दोलखामा थप ६ जनामा कोरोना संक्रमण

4 days ago/Wednesday, September 16th, 2020

जिरी (दोलखा) ३१ भदौ ।

दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भिमेश्वर नगरपालिका र विगु गाउँपालिकाबाट पठाइएको १२ जनाको स्वावको नमुना परीक्षणका गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भदौ २९ गते भिमेश्वर नगरपालिकाबाट पठाइएको ८ जनाको स्वावमध्ये ३ र विगु गाउँपालिकाबाट पठाइएको ४ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।हाल फेला परेका संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भिमेश्वर नगरपालिकामा संक्रमण पुष्टि भएका ४ जनामध्ये एक जना पछिल्लो समय संक्रमण पुष्टि भएका बालबालिकाको दिदी हुन् । उनलाई आफ्नो संक्रमित भाइबहिनिको हेरचाहमा रहेका बेला कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक श्याम बहादुर खड्काले जानकारी दिनुभयो । अन्य दुई जना संक्रमित सुरक्षाकर्मी रहेको र उनीहरु दुवै होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।

विगु गाउँपालिकामा पनि आज थप ३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरुमा एक जना महिला पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएर सिंगटी बजारमा होम क्वारेन्टाइनमा बस्दै आएका बालककी आमा, भारतबाट आएर सिस्नेरी क्वारेन्टइनमा बसेका एक पुरुष र सिंगटी बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको विगु गाउँपालिकाका स्वास्थ्य संयोजक ईश्वरकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्नेरी क्वारेन्टाइनमा बसेका पुरुष र बैंकमा कार्यरत कर्मचारीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको ओइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

३१ भदौ । २०७७ । ९ः३० बजे प्रकाशित ।

VIEWS: 7030 पटक हेरीएको
error: Content is protected !!