा उत्पादित किवि स्थानीय बजारका अलावा काठमाण्डौंको सुपर मार्केट, सपिङ कम्प्लेक्स तथा कालिमाटि र बल्खुमा समेत उपलव्ध छ ।
यसरी हुँदैछ भारत र दुवई सम्म निर्यात
दोलखा सहित नेपालका बिभिन्न जिल्लामा उत्पादित किवि फल भारतको नयाँ दिल्लि सम्म निर्यात हुन थालेको हो । यो बर्ष पहिलो पटक एक कन्टेनटर अर्थात २५ सय किलो किवि दिल्लिमा पुगेको छ भने अवको एक साता भित्र थप ५५ सय किलो दिल्लि निर्यात हुँदैछ । बल्खु स्थित एन प्याक प्रालिले बिभिन्न जिल्लामा फलेको किविलाई सँकलन गरी प्रोसेसिङ् र ग्रेडिङ गरेर भारत निर्यात गर्न सुरु गरेको हो । सो कम्पनीले चालु बर्षवाटै नेपालमा उत्पादित किवि दुवईमा पनि पठाउने तयारी गरेको छ । कम्पनीका निर्देशक सगुन उप्रेतिले नयाँ दिल्लिमा ७२ ग्राम देखि १ सय ७५ ग्राम सम्मको साँढे दुई मेट्रिक टन किवि फल पठाएकोमा दुई दिन भित्रै बजारमा खपत भएको जानकारी दिए । उनका अनुसार नयाँ दिल्लिमा अन्य मुलुकवाट भित्रिने किवि अमिलो हुने भएपनि नेपालवाट निर्यात गरिएको गुलियो र स्वादिष्ट भएका कारण उच्च माग छ । यो बर्ष मात्रै भारतवाट पाँच हजार टन ( ५ लाख किलो) किवि फलको माग भएको छ ।
एन प्याक प्रालिले दोलखाका अलावा पाँचथर, ईलाम, ताप्लेजुङ, सँखुवासभा, रामेछाप, मकवानपुर, नुवाकोट, ललितपुर, गुल्मि लगायतका जिल्लावाट किवि फल सँकलन भएको छ । अहिले सम्म १८ हजार किलो सँकलन भईसकेको र थप १० हजार किलो सँकलन हुने अनुमान गरिएको निर्देशक उप्रेतिले बताए । नेपालमा किवि उत्पादन हुनु पूर्व न्युजिल्याण्ड, ईटलि र चिलिवाट आयात हुने गरेको थियो ।

 


नेता देखि किसान सम्म व्यवसायीक खेति गर्दै
दोलखामा ९ बर्ष अघिवाट किवि खेति सुरु भएको हो । फलफूल रुट स्टक तथा बागवानि केन्द्र बोचले २०६४ साल पुसमा ईसिमोडवाट १ सय २० वटा किविको बिरुवा झिकाएर जिल्लामै पहिलो पटक यसको खेति सुरु गरेको थियो । ३० वर्ष अघि एक जना स्विस नागरिकले भिमेश्वर नगरपालिका सिम्पानीका श्याम खड्काको घरमा रोपेको किविको बोटमा लटरम्म फल लागे पछि दोलखामा यसको सम्भावनाको अध्ययन सुरु भएको थियो । केन्द्रमा लगाएको किविले राम्रो उत्पादन दिन सुरु गरेपछि किसानहरु यसको व्यवसायीक खेतिमा आकर्षित भएका हुन् ।
कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लाको एक सय ५० हेक्टर क्षेत्रफलमा किवि खेति गरिएको छ । जिल्लाको भिमेस्वर र जिरी नगरपालिका, बोच, झुले, मिर्गे, गैरीमुदी, लादुक, बुलुङ, पवटि, शैलुङ्गेस्वर, लाकुरीडाडा लगायतका गाविसमा व्यवसायीक खेति सुरु भएको छ । किसानका अलावा काँग्रेस नेता तारावहादुर कोईराला, राप्रपाका सुन्दरप्रकाश खड्का, बिजय खड्का लगायतले पनि व्यवसायीक खेति सुरु गरेका छन् ।
कस्तो भुगोलमा सम्भव छ, खेति ?
एक हजारदेखि तिन हजार मिटरको उचाई सम्ममा किविको खेती गर्न सकिने भए पनि २ हजार मिटरसम्मको उचाईलाई अत्याधिक राम्रो मानिन्छ । दोलखा सहित हिमाली र पहाडि जिल्लाको अधिकाँश भुभागमा किवि खेति गर्न सकिने छ । अन्तराष्ट्रिय स्तरमा जापान, तथा खाडी मुलुकहरु संयुक्त अरब ईमिरेट्स, बहराईन, साउदी अरेबिया लगायतका मुलुकहरुमा किविको उच्च माग छ । किविको बिरुवा प्रति बोट २ सय ५० देखि ३ सय रुपैयाँ सम्मा खरिद गर्न सकिन्छ । दोलखामा यसअघि ६ जातको किवि खेति भईरहेकोमा यो बर्षवाट गोल्डेन र मिनि जातको किविको खेति पनि सुरु भएको छ । ५० देखि ६० वर्षसम्म निरन्तर फल दिने किविको व्यवसायिक खेतीलाई विस्तार गर्न सकिए किसानहरुको आम्दानी बृद्धि भई गरिवी निवारणमा सहयोग पुग्न सक्ने छ ।
दोलखामा व्यवसायीक खेति गर्न चाहने किसानलाई जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा तथा बोच स्थित फलफूल रुट स्टक तथा बागवानि केन्द्रले सरकारी सहुलियत दर रेटमा बिरुवा दिने गरेको छ । यी दुव कार्यालयले सहुलियतमा बिरुवा दिनुको अलावा किसानहरुलाई प्राविधिक ज्ञान समेत दिँदै आएका छन् । बागवानि केन्द्रका प्राविधिक सहायक गुणराज पौडेलले किवि फलवाट जुस, जाम र गुणस्तरीय वाईन सम्म बनाउन सकिने बताए ।

 

VIEWS: 5335 पटक हेरीएको
error: Content is protected !!