दोलखामा ३१ हजार भन्दा बढी युवाहरु बेरोजगार

1 week ago/Friday, June 7th, 2019

करुणा बस्नेत ।

दोलखा, २४ जेठ ।

दोलखामा ३१ हजार भन्दा बढी व्यक्तिहरु बेरोजगार रहेको देखिएको छ ।

जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन माग भएकोमा ३१ हजार ९० जना बेरोजगारले आवेदन दिएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लामा सबैभन्दा बढी कालिञ्चोक र सबैभन्दा कम शैलुङ गाउँपालिकाबाट आवेदन परेको छ । कालिञ्चोक गाउँपालिकाबाट ५ हजार ९ सय ८५ जनाले रोजगारीका लागि आवेदन दिएको गाउँपालिकाका रोजगार संयोजक पर्वतराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ६ बाट सबैभन्दा बढी १ हजार २ सय जनाको आवेदन परेको छ भने वडा नम्बर ९ मा सबैभन्दा कम अर्थात् १ सय ८५ जनाले आवेदन दिएका छन् ।

शैलुङमा सबैभन्दा कम आवेदन

यस्तै शैलुङ गाउँपालिकाका रोजगार संयोजक दिपक न्यौपानेका अनुसार अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा शैलुङमा सबैभन्दा कम १ हजार ४ सय ४६ जनाले आवेदन दिएका छन् । जसअनुसार गाउँपालिकाको वडा नम्बर ८ भैसेबाट सबैभन्दा बढी ४ सय ४२ जना र सबैभन्दा कम वडा नम्बर १ दुधपोखरीबाट ९ जनाले आवेदन दिएका छन् । भीमेश्वर नगरपालिकामा ४ हजार ६ सय २३ जनाले आवेदन दिएकोमा वडा नम्बर ९ बाट सबैभन्दा बढी १ हजार ९४ जना र सबैभन्दा कम ३ नम्बर वडाबाट १ सय ९७ जनाको आवेदन परेको नगरपालिकाका रोजगार संयोजक धिराज श्रेष्ठले जानकारी दिनुभयो ।

कुन स्थानीय तहमा कति बेरोजगार ?

यता तामाकोशी गाउँपालिकामा ४ हजार ४ सय २२ जनाले आवेदन दिएका छन् । तामाकोशीमा वडा नम्बर तीन जफेबाट सबैभन्दा बढी ८ सय १५ जना र कम वडा नम्बर ७ हावाबाट २ सय ५५ जनाले आवेदन दिएको गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत पवन राज फुयाँलले जानकारी दिनुभयो । वैत्यश्वर गाउँपालिकामा जम्मा ४ हजार १ सय २७ जना बरोजगार देखिएका छन् । बैतेश्वरको वडा नम्बर ८ मा सबैभन्दा बढी ७ सय ४८ र कम वडा नम्बर १ मा २ सय ८१ जना व्यक्ति बेरोजगार देखिएको रोजगार संयोजक प्रेम प्रसाद भट्राईले बताउनुभयो । यस्तै गौरीशंकर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ हजार ८ सय ९९ जनाको आवेदन परेको छ । गौरीशंकरको वडा नम्बर ५ सुरीबाट सबैभन्दा बढी १ हजार २ सय २८ र सबैभन्दा कम वडा नम्बर ९ गौरीशंकरबाट ६० जनाको आवेदन परेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यसैगरी विगु गाउँपालिकाका सूचना प्रविधि अधिकृत भिमकुमार थामीका अनुसार विगुमा २ हजार ७ सय ८३ जनाले आवेदन दिएका छन् । सो गाउँपालिकामा सबैभन्दा बढी वडा नम्बर ८ मा ४ सय ९८ र कम वडा १ मा १ सय ४१ जना बरोजगारी रहेको पाइएको छ । मेलुङ गाउँपालिकामा १ हजार ९ सय ३९ जनाले आवेदन दिएकोमा वडा नम्बर २ घ्याङसुकाठोकरबाट सबैभन्दा बढी ४ सय ४७ जनाको आवेदन परेको रोजगार संयोजक प्रमिला पाठकले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कम वडा नम्बर ६ मानेडाँडाबाट ५५ जनाले आवेदन दिएका छन् । यता जिरी नगरपालिकाका रोजगार संयोजक सुजना उप्रेतिका अनुसार जिरीमा १ हजार ८ सय ६६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । जिरीको वडा नम्बर ७ बाट सबैभन्दा बढी ३ सय ८७ जना र वडा नम्बर ५ बाट सबैभन्दा कम ७० जनाको आवेदन परेको संयोजक उप्रेतिले जानकारी दिनुभयो ।

रोजगार संयोजक नआई सकियो आवेदन संकलनको काम

जिल्लाको तामाकोशी र विगु गाउँपालिकामा भने रोजगार संयोजक नै नआई आवेदन संकलनको काम सकिएको छ । रोजगार संयोजक नआएपछि तामाकोशी र विगु गाउँपालिकामा सूचना तथा संचार प्रविधि अधिकृत पवनराज फुयाँल र भिमकुमार थामीले आवेदन संकलनको जिम्मेवारी सम्हालेका थिए । देशभर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चैत्र महिनाभर आवेदन संकलन गर्ने भनिएपनि पुनः दोस्रो पटक म्याद थप गरी बैशाख मसान्तसम्म आवेदन संकलनको काम भएको थियो ।

२४ बैशाख, २०७६ । २ः ०० बजे प्रकाशित ।

VIEWS: 3945 पटक हेरीएको
error: Content is protected !!