दोलखा सदरमुकाम चरिकोटमा दिनदहाडै चार वटा कोठा फोरेर चोरी

4 weeks ago/Tuesday, December 31st, 2019

दोलखा, १५ पौष ।

दोलखा सदरमुकाम चरिकोटमा दिनदहाडै चोरी भएको छ ।

सदरमुकाम चरिकोटको भालुखोलास्थित सावित्रि चौँलागाईको घरमा दिनदहाडै चोरी भएको हो । सो घरको तेस्रो तलामा रहेको चार वटा कोठमा आज एकैपटक शृंखलावद्ध चोरी भएको छ । सोही घरमा डेरा गरि बस्दै आएकी हाम्रो रेडियोमा कार्यरत पत्रकार दुर्गा बस्नेत सहित चार जनाको कोठामा दिन दहाडै चोरी भएको हो । चार वटा कोठा मध्य केहीको ढोकाको कव्जा काटेर तथा केही कव्जा उक्काएर चोरी गरेको पाईएको छ । कोठामा चोरी गरि पुनः ताल्चा लगाएर जस्ताको तस्तै पारिएकाले घरमा मान्छे भएपनि ठ्याक्कै कुन समयमा चोरी भयो भन्ने थाहा नभएको स्थानीयले बताएका छन् । चारै वटा कोठा फुटाईएपनि दुई वटा कोठाबाट मात्रै चोरी भएको घटनास्थलमा खटिएका प्रहरी निरिक्षक सुनजित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार बस्नेतको कोठाबाट आधा तोला सुन र नगद २ हजार तथा एक थान नविल वैंकको एटिम चोरी भएको छ भने वैतेश्वर गाउँपालिका वडा नम्वर ७ की रजिता श्रेष्ठको कोठाबाट ८५ हजार नगद र प्रभु वैंकको चेक चोरी भएको छ । त्यसमध्य एउटा चेकमा साईन गरेको पीडित श्रेष्ठले बताउनुभयो ।

डिएसपी परिवर्तन हुनेवित्तिकै चोरी

दोलखामा प्रहरी प्रमुख परिवर्तन हुनेवित्तिकै चोरीका घटनाहरु पनि बढ्ने गरेका छन् । यसअघि डिएसपी वासुदेव पाठकको समयमा चोरीको घटनामा केही कमी आएपनि अझै नियन्त्रणमा भने आउन सकेको छैन । डिएसपी पाठक पछि जिल्लामा तिन जना प्रहरी प्रमुख परिवर्तन हुँदा पनि चोरीको घटना नियन्त्रणमा आउन नसकेको हो । जिल्लामा हालैमात्र नयाँ प्रहरी प्रमुख आउने वित्तिकै पनि चोरीको घटना भएको थियो ।

केही समय कमी आएको चोरीको घटना पुनः बढ्न थालेको छ । यसअघि गत वर्षको मंसिर महिनामा पनि शृंखलावद्ध चोरीको घटना भएको थियो । त्यसयता भने केही समय फाट्ट फुट्ट मात्रै चोरीको घटना हुने गरेपनि आज भने दिनदहाडै एकै पटक एउटै घरको चार वटा कोठामा चोरी भएको हो । यसअघि गत वर्षको मंसिर १६ गते भीमेस्वर नगरपालिका ६ चरिकोटमा एकै दिन ७ स्थानमा चोरी भएको थियो । गत वर्ष भएका चोरीका घटनामा कलिला बालबालिकाको प्रयोग भएको पाईएपनि पछिल्ला समय भएका चोरीका घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन् । यद्धपी पछिल्लो समय भएका चोरीको घटनाको प्रकृति हेर्दा चिनचानकै तथा आसपासकै मानिसहरुबाट चोरी भएको हुनसक्ने आशंका गरिएको छ ।

यसअघि भएका घटनाहरुमा भने कलिला बालकहरुको संलग्नता पाईएकाले उनीहरुलाई मुद्धा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नहुँदा पनि दोषीलाई कडा कारबाही नहुँदा चोरीको घटनामा कमी आउन सकेको छैन ।

१५ पौष, २०७६ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 5995 पटक हेरीएको
error: Content is protected !!