दोलखामा प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक सोलिङ, नाला सफाईदेखि इन्सिनेटर निर्माणसम्म

3 months ago/Monday, July 8th, 2019

बिपना थापामगर ।

दोलखा, २३ असार ।

बेरोजगारलाई रोजगारी दिने उद्धेश्यले सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम दोलखामा प्रभावकारी बन्न सकेको छैन ।

सरकारले बेरोजगारलाई रोजगारी दिने उद्धेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेपनि प्रभावकारी बन्न नसकेको हो । सरकारले बेराजगार नागरिकलाई रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर उकास्ने उद्धेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपनि बजेटको सहि ठाउँमा उपयोग नहुँदा यसको प्रभावकारीता सन्तोषजनक नभएको हो । कार्यक्रमका लागि विनियोजन भएको बजेट जिल्लाका अधिकांश स्थानिय तहले नाला सफा गर्ने, विद्यालय कम्पाउण्डमा तारबार लगाउने, झार उखेल्ने, सडक मर्मत गर्ने लगायतका काममा खर्च गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सामुदायिक स्तरका स–साना टुक्रे र खुद्रे काममा उपयोग गरिँदैछ । जिल्लाका केही स्थानीय तहले नमूना कामको सुरुवात गरे पनि अधिकांश स्थानीय तहले सो बजेट दिगोरुपमा देखिने काम भन्दा पनि पैसा सक्नकै लागि मात्र फितलो ढंगले काम गरिरहेका छन् ।

भीमेस्वरमा नाला सफाई देखि सिँडी निर्माण हुँदै

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत जिल्लाको भीमेश्वर नगरपालिकामा यही असार ११ गतेबाट सवै वडामा काम सुरु भएको छ । नगरपालिकाको ९ वटै वडामा सिंचाइ निर्माण गर्ने, बिद्यालयको कम्पाउण्डमा तारबार लगाउने, खानेपानीको मुहान मर्मत सुधार गर्ने, सडकको नाला निर्माण गर्ने, गोरेटो बाटो बनाउने, सिडी निर्माण लगायतका काम भईरहेका छन् । भीमेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २७ लाख बजेट पाएको थियो । जिरी नगरपालिकाको पनि सबै वडामा रोजगार कार्यक्रम सुरु भइसकेको जिरी नगरपालिकाकी रोजगार संयोजक सुजना उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २५ लाख बजेट पाएको जिरी नगरपालिकामा पानीको मुहानहरु मर्मतसम्भार गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, सडक निर्माण गर्ने लगायतका कामहरु भइरहेको छ ।

शैलुङमा सडक सोलिङ, गौरीशँकरमा इन्सिनेटर निर्माण

उता शैलुङ गाउँपालिकामा ८ वटै वडामा सडक स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका रोजगार संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो । शैलुङ गाउँपालिकाले सो कार्यक्रम सञ्चालनका लागि २९ लाख बजेट पाएको छ । गाउँपालिकाले ८ वटै वडामा बराबरी रकम बाँडेर सडक स्तरउन्नतिको काम गरिरहेको छ । शैलुङ गाउँपालिकाले वडा तहका प्रमुख सडकहरुमा सोलिङको काम गरिरहेको हो । गौरींशकर गाउँपालिकाको भने १ वटा वडामा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ टासिनाममा च्छोरोल्पा हिमताल पदमार्गमा भएका फोहोरलाई स्वच्छ र सफा राखी विभिन्न स्थानमा इन्सिनेटर निर्माण गरी फोहोर व्यवस्थापन गर्ने काम सुरु भएको गौरीशंकर गाउँपालिकाका रोजगार संयोजक प्रभाव जोशीले जानकारी दिनुभयो ।

बैतेस्वरमा नाला निर्माण, कालिन्चोकमा चिया रोपन

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २९ लाख बजेट पाएको बैतेस्वर गाउँपालिकाले गाउँपालिका भित्रका बेरोजगारलाई गाउँपालिकाका सबै वडामा सडकको नाला निर्माण गर्ने काम दिएको छ । गाउँपालिकाले ९ वटा वडाका २ सय ६० जना बेरोजगारलाई रोजगारी दिएको बैतेस्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचर्यले जानकारी दिनुभयो । गाउँपालिकाले सो कार्यक्रमका लागि पाएको बजेट प्रत्येक वडामा ३ लाखका दरले वितरण गरेको उहाँले जानकारी दिनुभयो । जिल्लाको कालिञ्चोक गाउँपालिकामा पनि यही असार १७ गतेबाट सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा चिया खेतीका लागि चियाको बिरुवा रोप्ने र अन्य वडामा नाला निर्माण गर्ने, सडक मर्मत गर्ने, सार्वजनिक क्षेत्रमा गोरेटो बाटो निर्माण गर्ने लगायतका काम सुरु भएको कालिञ्चोक गाउँपालिकाका रोजगार संयोजक पर्वतराज घिमिरेले जानकारी दिनुभयो । कालिञ्चोक गाउँपालिकाले सो कार्यक्रमका लागि ३१ लाख बजेट पाएको छ ।

मेलुङ र बिगुमा शुरु हुन बाँकी

यस्तै तामाकोशी गाउँपालिकामा पनि रोजगार कार्यक्रम सुरु भइसकेको छ । गाउँपालिकाका सबै वडामा निर्मित सडकहरुका नाला काट्ने, सोलिङ गर्ने, गोरेटो बाटो बनाउने लगायतका काम सुरु भएका छन् । तामाकोशी गाउँपालिकाले सो कार्यक्रमका लागि २९ लाख बजेट पाएको छ । जिल्लाका ९ स्थानिय तहमध्ये २ वटा स्थानीय तहमा भने अझै सो कार्यक्रम सुरु हुन सकेको छैन । दोलखाको मेलुङ र बिगु गाउँपालिकामा अझै रोजगार कार्यक्रम सुरु हुन नसकेको हो । मेलुङ गाउँपालिकाले भने आगामी आर्थिक वर्ष २०७६÷७७ मा मात्रै गाउँपालिका भित्रका बेरोजगारलाई रोजगारी दिने भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यविधि र निर्देशिका नैं खुत्रुके

कार्यबिधिमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहका सडकहरुको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, बिद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि र निर्देशिकामा दिर्घकालिन रोजगारीका अवसर सिर्जना गर्ने खालका कार्यक्रम सँचालनका सन्दर्भमा स्पस्ट उल्लेख नगरेका कारण पनि स्थानीय सरकारहरुले सामान्य योजनामा बजेट खर्च गरिरहेका छन् । कतिपय स्थानीय तहमा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उक्ति जस्तैगरी कार्यक्रमको खर्च भईरहेको छ । कृषि, पशुपालन, उत्पादन लगायतका क्षेत्रमा दिर्घकालिन योजना बनाएर बजेट खर्च गर्न सके स्वरोजगारको अवस्था सिर्जना गर्न सकिने बेरोजगार युवाहरुको सुझाव छ ।

चालु बर्ष रोजगार कार्यक्रम अन्तर्गत स्थानीय सरकारलाई प्राप्त बजेट मध्य असारमा हल्काफुल्का तरिकाले खर्च गरिदा प्रधानमन्त्री रोजगार कार्यक्रम पनि ‘असारे विकास’ जस्तै देखिएको कतिपयको टिप्पणी छ । यद्धपि, स्थानीय सरकारले भने आफूहरुले सरकारले कार्यबिधिमा भने अनुरुप नै काम गरिरहेको र सो कार्यक्रम आफ्नो नगर वा गाउँमा प्रभावकारी बनेको प्रतिक्रिया दिएका छन् ।

शैलुङ गाउँपालिकामा सडक सोलिङ हुँदै

कालिन्चोक गाउँपालिकामा जनप्रतिनिधि आफैं फिल्डमा

२३ असार २०७६ । ५ः१० बजे प्रकाशित

VIEWS: 3375 पटक हेरीएको
error: Content is protected !!