दोलखामा सर्वाधिक राशीको राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

6 months ago/Saturday, November 17th, 2018

दोलखा, १ मंसिर ।

दोलखामा आजदेखि सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन मन्तव्य व्यक्त गर्दै उहाँले खेल मार्फत राष्ट्रले आफ्नो पहिचान बनाउनुका साथै राष्ट्रिय एकता सदृढ गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले यो प्रतियोगिताले दोलखाको फुटबलका साथै राष्ट्रिय खेल क्षेत्रमै महत्वपुर्ण योगदान गर्ने भन्दै दोलखा जिल्लाको खेल क्षेत्रमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सांसद पार्वत गुरुङले खेल क्षेत्रबाट पनि समृद्ध दोलखा निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटवल सँघको सह–आयोजनामा दोलखामा आजदेखि प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको हो । आयोजक संस्थाका कार्यक्रम संयोजक मिनकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटनमा नेकपाका नेताहरु मुक्ति प्रधान, आनन्द पोखरेल, गंगा कार्की , देवी खड्का तथा प्रदेशसभा सांसदहरु पशुपति चौँलागाई, विशाल खड्का, आङदेण्डी शेर्पा, अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरि शेर्पा, विभिन्न राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी सँघ संस्थाका प्रमुख एवम प्रतिनिधि लगाएतको सहभागिता थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा स्वर्गिय प्रकाश दाहालको स्मृतिमा उनको वार्षिक पुण्य तिथीकै अवसर पारेर दोलखामा पहिलो पटक सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरिएको हो । आफ्नै छोराको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता उद्धघाटनका क्रमम अध्यक्ष प्रचण्ड केही भावुक बन्नुभएको थियो । नेकपाका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको २०७४ साल मँसिर ३ गते ३६ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।
प्रतियोगिताको उद्धघाटनका लागि दोलखा आउनुभएका नेकपाका अध्यक्ष प्रचण्डलाई चरिकोटमा पञ्चेबाजा सहित स्वागत गरिएको थियो । भव्य रुपमा सुरु भएको प्रतियोगिता अघि टुँडिखेल मैदानमा त्रिपुरा स्काउट र कालिञ्चोक माध्यमिक विद्यालयका राष्ट्रिय सेवा दलले मार्चपास गरेका थिए । प्रतियोगिताका लागि टुँडिखेललाई तारबार सहित सिंगारिएको थियो ।

दोलखाको विजयी सुरुवात

दोलखामा आजदेखि सुरु भएको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटबल प्रतियोगितामा दोलखा जिल्ला फुटबल सँघले विजयी सुरुवात गरेको छ । आज भएको प्रतियोगिताको उद्धघाटन खेलमा द ओसन क्लव गोरखालाई पराजित गर्दै दोलखाले विजयी सुरुवात गरेको हो । जितसँगै दोलखा प्रतियोगिताको क्वाटर फाईनल चरणमा प्रवेश गरेको छ । देशभरका उत्कृष्ट १२ वटा टिम सहभागि प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०÷३० हजार नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्ट्राइकर, हाई स्कोरर, म्यान अफ दि टुर्नामेन्टलाई नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

१ मंसिर, २०७५ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 4015 पटक हेरीएको
error: Content is protected !!