प्रदेश सरकारवाट दोलखाका स्थानीय सरकारलाई १० करोड ५० लाख राजस्व निकासा

3 months ago/Monday, July 8th, 2019

ईदोलखा सँवाददाता ।

जिरी (दोलखा), २३ असार ।

दोलखाका नौं वटा स्थानीय सरकारले चालु बर्ष प्रदेश सरकारवाट १० करोड बढी राजस्व पाएका छन् ।

जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय सरकारले सवारी कर वापत १० करोड ५० लाख २८ हजार ९ सय ४१ रुपैयाँ राजस्व पाएका हुन् । प्रदेश सरकारले सवारी कर वापतको बाँडफाँडवाट उपलव्ध हुने रकम असार १० गते प्रदेश अन्तर्गतका सवै स्थानीय सरकारलाई निकासा दिएको हो । जस अनुसार दोलखाका ७ वटा गाउँपालिकाले ७ करोड ३१ लाख ४० हजार २ सय ११ र दुई वटा नगरपालिकाले ३ करोड १८ लाख ८८ हजार ७ सय ३० रुपैयाँ कर पाएका छन् । प्रदेश नम्बर ३ सरकारले गत जेठ १६ गतेसम्म प्रदेश सरकारको बिभाज्य कोषमा जम्मा भएको प्रदेश र स्थानीय तहवीच बाँडफाँड हुने सवारी साधन कर वापत सो रकम निकासा गरेको हो ।

भीमेस्वरलाई सवैभन्दा बढी राजस्व

दोलखाका ९ वटा स्थानीय सरकार मध्ये सवैभन्दा बढी भीमेस्वर नगरपालिकाले २ करोड ३७ लाख ३१ हजार ९ सय ९० रुपैयाँ पाएको छ भने गाउँपालिकातर्फ सवैभन्दा बढी शैलुङ गाउँपालिकाले १ करोड २९ लाख ५६ हजार ८ सय ९६ रुपैया पाएको छ । भीमेस्वरले २ करोड ३७ लाख बढी सवारी साधन कर पाउँदा जिरी नगरपालिकाले भने जम्मा ८१ लाख ५६ हजार ७ सय ४० रुपैयाँ मात्रै पाएको छ । प्रदेश सरकारवाट राजस्व वापत गौरीसँकर गाउँपालिकाले १ करोड ६ लाख ५६ हजार ७७ रुपैयाँ, बैतेस्वर गाउँपालिकाले एक करोड ३ लाख ५ हजार ४ सय १७ र तामाकोशी गाउँपालिकाले १ करोड १ लाख ११ हजार ३ सय ९५ रुपैयाँ पाएको छ । यस्तै, कालिन्चोक गाउँपालिकाले १ करोड १ लाख ७ हजार १ सय ३६, मेलुङ गाउँपालिकाले ९६ लाख ३९ हजार ३ सय ५३ र बिगु गाउँपालिकाले ९३ लाख ६३ हजार ९ सय ३७ रुपैयाँ पाएको छ । प्रदेश सरकारले भुगोल, जनसँख्या, मानव विकास सूँचाकको अवस्था लगायतका बिषयलाई आधार बनाएर राजस्व बाँडफाँड गर्ने गरेको छ । जस अनुसार ठूलो भूगोल, धेरै जनसँख्या र मानव विकास सूचाँकमा पछि परेका स्थानीय सरकारले बढी राजस्व पाएका छन् । जिल्लाका ९ वटा स्थानीय सरकारले पाएको सवारी साधन करको रकमलाई तुलना गरेर हेर्दा सवैभन्दा कम जिरी नगरपालिकाले पाएको हो । स्थानीय सरकारले सँघीय र प्रदेश सरकारवाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, समपुरक अनुदान र राजस्व बाँडफाँडलाई आधार बनाएर नीति तथा कार्यक्रम र बजेट बनाउने गरेको जिरी नगरपालिकाका प्रमुख, प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो ।

जिरीलाई सवैभन्दा कम राजस्व

चालु बर्ष प्रदेश सरकारवाट जिल्लाका स्थानीय सरकार मध्ये सवैभन्दा कम अनुदान पाएको जिरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷७७ मा सँघीय सरकारवाट शर्सत अनुदानतर्फ १५ करोड १० लाख, बित्तिय समानिकरणतर्फ १० करोड ७४ लाख र राजस्व बाँडफाँडतर्फ ६ करोड ४१ लाख अनुदान पाउने अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । यस्तै, प्रदेश सरकारवाट राजस्व बाँडफाँडतर्फ १ करोड ५० लाख, बित्तिय समानिकरणतर्फ ९८ लाख ७२ हजार र शर्सत अनुदानतर्फ १६ लाख ३७ हजार आम्दानी हुने प्रक्षेपण छ । सँघ र प्रदेश सरकारवाट बिशेष अनुदान वापत ३ करोड पाउने अपेक्षा गरेको जिरी नगरपालिकाले एक करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ ।

२३ असार २०७६ । ९ः३० बजे प्रकाशित ।

VIEWS: 2715 पटक हेरीएको
error: Content is protected !!