दोलखामा स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर समेत प्रभावित

1 month ago/Thursday, January 16th, 2020

करुणा बस्नेत ।

दोलखा, २ माघ ।

दोलखाको दुई स्थानीय तहमा दरबन्दी अनुसारको स्वास्थ्य कर्मचारी नहुँदा बर्थिङ सेन्टर समेत प्रभावित भएको छ ।

जिल्लाको शैलुङ र कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसारका स्वास्थ्य कर्मचारी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको हो । शैलुङ गाउँपालिकास्थित मागापौवा स्वास्थ्य चौँकी र काटाकुटी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा आवश्यक स्वास्थ्य कर्मचारी नहँुदा केही समयदेखि स्वास्थ्य सेवा ठप्प भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो । ती स्थानमा रहेको बर्थिङ सेन्टर बन्द भएपछि स्थानीय वासिन्दाहरुलाई बर्थिङ सेवा लिन समस्या हुँदै आएको छ ।

काटाकुटी, मागापौवाका स्थानीय बर्थिङ सेन्टर बन्द भएपछि आधारभुत स्वास्थ्य सेवा केन्द्र देउरालीमा पुग्नुपर्ने अवस्था रहेको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो । शैलुङ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा ३८ जनाको दरबन्दी रहेकोमा ५ जना हेल्थ असिस्टेन्ट, ४/४ जना अहेव र अनमिको गरी १३ जना स्वास्थ्यकर्मीको पद रिक्त रहेको छ । ती पदहरुमा कर्मचारी नभएपछि बर्थिङ सेन्टर नै बन्द गर्नुपरेको हो । यद्धपि गाउँपालिकाले भने दुई स्थानमा बन्द भएका बर्थिङ सेन्टरहरु पुनः आगामी १० गतेबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जनाएको छ । रिक्त रहेको पदपुर्तिको लागि गाउँपालिकाले १९ जना कर्मचारी माग गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसारका स्वास्थ्य कर्मचारी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएका छन् । शैलुङ गाउँपालिकामा १३ जना स्वास्थ्यकर्मीको पद रिक्त रहेको छ भने कालिञ्चोक गाउँपालिकामा २३ जना स्वास्थ्यकर्मीको पद रिक्त रहेको छ ।

कालिञ्चोक गाउँपालिकामा पनि दरबन्दी अनुसारका कर्मचारी पुर्ति हुन नसक्दा बर्थिङ सेवा प्रभावित भइरहेको छ । गाउँपालिकाको ६ वटा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र सिंगटीसहित ६ स्थानमा बर्थिङ सेन्टर भएपनि कालिञ्चोकमा २ जना, बाबरे ३ जना मात्रै कर्मचारी हुँदा बर्थिङ सेवा प्रवाहमा समस्या हुने गरेको स्वास्थ्य संयोजक सुशिल श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरका लागि करारमा कर्मचारी राखेर सेवा दिइरहेपनि आवश्यक अनुसारको स्वास्थ्य कर्मी नहुँदा सेवा दिन कठिनाइ भएको उहाँले बताउनुभयो । संयोजक श्रेष्ठका अनुसार गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा करिब ६० जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेकोमा २३ जनाको पद रिक्त रहेको गाउँपालिकाले जनाएको छ ।

२ माघ, २०७६ । ९ः३० बजे प्रकाशित ।

VIEWS: 2290 पटक हेरीएको
error: Content is protected !!