दोलखामा एक दम्पत्तिद्धारा सम्बन्ध विच्छेदको ९ महिनापछि पुनः विवाह

2 months ago/Sunday, June 9th, 2019

करुणा बस्नेत ।

दोलखा, २६ जेठ ।

सुन्दा अचम्म लाग्ला जिवनमा सँगै जिउने सँगै मर्ने कसम खाएर विवाह गरेका दोलखाका एक दम्पत्तिले आफैले सम्बन्ध विच्छेद गरेर पूनः विवाह गरेका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ लामिडाँडाका २५ वर्षीय राजन कार्की र २३ वर्षीया अनिता कार्कीले पहिले सम्बन्ध विच्छेद गरेर पूनः सोहि सम्बन्धलाई निरन्तरता दिन विवाह गरेका हुन् । उनीहरुले सुरुमा दुवै जना सहमत भएर सम्बन्ध विच्छेद गरेपनि पून ९ महिना पछि अदालतमा आएर अदालति प्रक्रिया अनुसार विवाह गरेको जिल्ला अदालत दोलखाका श्रेष्तेदार सुमन प्रसाद कुशवाहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत दोलखामा सम्बन्ध बिच्छेद गरी पुन विवाह भएको यो पहिलो घटना होे ।

किन भयो सम्बन्ध बिच्छेद ?

अनिता र राजनले २०७२ साल फागुन २४ गते मागी विवाह गरेका थिए । दिन बित्दै गए, अनिता आफ्नो मागि विवाहबाट खुसी हुन सकिनन् । अन्नतः उनले बिवाह भएको तीन बर्ष पछि २०७५ साल साउन ३१ गते सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिईन् । अनिताले आफुलाई श्रीमान्ले १ वर्षदेखि केही वास्ताखोजी नगरेको, कुटपिट गर्ने गरेको भन्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिईन् ।
अनिताले निवेदन दिएलगत्तै त्यहि दिन राजनले पनि सम्बन्ध विच्छेदका लागि सहमति जनाएका थिए । अनिताले अंशमाना चामल पनि चाहिँदैन भनेर सम्बन्ध विच्छेद गर्न माग गरेपछि राजनले पनि आफुले अमानवीय व्यवहार नगरेको तैपनि श्रीमतीले चाहेमा आफु पनि तयार रहेको बताएका थिए । जसअनुसार उनीहरुको मुलुकी देवानी ऐन, अदालती बन्दोवस्ता ऐन १ सय ८२ नम्बर बमोजिम दुवै जनाको मञ्जुरीमा सम्बन्ध विच्छेद भएको थियो ।

यसरी भयो पुनर्मिलन

उनीहरु दुवै जना सम्बन्ध विच्छेदपछि छुट्टीएर अलग अलग बसेका थिए । सन्तान नभएका ती दम्पतिले ९ महिनासम्म आफ्नै ढंगले जीवन बिताए । समय बित्दै जाँदा एक अर्का बिनाको जीवन परिकल्पना गर्न नसकिने भन्दै पुन सँगै जीवन बिताउने सोच बनाए ।

सम्बन्ध बिच्छेद गरी अलग्गिएका दम्पतिले आफ्नो सम्बन्धलाई पुनः अघि बढाउने र सँगै बाँच्ने सँगै मर्ने बाचा समेत गरे । विगतका तिक्ततालाई बिर्सिएर अनिताले नाता कायम गरि पाउँ भनेर २०७६ वैशाख १६ गते अदालतमा निवेदन दिईन् । सोहीअनुसार प्रतितर्फी श्रीमान राजनले पनि सम्बन्ध कायमका लागि मञ्जुरी दिए । अनिताले मुलुकी देवानी संहिता २०७४ को दफा ८४ बमोजिम नाता कायम गरि पाउँ भनेर निवेदन दिएकी थिइन् । सोही अनुसार अदालतका न्यायधिश तेजबहादुर खड्काको एकल इजलाशले मुलुकी देवानी संहिता २०७४ को दफा १ सय ९३ (४) नम्बर बमोजिम उनीहरुको मिलापत्र गरेको श्रेष्तेदार कुशवाहले बताउनुभयो ।

२०७५ फागुन १५ गतेबाट नै घर व्यवहार गर्दै मिलेर बस्दै आएका उनीहरु अदालती प्रक्रियामा आएर भने यहि वैशाख १६ गते पूनः विवाह गरेका हुन् । पुनः दाम्पत्य जीवनमा बाँधीएका राजन र अनिताको बैवाहिक जीवन सुमधुर रहेको छ । राजन रोजगारीको शिलशिलामा राजधानीमा रहेका छन् भने अनिता आफ्नै घरगृहस्थी सम्हालेर लामिडाँडामै रहेकी छिन् ।

२६ जेठ, २०७६ । १२ः ३० बजे प्रकाशित ।

VIEWS: 20765 पटक हेरीएको
error: Content is protected !!