दोलखामा सरकारी निर्देशनको अवज्ञा गर्ने दुई जना एक घण्टा नियन्त्रणमा, ३० सवारीका साधन कारवाहीमा

1 week ago/Tuesday, March 24th, 2020

ईदोलखा सँवाददाता ।
दोलखा, ११ चैत्र ।

कोरोना बिरुद्ध सरकारले गरेको ‘लक डाउन’ को अटेर गर्दै दोलखामा सँचालन भएका ३० भन्दा सवारीका साधन र दुई जना व्यक्तिलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सदरमुकाम चरिकोट लगायतका बजार र दोलखा प्रवेश गर्ने मुख्य नाकाहरु किर्नेटार र खरिढुँगामा सरकारी निर्देशन अवज्ञा गर्दै सँचालन भएका १५ वटा मोटरसाईकल र १५ वटा सवारीका साधनलाई नियन्त्रणमा लिएको दोलखा प्रहरीले जनाएको छ । लक डाउनका बेला अत्यावस्यक काम बाहेक हिडडुल गर्न नपाउने र सवारीका साधन समेत सँचालन गर्न नपाउने सरकारी निर्देशनलाई अवज्ञा गर्नेहरु उपर कारवाही गरिएको दोलखाका प्रहरी प्रहरी प्रमुख डिएसपी रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका सवारीका साधनहरुलाई ‘जुन ठाउँमा नियन्त्रणमा लिईएको हो सोही ठाउँमा’ राखिएको छ । त्यस्ता सवारीका साधनहरुलाई सचेत गराएर छाडिने दोलखा प्रहरीले जनाएको छ । यस्तै, दोलखा प्रहरीले सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै एक जना चालक र एक जना पैदल यात्रीलाई करिव एक घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका दुवै व्यक्तिलाई एक घण्टासम्म कोरोना भाईरसको सँक्रमण हुन नदिन अपनाउनु पर्ने सचेतनाका बारेमा जानकारी गराएर छाडिएको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

११ चैत, २०७६ । ४ः २५ बजे प्रकाशित ।

VIEWS: 5690 पटक हेरीएको
error: Content is protected !!