दोलखामा कोरोना भाईरसको जोखिमलाई लक्षित गरी २२ वटा आईसोलेसन वार्ड तयार

2 weeks ago/Friday, March 20th, 2020

दुर्गा बस्नेत/विपना थापामगर ।

दोलखा, ७ चैत्र ।

दोलखामा कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै २२ वटा आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।

सदरमुकाम चरिकोटमा रहेका तीन वटा अस्पताल, जिरीमा रहेको एउटा अस्पताल तथा साविक महिला तथा वालवालिका कार्यालयको भवन गरी पाँच स्थानमा २२ वटा आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएको हो । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित साविक महिला तथा वालवालिका कार्यालयको भवनमा ८ वटा आईसोलेसन वार्ड तयारी अवस्थामा राखिने भएको छ भने धुलिखेल सामुदायिक अस्पतालद्धारा सञ्चालित गौरीशंकर सामुदायिक अस्पतालमा ५ वटा वेड तयारी अवस्थामा राखिने भएको छ ।

यस्तै सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा ५ वटा वेड र दोलखा सामुदायिक अस्पतालमा २ वटा तथा जिरी अस्पतालमा दुई गरी जिल्लामा जम्मा २२ वटा आईसोलेसन वार्ड तयारी अवस्थामा राखिएकोे स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । आईसोलेशन वार्डमा कोरोनाको आशंका गरीएका र नमुना परिक्षणका लागि पठाइएका विरामीलाई रिर्पोट नआउन्जेलसम्म राखिने उहाँले बताउनुभयो ।

परिक्षण रिर्पोट २४ घण्टामा आउने भएकाले रिर्पोट पोजेटिभ वा नेगेटिभ जे आएपनि त्यसलगत्तै आईसेलसन वार्डबाट हटाईने गरी व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार आइसोलेसन वार्ड तयार गरीने अस्पतालका लागि अस्पताल स्वयम् र भीमेश्वर नगरपालिका तथा स्वास्थ्य कार्यालयले सहयोग गर्नेछ । भीमेश्वर नगरपालिकाले आवश्यक वेड, तन्ना, म्याट्रिसको व्यवस्था गरेको छ भने आईसोलेसन वार्ड तयार गर्ने अस्पतालले चिकित्सक आफ्नै खटाउने तथा स्वास्थ्य कार्यालयले औषधि उपकरणमा सहजिकरण गरीदिने भएकोे छ ।

जिरी अस्पताललमा पनि दुई वेडको आईसोलेसन

जिरी अस्पतालमा कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै आइसोलेसन वार्ड स्थापना गरिएको हो । आइसोलेसन वार्डमा हाल २ वटा बेड तयारी अवस्थामा रहेको र आवश्यकता आधारमा बेड थप गर्ने जिरी अस्पतालले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालीका सर्तक रहेको र सबै नगरबासीलाई सर्तह रहन आग्रह गरिएको नगरप्रमुख टंक जिरेलले जानकारी दिनुभयो । नगरपालिकाले यसअघि नै जनसेतनमुलक कार्यक्रमको आयोजना गरी कोरोना भाइरस लाग्न नदिन र कोरोनाबाट कसरी बच्ने भन्नेबारे नगरबासीहरुलाई जानकारी समेत गराइसकेको छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै अस्पतालहरुले तदारुकता देखाएपछि दोलखामा पनि आईसोलेसन वार्ड  बनाइएको हो । त्यसका लागि आवश्यक तयारी भइरहेको अस्पताल सञ्चालकहरुले बताएका छन् । जिल्लाका पाँच स्थानमा आईसोलेसन वार्ड तयार भएपनि प्रदेश सरकारले त्यसका लागि कुनै बजेटको व्यवस्था भने गरेको छैन ।

७ चैत्र, २०७६ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 10200 पटक हेरीएको
error: Content is protected !!