दोलखामा निजी र सार्वजनीक यातायात चल्ने, बजार खुलेपनि होटेल रेष्टुरेन्ट खोल्न नपाइने

1 week ago/Thursday, September 10th, 2020

दोलखा, २५ भदौ ।

दोलखामा कोरोना भाइरसको त्रासका कारण गरिएको निषेधाज्ञालाई सहजिकरण गरि केही खुकुलो बनाइएको छ ।

पछिल्लो समय भीमेश्वर नगरपालिकामा फेला परेका संक्रमितको सम्पर्कमा पुगेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि यसअघि गरिएको पुर्ण निषेधाज्ञालाई हटाई केही खुकुलो बनाइएको हो । जिल्ला संकन व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ । दोलखामा सहसचिव रमेश शिवाकोटी नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आएकै भोलिपल्ट यस्तो निर्णय भएको हो ।

यो निर्णयअनुसार खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न गराउन निषेध गरिएको छ । मठ मन्दिर, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेका गतिविधि सञ्चालन गर्न पाइने छैन भने बढी भिडभाड हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाईएको छ । चाडपर्व लगायतका धार्मिक सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघटहरु गर्न पाइने छैन । साथै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस र खेलकुद सञ्चालन गर्न निषेध गरिएको छ । उद्योग, व्यापार व्यवसाय, निर्माण कार्य लगायतका कार्र्यका लागि स्वास्थ्य सुरक्षा मापदण्ड विपरित श्रमिक र कामदारको ओसार पसार गर्न पनि नपाइने भएको छ ।

यस्तै जिल्ला भित्र सार्वजनिक यातायातमा सिट क्षमताको आधा यात्रु राखी सवारी साधान भने सञ्चालन गर्न सकिनेछ । जिल्ला भित्रका पसलहरु बेलुका ६ बजेसम्म खोल्न पाईनेछ भने होटल रेष्टुरेन्टहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी टेकअवे र होम डेलिभरी सेवा मात्र दिन पाईनेछ । त्यसका लागि पनि बेलुका ७ बजेसम्मको मात्रै समय तोकिएको छ । सडक पेटि पसल र हाट बजार विहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ भने जिल्ला भित्रका सरकारी गैरसरकारी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सेवा दिन भनिएको छ ।

VIEWS: 2805 पटक हेरीएको
error: Content is protected !!