दोलखामा दोस्रो चरणमा लक्षित गरिएका अधिकांश नागरिकले कोरोना विरुद्धको भ्याक्सिन लगाएनन्

1 week ago/Tuesday, February 23rd, 2021

दोलखा, ११ फागुन।

दोलखामा पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेकाहरुलाई लगाउन ल्याइएको कोरोना विरुद्धको भ्याक्सिन लक्ष्य भन्दा निकै कमले लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाले दोस्रो प्राथमिकतामा परेका ३ हजारभन्दा बढीलाई खोप दिने लक्ष्य राखेपनि १४ सय ७५ जनाले मात्रै खोप लगाएका हुन् । जिल्लाबाट पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका १५ सय ९८ जनाले भने कोरोना विरुद्धको खोप नै लगाएका छैनन् । दोस्रो प्राथमिकतामा परेका ९ सय ८४ पुरुष र ४ सय ९० जना महिलाले मात्रै कोभिसिल्ड खोप लगाएका छन् । सरकारको निर्देशनअनुसार दोस्रो प्राथमिकतामा परेका सबैलाई खोप लगाउन आह्वान गरिएपनि खोप स्वेच्छाले लगाउने भएकाले के कारणले सबैले खोप नलगाएको हो यसै भन्न नसकिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनुभयोे ।

लक्षीत गरिएका मानिसहरु खोप लगाउन नआएपछि दोस्रो चरणमा जिल्ला ल्याइएको १ सय ४८ भाईल खोप मौज्दात रहेको छ । बाँकी रहेको खोप आगामी फागुन २३ गतेदेखि मुलुकभरका ५५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाउने सरकारको योजनाअनुसार जिल्लामा पनि सोही उमेर समुहका नागरिकलाई लगाइने प्रमुख झाको भनाई छ । जिल्लामा पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेकामध्ये फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म १४ सय २३ जनालाई खोप दिइएको थियो भने संघीय सरकारले थप गरेको दुई दिनको अवधिमा जिल्लाका थप ५२ जनाले खोप लगाएका थिए ।

जसअनुसार चरिकोट अस्पतालबाट ७ सय ५८, जिरी अस्पतालबाट २ सय ७३ जना र सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रबाट ४ सय ४४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्लामा पहिलो चरणमा छुट भएका १ सय ८८ जना स्वास्थ्यकर्मी, ५ सय ३३ जना स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, १ सय ९६ जना निजामती कर्मचारी, १ सय ५४ जना प्रहरी, ६२ जना सशस्त्र प्रहरी, २ सय १७ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी, ९५ जना विद्युत प्राधिकरणका कर्मचारी, न्यायसेवातर्फका १८ जना कर्मचारी र १५ जना पत्रकारले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य प्रमुख झाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरण अन्तर्गत दोस्रो प्राथमिकतामा परेकाहरुलाई १ सय ५२ भाईल खोप लगाइएको छ । दोलखामा पहिलो चरणमा १५ सय भन्दा बढीले कोरोना भाईरस विरुद्धको खोप लगाएका थिए । पहिलो चरणमा पनि जिल्लामा २३ सय ८ जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाउने भनिए पनि जम्मा १५ सय ४० जनाले मात्रै खोप लगाएका थिए ।

११ फागुन, २०७७ । ३ः४० बजे प्रकाशित ।

VIEWS: 1105 पटक हेरीएको
error: Content is protected !!