दोलखामा फिल्म सिटीः प्रधानमन्त्री सुरुदेखि अनुदार, जिल्लाकै मन्त्री हुँदापनि पाएन प्राथमिकता

3 months ago/Friday, June 4th, 2021

सिर्जना थापा (खड्का) ।

दोलखा, २१ जेठ ।

दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्राष्ट्रियस्तरको फिल्म सिटीलाई संघीय सरकारले प्राथमिकतावाट हटाएको छ ।

संघीय सरकारले हालै सार्वजनिक गरेको बजेटमा नसमेटिएपछि दोलखामा निर्माण हुने भनिएको फिल्म सिटी अन्तराष्ट्रिय स्तरको नबन्ने करिव निश्चित भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ र दोलखाको भीमेश्वर नगरपालिका ९ को बीचमा निर्माण भइरहेको फिल्मसिटी संघीय सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटमा गुमनाम भएको हो । सरकारले दोलखामा अन्तराष्ट्रियस्तरको फिल्म सिटी बनाउने भनि करिब एक ९ बर्ष अघि घोषणा गरेर सुरुवात गरेपनि जिल्लाकै बिभागीय मन्त्री हुँदा पनि प्राथमिकतामा नपरेको हो । संघीय सरकारले अन्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माणलाई प्राथमिकता दिनुको सट्टा सवै प्रदेशमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने भनी बजेटमै उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीको यस्तो थियो अभिव्यक्ति

यसअघि नेपाल सरकारले २०६९ सालमा फिल्मसिटी बनाउने निर्णय गरेपछि दोलखाको लाकुरीडाँडामा नेपालकै पहिलो सुविधा सम्पन्न फिल्म सिटि निर्माणको काम सुरु भएको थियो । डाङडुंगेडाँडामा निर्माण हुन लागेको फिल्म सिटीको २०७१ साउन ९ गते तत्कालीन सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शिलान्यास गर्नुभएको थियो । तर, सरकारमा दोलखा जिल्लाकै मन्त्री पार्वत गुरुङ विभागीय मन्त्री हुँदा पनि बजेटमा फिल्म सिटीलाई नसमेटिएको हो । ओली नेतृत्वको सरकार दोलखामा फिल्म सिटी निर्माणको विषयमा सुरुदेखि नैं अनुदार देखिएको थियो ।

यसअघि तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपि शर्मा ओलीले ‘डाङ्डुङेमा एक घण्टा पनि घाम नलाग्ने र हिरोलाई रिस उठेको बेला हाम फाल्ने पोखरी समेत नभएको भन्दै’ फिल्म सिटी निर्माणका लागि उपर्युक्त नहुने अभिव्यक्ति दिएका थिए । ओलीले दिएकै अभिव्यक्तिका कारण तत्कालिन पर्यटन मन्त्री एमाले दोलखाका नेता आनन्दप्रसाद पोखरेल गृह जिल्ला दोलखा आउँदा नेबिसँघले कालो झण्डा सहित बिरोध प्रदर्शन गरेको थियो । ओली प्रधानमन्त्री हुँदा दोलखाका एमाले नेता आनन्द प्रसाद पोखरेल पर्यटन मन्त्री थिए ।

सवै प्रदेशमा छायाङ्कन स्थल, बनेपामा आधुनिक स्टुडियो

दोलखामा फिल्म सिटी निर्माणका लागि पछिल्ला बर्षहरुमा बजेटमा समावेश गर्ने गरिए पनि यसपटक भने गायब भएको छ । यसको सट्टा सबै प्रदेशमा फिल्म छायांकनस्थल बनाउन सम्भाव्यता अध्यययन गरी निर्माण प्रारम्भ गर्ने, गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण सुरु गर्र्ने र काभ्रेपलाञ्चोकको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गर्ने विषय बजेटमा किटान गरेर समेटिएको छ । यसले पनि दोलखामा फिल्म सिटी नबन्ने निश्चित भएको हो । बनेपछि सामान्य चलचित्र छायाङ्कन स्थलकोरुपमा मात्रै बन्ने छ ।

मदनदासलाई मरेको छैन आश

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दहालले बजेट भाषणमा दोलखामा फिल्म सिटी बनाउने कुरा समाबेश गर्न भुले पनि यसको काम निरन्तर भैरहेको बताउनुभयो । यो ठुलो प्रोजेक्ट भएकाले त्यसमा सबै पक्षले लगानी गर्ने कानुन पास गरेको भन्दै अध्यक्ष दहालले राज्यको लगानी भैसकेकाले सरकारले त्यसै नछोड्ने धारणा राख्नुभयो । फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारी फिल्म सिटी कुरामै सिमित हुन नुहने धारणा राख्नुहुन्छ । फिल्म सिटि निर्माण व्यवस्थापन समितिका संयोजक एबम् बरिष्ठ कलाकार मदनदास श्रेष्ठ सरकारले फिल्म सिटी निर्माण कार्यलाई प्राथमिकतामा नराख्नु दुखद भएपनि दोलखामा अन्तराष्ट्रिय स्तरको फिल्म सिटी निर्माणको सम्भावना अझै जीवित रहेको बताउनुहुन्छ । उहाँले सरकारमा दोलखाकै मन्त्री हुँदा फिल्म सिटी निर्माणको विषयमा केही गर्ने सोच राखिए पनि त्यो पुरा हुन नसकेको बताउनुभयो । बजेटमा फिल्म सिटी निर्माण प्राथमिकतामा नपरे पनि निजी स्रोत साधनको विकल्पका खोजिहरु पनि भैरहेको संयोजक श्रेष्ठको भनाई छ ।

बागमती प्रदेशको बजेट खर्च गर्नै मुश्किल

यसअघि अमेरिकन दातृ निकाय, स्वर्गिय सांसद पशुपति चौलागाई र चलचित्र विकास बोर्डका अध्यक्षबीचको छलफलमा दातृ निकायले फिल्म सिटि निर्माणका लागि चासो देखाएको थियो । तर, दातृ निकायले चासो दिँदा सरकारको पनि समर्थन हुनुपर्ने भएपनि त्यसो नहुँदा सो समयमा पनि फिल्म सिटि निर्माण कार्य अघि बढ्न सकेको थिएन । अहिले भारतीय दातृ निकायले फिल्म सिटी निर्माणमा चासो देखाएकाले छलफलको प्रक्रियामा रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बागमती प्रदेश सरकारले फिल्म सिटी निर्माणका लागि चालु आर्थिक बर्ष ३ करोड ५० लाख बजेट बिनियोजन गरेको थियो भने अघिल्लो आर्थिक बर्ष ५० लाख बजेट छुट्याएको थियो । तर अघिल्लो बर्षको ५० लाख बजेट खर्च गर्ने बातावरण नभएर फ्रिज गएको र चालु बर्षको बजेट पनि खर्च हुन नसकेको संयोजक श्रेष्ठको भनाई छ । उहाँले प्रदेश सरकारले बजेट बिनियोजन गरेपनि खर्चको स्पस्ट अख्तियारी नभएका कारण चालु बर्षको रकम पनि खर्च हुन नसकेको बताउनुभयो । फिल्म सिटीका लागि बागमती प्रदेश सरकारले बिनियोजन गर्ने बजेट ‘प्रदेशको पैसा देखाउने ऐना’ जस्तो मात्रै भएको बरिष्ठ कलाकार श्रेष्ठको टिप्पणी छ ।

पूर्वाधार विकासमा २२ करोड खर्च

तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा फिल्म सिटीकालागि २ करोड बजेट विनियोजन गरिएको थियो । सो रकम सुरुवातमै फिल्म सिटीको सम्भाव्यता अध्ययन र ईआईएका लागि खर्च भएको थियो । सडक निर्माणका लागि सडक बिभागबाट करिब १२ करोड रकम प्राप्त भएको थियो । संघीय सरकारले फिल्म सिटी निर्माण प्रक्रिया अघि बढाउन भन्दै आर्थिक बर्ष २०७०/७१ मा १ करोड विनियोनज गरेको थियो । सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण भइरहेको फिल्म सिटीको भौतिक पुर्वाधार निर्माणमा ३० प्रतिशत काम सम्पन्न भएको छ भने हालसम्म २२ करोड रकम खर्च भैसकेको छ । फिल्म सिटि निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न र सडक लगाएतका भौतिक संरचना निर्माणका लागि सो रकम खर्च गरिएको हो ।

भौतिक पुर्वाधारतर्फ हाल फिल्मसिटी जाने सडकमा कालोपत्रेको काम भैरहेको छ । फिल्म सिटी क्षेत्रमा विद्युतको पोल गाड्ने काम सम्पन्न भएकोे छ भने खानेपानीको व्यवस्था गरिएको छ ।

आवरण तस्वीरः तत्कालिन सूचना, सञ्चार तथा प्रविधि मन्त्री मोहन बस्नेत दोलखामा बन्ने अन्तराष्ट्रिय फिल्म सिटीको शिलान्यास गर्दै (फायल तस्वीर) ।

२१ जेठ २०७६ । ९ः०० बजे प्रकाशित

VIEWS: 3040 पटक हेरीएको
error: Content is protected !!