पशु सेवा विज्ञ केन्द्र चरिकोटले १ करोड भन्दा बढीको अनुदानका कार्यक्रम सञ्चालन गर्दै

3 weeks ago/Wednesday, October 2nd, 2019

करुणा बस्नेत ।

दोलखा, १५ असोज ।

दोलखा सदरमुकाम चरिकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०७६/७७ मा १ करोड भन्दा बढी रकमको अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र बनाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष १ करोड ६७ लाख रकम बराबरको अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको हो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट प्राप्त २ करोड ९७ लाख रकममध्ये १ करोड ६७ लाख रकम किसानहरुको साझेदारीमा अनुदानका कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले व्यवसायिक गाईभैँसी पालन प्रवद्र्धन गोठ निर्माणमा १५ लाख वा लागतको ५० प्रतिशतमा नबढ्ने गरी ३ समूहलाई अनुदान उपलब्ध गराईने छ । केन्द्रबाट दिइने सम्पुर्ण अनुदानका कार्यक्रम कृषक समुह, समिति, सहकारी, नीजि क्षेत्रलाई लागतको ५० प्रतिशतका दरले उपलब्ध गराइने छ ।

बाख्रापालनका लागि अनुदान

व्यवसायिक बाख्रापालन प्रवद्र्धन खोर निर्माणमा ४ समूहलाई बढिमा १० लाख वा लागतको ५० प्रतिशतमा नबढ्ने गरी अनुदानका कार्यक्रम सञ्चालन गरिने केन्द्रले जनाएको छ । जसअन्तर्गत किसानहरुले खोर सुधार, निर्माण, मेशिनरी औजार तथा अन्य कामका लागि अनुदान रकम उपभोग गर्न पाउनेछन् । व्यवसायिक भेडापालन प्रवद्र्धन कार्यक्रमका लागि २ समूहलाई ५ लाख रकम उपलब्ध गराइने केन्द्रका वरिष्ठ पशु चिकित्सक कार्कीले जानकारी दिनुभयो । सो कार्यक्रम अन्तर्गत किसानहरुले थुमा खरिद, खोर सुधार, आहारा व्यवस्थापन लगायतका कामहरु गर्न सक्र्नेछन् । यता पशुपञ्छी गोठ खोर, मत्स्य पोखरी सुधारका कार्यक्रमका लागि १५ समूहलाई २ लाख र पशुपालक कृषकहरुलाई पशु आहारा पेलेट फिड ब्लकको कार्यक्रम सञ्चालनका लागि एउटा समुहलाई ५ लाख रकम उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

दुध ढुवानीका लागि अनुदान

यसैगरी पशु सेवा बिज्ञ केन्द्रले दुग्ध ढुवानीको लागि स्टील क्यान ४० लिटर क्षमता बनाउने कार्यक्रमका लागि २० वटा समूहलाई १० हजार रकम उपलब्ध गराइने छ भने मासु पसल सुधार कार्यक्रमका लागि १८ वटा समूहलाई ५० हजार बराबरको अनुदान उपलब्ध गराउने छ । यता मोटर सहितको च्यापकटर वितरण कार्यक्रम सञ्चालनका लागि २० वटा समूहलाई ३० हजार बराबरको सहयोग उपलब्ध गराउनुका साथै पशुपंक्षी नमुना फार्म विकास तथा विस्तार कार्यक्रमका लागि एउटा समूहलाई १५ लाख रकम उपलब्ध गराइने लगायतका कार्यक्रम चालु बर्ष सञ्चालन हुनेछन् । यस्तै केन्द्रले अनुदान बाहेकका अन्य निशुल्क सेवा पनि प्रदान गर्ने जनाएको छ ।

केन्द्रका अनुसार साँढे २ लाख रकम बराबरको पशु प्रजनन सेवा, कृतिम गर्भधारण कार्यक्रम निशुल्क रुपमा उपलब्ध गराइने छ । साथै पशु रोग सर्वेक्षण, महामारी रोग नियन्त्रणका लागि कार्यालयले १ लाख रकम विनियोजन गरेको छ भने हिउँदे घाँस निशुल्क उपलब्ध गराउनका लागि ४ लाख, वर्षे घाँसका लागि २ लाख र पशु क्षेत्रको विकास प्रवद्र्धनका लागि अन्य कार्यक्रमहरु सञ्चालन गरिने केन्द्रका वरिष्ठ पशु चिकित्सक कार्कीले बताउनुभयो ।उहाँका अनुसार पशु स्वास्थ्य शिविरका लागि पनि १ लाख रकम छुट्याइएको छ ।

केन्द्रले दोलखा र सिन्धुपल्चोकलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दैँ आएकाले दुबै जिल्लामा अनुदानका कार्यक्रम सञ्चालन हुनेछन् । अनुदानका कार्यक्रम सञ्चालनका लागि कार्यालयले छिट्टै आवेदन माग गर्ने तयारी गरेको छ । सोही अनुसार दोलखा र सिन्धुपाल्चोकका किसानले आवेदन दिन सक्नेछन् ।

१५ असोज, २०७६ । २ः४५ बजे प्रकाशित ।

VIEWS: 2470 पटक हेरीएको
error: Content is protected !!