दोलखा एमालेः गुटवन्दी हावी, गुमाउँदै अवसर

1 year ago/Tuesday, April 3rd, 2018

नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले दोलखालाई झापा पछिको दोश्रो ‘लालकिल्ला’ भन्ने गरेका छन् । एमालेको आन्तरिक पार्टी सँगठन, जवसहरुको अवस्था र निर्वाचनको नतिजा समेतलाई हेर्दा दोलखा निश्चय पनि एमालेको पकड र प्रभाव भएको जिल्ला हो । प्रजातन्त्र पुर्नबहाली पछिका निर्वाचनलाई हेर्दा दोलखा एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा एक सिट र २०६४ मा दुवै सिट गुमाएको बाहेक बाँकी सवै सँसदीय निर्वाचनमा एमालेले जित हात पारेको छ ।

साँढे दुई दशकको सँसदीय यात्रा

२०४८ सालमा ईन्द्रवहादुर खड्का र जितविर लामाले सँसदीय निर्वाचनमा बिजयी भएपछिको दोलखा एमालेको सँसदीय राजनीतिक यात्रा पछिल्लो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म आईपुग्दा निरन्तर आफ्नो पकडमा छ । २०५१ र २०६४ मा पराजित भएका नेता आनन्दप्रसाद पोखरेल २०५६ मा साँसदमा निर्वाचित हुँदै २०७० मा भएको सँबिद्यान सभाको दोश्रो निर्वाचनमा पनि निर्वाचित भएर पर्यटन मन्त्री सम्म बन्न सफल भए । २०५६ सालमा साँसद निर्वाचित एमाले नेता पशुपति चौंलागाई २०६४ सालमा पराजय व्यहोर्दै २०७० मा समानुपातिक कोटामा र २०७४ को प्रदेशसभा निर्वाचनमा ३ नम्बर प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।

जिल्लावाट एमालेको सवैभन्दा माथिल्लो तह पोलिट्व्यूरो सदस्य सम्म बनिसकेका नेता चौंलागाईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दावी गरेपनि टिकट पाएनन् र प्रदेशसभामा थन्किनु प¥यो । प्रदेशको मुख्यमन्त्रीमा ईच्छा जाहेर गरे पनि उनले त्यो पनि पाएनन् र एमालेको राजनीतिमा निकै लामो यात्रा गरिसकेका चौंलागाई लाभको पदमा पुग्नै सकेनन् ।

जिल्लावाट एमालेको सवैभन्दा माथिल्लो तह पोलिट्व्यूरो सदस्य सम्म बनिसकेका नेता चौंलागाईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दावी गरेपनि टिकट पाएनन् र प्रदेशसभामा थन्किए । सँघिय सरकारमा मन्त्रीका लागि शसक्त दावी र लविङ गरेका गुरुङ  पनि मन्त्री बन्न सकेनन् ।

प्रभाव बढाउँदै पार्वत

एमाले दोलखाको राजनीतिमा युवा पुस्तावाट उदायका नेता पार्वत गुरुङ हुन् । आन्तरिक पार्टी राजनीतिमा आफू भन्दा सिनियरलाई पछि पार्दै जिल्ला अध्यक्ष भएका गुरुङ पार्टीको केन्द्रिय सदस्य सम्म बन्न सफल भए । २०७० मा दोलखा क्षेत्र नम्बर १ बाट साँसदमा निर्वाचित गुरुङको राजनीतिक गति यति रफ्तारमा अघि बढ्यो कि प्रतिनिधिसभाको निर्वाचनमा पार्टी पोलिट्व्यूरो सदस्य नेता पशुपति चौंलागाई र  मन्त्री समेत भईसकेका राजनीतिक खेलाडी आनन्दप्रसाद पोखरेललाई समेत पछि पार्दै टिकट हात पारे र लोकप्रिय मत ल्याएर चुनाव जिते । सँघिय सरकारमा मन्त्रीका लागि शसक्त दावी र लविङ गरेका गुरुङ मन्त्री भने बन्न सकेनन् । ‘मनि र मसल’ को प्रयोगले जिल्ला पार्टीको नेतृत्व र दुई पटक साँसदमा निर्वाचित भएको आरोप लाग्ने गरेका गुरुङ छोटो अवधिमा रफ्तारमा उचाईमा पुगेका नेता हुन् ।

स्थानीय सरकारमा एमाले

दोलखामा एमालेको राजनीतिक सफलता सँसदीय निर्वाचनमा मात्र नभई स्थानीय निर्वाचनमा पनि उत्तिकै छ । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा १९ गाविस अध्यक्ष र २१ उपाध्यक्ष जितेको एमालेले २०५४ सालको स्थानीय निर्वाचनमा सिंगो जिल्ला कव्जा ग¥यो । गैरीमुदी र बुलुङ गाविस बाहके सवै गाविस र भीमेस्वर नगरपालिकामा एमालेले जित हात पा¥यो । जिल्ला विकास समिति समेत एकलौटी बनाउन सफल भयो र त्यसको नेतृत्व नेता लालकुमार केसीले गरे । २०७४ को स्थानीय तहको निर्वाचन सम्म आउँदा एमालेले ९ वटा तह मध्ये दुई नगरपालिका र ५ गाउँपालिकामा बिजयी हात पा¥यो । जिल्ला समन्वय समिति एमालेकै कव्जामा गयो । त्यसको नेतृत्व डबल पाण्डेले गरिरहेका छन् ।

२६ बर्ष यता दोलखामा एमाले निरन्तर सत्तामा छन् । स्थानीय सरकार होस् वा केन्द्र सरकारमा एमालेका नेताहरुले निरन्तर प्रतिनिधित्व गरिरहेका छन् । २०५४ सालमा एकलौटी स्थानीय निकाय चलाएको एमालेले अहिले पनि अधिकार सम्पन्न स्थानीय सरकार चलाईरहेको छ । २०५१ मा क्षेत्र नम्बर १ मा काँग्रेस नेता स्वर्गीय भिमवहादुर तामाङसँग र २०६४ मा माओवादी नेतृ देवी खड्का र हेमवहादुर श्रेष्ठसँग पराजित भए यता सँसदीय राजनीतिमा एमालेले हार व्यर्होनु परेको छैन । तसर्थ, साँढे दुई दशक लामो एमाले नेताहरुको सत्तासिन यात्रामा दोलखाले के पायो ? जिल्ला र जिल्लावासीका लागि कति उपलव्धि मिल्यो ? यसको लेखाजोखा गर्न जरुरी छ । एमाले स्वयँले आफ्नो नेतृत्व र अगुवाईमा भएका र हुन नसकेका कामहरुको फेहरिस्त तयार पारेर जनतामाझ सार्वजनिक गर्न आवस्यक छ ।

को–को भए राजनीतिमा गुमनाम ?

प्रजातन्त्र पुर्नबहाली पछि साँसदमा निर्वाचित भएका ईन्द्रवहादुर खड्का, जितविर लामा, वाङछे शेर्पाहरु अहिले एमालेको राजनीतिमा छैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट नपाएपछि एमाले भित्रका लोकप्रिय नेता लालकुमार केसी एमाले छाडेर नेकपा मालेवाट उम्मेदवार बनी चुनौती दिए । अर्का आकाँक्षि एमाले नेता शिवप्रसाद भण्डारी प्रदेशसभामा टिकट नपाएपछि राष्ट्रिय सभाका लागि लविङ गरे । त्याहाँ पनि सफलता हात नपरेपछि भण्डारी अहिले भूमिकाविहिन छन् । २०५६ मा एमाले विभाजन भएपछि नेकपा मालेवाट उम्मेदवार बनेका महेन्द्रवहादुर कार्की पनि एमालेको राजनीतिमा त्यत्ति सक्रिय र सन्तुष्ट देखिएका छैनन् ।

पार्टी केन्द्रदेखिको गुटवन्दी जिल्ला हुँदै तल्लो कमिटीसम्म जवरजस्त झाँगिदा एमाले भित्र अनुशासन, विधि र प्रक्रिया खल्बलिएको छ । परिणामत नेता र कार्यकर्ताहरु वीच अश्वस्थ प्रतिश्पर्धा, महत्वकाँक्षा, जालझेल र प्रतिशोध हावी हुँदै गएको देखिन्छ । पार्वत समूहको पार्टी पँक्तिमा दवदवा हावी भएको र आगामी दिनमा एजेण्डा अनुसार पशुपति र आनन्द समूह एक ठाउँमा उभिने कतिपय नेताहरुको अनुमान छ ।

गुटवन्दी हावी हुँदै

खासगरी स्थानीय तहको पछिल्लो निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पछि दोलखा एमालेको आन्तरिक जनवाद, प्रक्रिया र पद्धति नराम्रोसँग भत्किएको छ । पार्टी केन्द्रदेखिको गुटवन्दी जिल्ला हुँदै तल्लो कमिटीसम्म जवरजस्त झाँगिदा एमाले भित्र अनुशासन, विधि र प्रक्रिया खल्बलिएको छ । परिणामत नेता र कार्यकर्ताहरु वीच अश्वस्थ प्रतिश्पर्धा, महत्वकाँक्षा, जालझेल र प्रतिशोध हावी हुँदै गएको देखिन्छ । सोही कारण दोलखा एमालेका नेताहरुमा गुट परिवर्तन पनि क्षण–क्षणमा भईरहन्छ । पशुपति, आनन्द र पार्वत समूहको छुट्टाछुट्टै गुटबन्दीका कारण एमालेको आन्तरिक सँगठन र भावी कार्ययोजना नैं प्रभावित भएको स्वयँ एमाले नेताहरुको गुनासो छ ।

‘दोलखा एमालेको लालकिल्ला त्यत्तिकै बनेको होईन । एमालेलाई यहाँसम्म ल्याई पु¥याउन बिभिन्न चरणमा बिभिन्न नेता, कार्यकर्ताहरुको महत्वपूर्ण लगानी र योगदान छ,’ एमाले दोलखाका एक पुराना नेता भन्छन्, ‘अहिले महत्वकाँक्षा हावी भएको छ । त्याग, तपस्या र लगानीको मतलवै छैन । पैसा र गुण्डा नभएकाले राजनीति नगरे भो ।’ हो, यहि निराशाले एमालेका ईमान्दार कार्यकर्ताहरुलाई आजकाल पिरोल्न थालेको छ । पार्वत समूहको पार्टी पँक्तिमा दवदवा हावी भएको र आगामी दिनमा एजेण्डा अनुसार पशुपति र आनन्द समूह एक ठाउँमा उभिने कतिपय नेताहरुको अनुमान छ ।

दूध धेरै उम्लियो भने पोखिन्छ भन्ने उखान नैं छ । एमाले भित्र आन्तरिक गुटवन्दी र उन्माद चरम शिमामा पुगेको स्वयँ एमाले कार्यकर्ताहरु गुनासो गर्छन् । नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा नेतृत्व माथि रुखो शव्दमा गरिरहने प्रहारले पनि यसको पुष्टि गर्दछ । कालिन्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने बिषयमा एमालेवाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष वीच नैं हात हालाहालको स्थिती हुनु सामान्य कुरा होईन । त्यो घटना परिस्थितीजन्य भन्दा पनि नेतृत्व तहको निर्देशन वमोजिम भएको अनुमान लगाउनेहरु पनि छन् । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष वीचको मनमुटाव र द्धन्द्धमा आनन्द र पार्वत समूहको गुटवन्दीको प्रभाव देखिएको स्थानीय कार्यकर्ता बताउँछन् ।

अवसर गुमाउँदै दोलखा एमाले

एमाले दोलखा भित्रको गुटवन्दीले स्थानीय र जिल्ला स्तरमा मात्रै नभई प्रदेश र राष्ट्रिय स्तरमा जिल्लाले पाउने अवसर पनि गुमेको छ । पार्टी केन्द्रको प्राथमिकतामा दोलखा परेपनि आन्तरिक गुटवन्दीकै कारण यो पटक सँघिय र प्रदेश सरकारमा दोलखा एमालेको प्रतिनिधित्व शून्य रह्यो । नेता पशुपति चौंलागाईले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आकाँक्षा राखेपनि जिल्लाकै नेताहरुले उनलाई साथ दिएनन् । एउटा समूहले चौंलागाईलाई रोक्नका लागि माथिल्लो तहसम्मै लविङ गरेपछि उनी अष्टलक्ष्मी शाक्यको प्रस्तावक बनेर प्रदेशसभामा प्रस्तुत भए । यतिसम्म की चौंलागाईलाई मुख्यमन्त्रीको रुपमा मिडियामा प्रचार नगर्न जिल्लाका पत्रकार समेतलाई भनियो । परिणामत चौंलागाई मुख्यमन्त्री होईन प्रदेशकै मन्त्री समेत बन्न सकेनन् ।

सँघिय सरकार गठनको क्रममा पनि प्रदेश सरकार गठनकै बेला भएका अभ्यासहरु देखिए । नेता पार्वत गुरुङले लोकप्रिय मत ल्याएको र जनजाति समेत भएको भन्दै मन्त्री दावी गरिरहेका बेला जिल्लाकै नेताहरु सहयोगी देखिएनन् । गुरुङले पार्टी अध्यक्षसँग मन्त्री दावी गर्नासाथ मिडियामा गुरुङका बिरुद्ध समाचारहरु आउन थाले । ति सवै आन्तरिक पार्टी पँक्ति भित्रवाटै नियोजित थिए । अन्ततः गुरुङ पनि मन्त्री बन्न सकेनन् र सँघीय र प्रदेश सरकार दुवैमा दोलखा एमालेको प्रतिनिधित्व शुन्य भयो । नेकपा माओवादी केन्द्रले समेत साँसद विशाल खड्कालाई मन्त्री नबनाए पछि दुवै सरकारमा दोलखाको प्रतिनिधित्व ‘क्लिन स्विप’ हुन पुग्यो । सत्ता बाहिरको खेलको कुरा गर्दा गाउँपालिका राष्ट्रिय महासँघको अध्यक्षमा ईस्वरचन्द्र पोखरेलले दावी गरेपनि उनलाई जिल्लाका नेताले साझा ढँगले साथ नदिँदा उनी मैदानवाटै बाहिरिन बाध्य भए ।

स्थानीय सरकार देखि प्रदेश र सँघीय सरकार सम्मको एमालेको प्रतिनिधित्वलाई विवेकपूर्ण ढँगले जिम्मेवारी वहन गर्दै विकासको दृष्टिले ‘नयाँ दोलखा’ को परिकल्पना गर्ने र कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा छ । सँघियताको सँक्रमणकालिन प्रयोगका बेला जनप्रतिनिधिले विवेकशिल ढँगले कार्यसम्पादन गर्न सकेनन् भने यसको दिर्घकालिन असर पर्न सक्छ ।

अवसर गुमाए चुनौती धेरै

एमाले सिन्धुपाल्चोकले सँघीय सरकार र प्रदेश सरकारमा गरी दुई जना मन्त्री पाएको छ । माओवादी केन्द्रले पनि सिन्धुपाल्चोकवाट एक जनालाई प्रदेशको मन्त्री बनायो । तर, दोलखा एमाले र माओवादी केन्द्र दुवै यो सम्भावनाबाट चुक्न पुग्यो । प्रतिनिधित्वका दृष्टिले एमालेको लालकिल्ला भनिएको दोलखा भन्दा सिन्धुपाल्चोक प्रभावशाली देखियो । यसको एक मात्र कारण एमाले दोलखामा मौलाएको गुटवन्दी हो । ‘भाई फुटे गवाँर लुटे’ भने झैं आन्तरिक पार्टीमा देखिएको गुटवन्दी र किचलोलाई समयमै व्यवस्थापन गर्न नसकिए अरु धेरै अवसरवाट एमाले र दोलखा जिल्ला बञ्चित बन्ने देखिन्छ ।

दोलखा एमालेका सामु धेरै चुनौतिहरु पहाड झैं खडा भएर उभिएका छन् । जनताको भिमकाय मत विकास र समृद्धिका लागि हो । स्थानीय सरकार देखि प्रदेश र सँघीय सरकार सम्मको एमालेको प्रतिनिधित्वलाई विवेकपूर्ण ढँगले जिम्मेवारी वहन गर्दै विकासको दृष्टिले ‘नयाँ दोलखा’ को परिकल्पना गर्ने र कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा छ । सँघियताको सँक्रमणकालिन प्रयोगका बेला जनप्रतिनिधिले विवेकशिल ढँगले कार्यसम्पादन गर्न सकेनन् भने यसको दिर्घकालिन असर पर्न सक्छ । चुनौति र अवसरका वीचमा एमाले दोलखाले पाएको जिम्मेवारी काम गरेर देखाउने महत्वपूर्ण समय पनि हो । आन्तरिक पार्टीको गुटवन्दी, खिचातानी वा अर्कमण्यताका कारण यो युगिन अवसर गुम्यो भने सम्वन्धित जनप्रतिनिधि वा नेताले मात्र नभई सिँगो एमालेले क्षेति व्यर्होनु पर्ने निश्चित छ ।

२० चैत्र २०७४ । १२ः१० बजे प्रकाशित

VIEWS: 2360 पटक हेरीएको
error: Content is protected !!