दोलखालाई ‘लक डाउन’ गरी आवस्यक परे ‘कर्फ्यु’ लगाउन नागरिक समाजको आग्रह

2 weeks ago/Monday, March 23rd, 2020

ईदोलखा संवाददाता ।

दोलखा, १० चैत्र ।

मुलुकमा कोरोना सँक्रमित फेला परिसकेको अवस्थामा दोलखामा जिल्ला बाहिर र छिमेकी मुलुकवाट समेत सवारीका साधन र यात्रु भित्रिएको भन्दै नागरिक समाजका प्रतिनिधिले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको टोलीले आज दिउँसो प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा र सुरक्षा अधिकारीहरुलाई भेटेर कोराना सँक्रमण हुन नदिनका लागि सरकारी निर्देशनलाई कडाईका साथ पालना गराउन र जिल्ला वाहिरवाट आउनेहरुको स्वास्थ्य जाँच गराएर मात्रै जिल्ला प्रवेश गर्न दिन आग्रह गरेका हुन् । नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला भित्रिने नाकामा कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन र सो क्रममा शंकास्पद व्यक्ति फेला परे क्वारेन्टाईन वा आईसोलेसनमा बस्ने व्यवस्था मिलाउन भनेका छन् ।

जिल्लामा हाल तयार पारिएका भनिएका आईसोलेसन वार्डहरु नाम मात्रैका भएको र आवस्यक पूर्वाधार समेत नभएको उनीहरुको भनाई छ । सदरमुकाम चरिकोटमा भिडभाड बढेको, भीमेस्वर र कालिन्चोक मन्दिर लगायतको पूजा व्यवस्थापनमा सर्तकता हुन नसकेको लगायतका बिषयहरुलाई नागरिक समाजका प्रतिनिधिले गम्भिररुपमा उठाएका छन् । नागरिक अगुवा र सञ्चारकर्मीहरुले आवस्यक परे जिल्लामा निषेधाज्ञा (कर्फ्यु) जारी गरेर भएपनि सर्तकता अपाउनु पर्ने सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रेवतिरमण पोखरेल र शसस्त्र प्रहरी बल १८ नम्बर गुल्मका गुल्मपति डिएसपी मोहनवहादुर क्षेत्री समेतको उपस्थितीमा भएको छलफलमा सुरक्षा निकायले समेत उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिईएको छ ।

नागरिक समाज दोलखाका सँयोजक चिरञ्जीवी मास्के, जनहित नागरिक समाजका अध्यक्ष लक्ष्मण खड्का, नेपाल नागरिक समाजका अध्यक्ष दिपसँकर चौंलागाई, नेपाल पत्रकार महासँघ दोलखाका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर, नागरिक अभियान्ता रमेश खतिवडा लगायतका अभियान्ता तथा दोलखाका सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमै पुगेर यस्तो ध्यानाकर्षण गराएका हुन् ।

१० चैत्र, २०७६ । ३ः३० बजे प्रकाशित ।

VIEWS: 9300 पटक हेरीएको
error: Content is protected !!