पहिलो चौमासिक सकिनै लागेपनि दोलखाका स्थानीय सरकारले दोस्रो किस्ता माग गरेनन्

1 week ago/Tuesday, November 5th, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, १९ कात्तिक ।

चालु आर्थिक वर्षको चार महिना वित्न लागिसकेपनि दोलखाका कुनै पनि स्थानीय तहले दोस्रो किस्ताको रकम माग गरेका छैनन् ।

साउनमा पहिलो किस्ता निकासा लगेका स्थानीय तहहरुले कात्तिकमा दोस्रो किस्ता निकासा लैजानु पर्ने व्यवस्था भएपनि जिल्लाका कुनै पनि स्थानीय तहले दोस्रो किस्ता माग नगरेका हुन् । यसअघि चौमासिक रुपमा बजेट निकासा हुँदै आएपनि गत वर्षदेखि चार किस्तामा बजेट निकासा हुँदै आएको छ ।

जसअनुसार साउनमा पहिलो किस्ता निकासा लगेका सबै स्थानीय तहहरुले कात्तिक १ गते पछि दोस्रो किस्ताको रकम माग गर्नुपर्ने भएपनि हालसम्म कुनै पनि स्थानीय तहबाट दोस्रो किस्ता माग नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका सह लेखापाल गौरवराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्ताको खर्च विवरण र गत आर्थिक वर्ष खर्च हुन बाँकी रहेको बजेटको समेत विवरण सहित दोस्रो किस्ता माग गर्नुपर्ने भएपनि कुनै पनि स्थानीय तहले किस्ता माग गरेका छैनन् । स्थानीय तहहरुले समयमै किस्ता निकासा नलैजाँदा स्थानीय सरकारले सञ्चालन गर्ने विकास निर्माणको काम कारबाही प्रभावित हुने गर्दछ । पहिलो किस्ताको रकम भने सबै स्थानीय तहलाई साउन २ गते नै निकासा दिईएको कोलेनिका दोलखाले जनाएको छ ।

पहिलो किस्तामा कुन स्थानीय तहले कति पाए ?

अन्तर सरकारी वित्तिय हस्तान्तरण प्रदेश र स्थानीय तह आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसार चालु वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढि भीमेश्वर नगरपालिकाले १० करोड ९ लाख २५ हजार निकासा लगेको छ । नगरपालिकाले वित्तिय समानीकरण तर्फ ४ करोड ३० लाख २५ हजार र शसर्त अनुदान तर्फ ५ करोड ७९ लाख गरि सो बराबरको रकम निकासा लगेको हो ।

यस्तै जिरी नगरपालिकाले पहिलो किस्तामा वित्तिय समानीकरणतर्फको २ करोड ६८ लाख ५० हजार र शर्शत अनुदान वापतको ३ करोड ५८ लाख २५ हजार गरि कुल ६ करोड २६ लाख ७५ हजार मात्रै बजेट पाएको छ । जिरी नगरपालिकाले पहिलो किस्तामा जिल्लाका अन्य चार गाउँपालिका भन्दा कम रकम पाएको हो ।

गाउँपालिकातर्फ कालिञ्चोकलाई बढि

गाउँपालिकातर्फ कालिञ्चोक गाउँपालिकाले सबैभन्दा बढि कुल ७ करोड ७१ लाख ५० हजार बजेट निकासा लगेको छ । जसमध्य ३ करोड २६ लाख ५० हजार वित्तिय समानीकरण र ४ करोड ४५ लाख शसर्त अनुदान वापतको रकम हो । तामाकोशी गाउँपालिकाले वित्तिय समानीकरणतर्फ २ करोड ९६ लाख ७५ हजार र सशर्त अनुदानतर्फ ४ करोड ११ लाख ५० गरि कुल ७ करोड ८ लाख २५ हजार बजेट निकासा लगेको छ भने मेलुङ गाउँपालिकाले वित्तिय समानीकरणतर्फ ३ करोड ६ लाख ५० हजार र सशर्त अनुदानतर्फ ३ करोड ९१ लाख २५ हजार गरि कुल ६ करोड ९७ लाख ७५ हजार रकम निकासा लगेको छ ।

पहिलो किस्तामा वैतेश्वर गाउँपालिकालाई ६ करोड ६० लाख २५ हजार बजेट निकासा भएको छ । त्यसमध्य ३ करोड १ लाख ५० हजार वित्तिय समानिकरण तर्फको रकम हो भने ३ करोड ५८ लाख ७५ हजार सशर्त अनुदान हो । यसैगरी, शैलुङ गाउँपालिकालाई २ करोड ८८ लाख ५० हजार वित्तिय समानीकरण र ३ करोड २९ लाख ५० हजार शसर्त अनुदान गरि कुल ६ करोड १८ लाख तथा विगु गाउँपालिकालाई ३ करोड २० लाख सशर्त अनुदान र २ करोड ७७ लाख २५ हजार वित्तिय समानीकरण गरि कुल ५ करोड ९७ लाख २५ हजार निकासा दिईएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार गौरीशंकर गाउँपालिकाले पहिलो किस्तामा ५ करोड ९१ लाख ७५ हजार बजेट निकासा लगेको छ । जसमध्य २ करोड ६६ लाख २५ हजार रकम वित्तिय समाणीकरण तर्फको बजेट हो भने ३ करोड २५ लाख ५० हजार रकम शसर्त अनुदान तर्फको बजेट हो ।

१९ कात्तिक, २०७६ । ६ः ४५ बजे प्रकाशित ।

VIEWS: 810 पटक हेरीएको
error: Content is protected !!