प्रवलिकरणमा परेका भूकम्प पीडीत पुर्णलाभग्राही बन्न नसक्दा १५ सय घर निर्माण अलपत्र

2 weeks ago/Monday, February 10th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, २७ माघ ।

पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन नसक्दा दोलखाका १५ सय भूकम्प पीडितले भूकम्पको साँढे चार वर्ष वितिसक्दा समेत निजि आवास निर्माण गर्न सकेका छैनन् ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएपनि पुननिर्माण लाभग्राहीमा पर्न नसकेपछि जिल्लाका १४ सय ५५ भूकम्प पीडितले अझै निजि आवास निर्माण गर्न नसकेका हुन् । भूकम्पबाट आफ्नो घर जगसहित ढलेको भएपनि प्रवलीकरण लाभग्राहीमा परेका कारण अझै टहरामै बस्न बाध्य भएको जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर ३ मिर्गेका भूकम्प पीडित जीतबहादुर तामाङले बताउनुभयो । जीतबहादुर मात्रै होईन अर्का भूकम्प पीडित बुद्धिमान तामाङको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ ‘भूकम्पले घर जगैदेखि ढलेको छ, नाम प्रवलीकरण सूचीमा आउँछ । कसरी मर्मत गर्नु ? घर भएपो मर्मत गर्नु । १ लाख पैसाले के गर्नु ? तै पनि पुननिर्माण सूचीमा नाम पर्छकी भनेर निवेदन दिएको छु । अझै भएको छैन । अहिलेसम्म पहिलो किस्ता पनि लिएको छैन ।’

जिल्लाको शैलुङ गाउँपालिकाका भूकम्प पीडितको गुनासो पनि उस्तै छ । सबैभन्दा धेरै भूकम्प पीडित प्रवलीकरण सूचिमा परेको शैलुङ गाउँपालिकाका अधिकांश पीडितहरु पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन नसक्दा अझै टहरामै बस्न बाध्य छन् । शैलुङ गाउँपालिका वडा नम्वर ८ का हरी कोईरालाले भने नाम प्रवलीकरण सूचीमा परेपनि आफ्नै खर्चमा घर निर्माण गरिसक्नु भएको छ । आफुमात्रै नभई आफ्नो वरपरका करिव २०/२५ वटा घर बनिसकेको उहाँले बताउनुभयो ।

सरकारी अनुदानको भर पर्दा पर्दै चार वर्ष वितिसकेको र सँधै टहरामा जीवन गुजारा गर्न कठिन भएपछि केहीले घर बनाईसकेको र केहीले बनाउन सुरु गरेको उहाँको भनाई छ । कोईरालाले आफ्नो नाम प्रवलीकरण सूचीमा परेपछि घर बनाएपनि अहिलेसम्म पहिलो किस्ता समेत लिनुभएको छैन । उहाँ पुननिर्माण लाभग्राहीमा नाम नपरेसम्म अनुदान नलिने अडानमा हुनुहुन्छ ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएपनि पुननिर्माण लाभग्राहीमा पर्न नसकेपछि दोलखाका १४ सय ५५ भूकम्प पीडितले अझै निजि आवास निर्माण गर्न सकेका छैनन । भूकम्प पीडितहरुलाई पुननिर्माण लाभग्राहीमा कायम गर्नका लागि केन्द्रमा सिफारिस गरिएकोमा ४८ जनाको मात्रै सम्बोधन भएको छ । जिल्लाका २ हजार ६ सय ३३ भूकम्प पीडित प्रवलीकरण सूचीमा परेकोमा १५ सय ३ परीवारले पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन माग गरेका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका अनुसार जिल्लाका २ हजार ६ सय ३३ भूकम्प पीडित प्रवलीकरण सूचीमा परेकोमा १५ सय ३ परीवारले पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन माग गरेका छन् । ती भूकम्प पीडितहरुलाई पुननिर्माण लाभग्राहीमा कायम गर्नका लागि केन्द्रमा सिफारिस गरिएकोमा ४८ जनाको मात्रै सम्बोधन भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले जानकारी दिनुभयो । जसअनुसार जिल्लाका १४ सय ५५ जना भूकम्प पीडित अझै पुननिर्माण लाभग्राहीमा परिवर्तनको पखाईमा छन् ।

जिल्लाको ९ स्थानीय तहमध्य सबैभन्दा बढि शैलुङ गाउँपालिकाका ९ सय १९ जना भूकम्प पीडितहरु प्रवलीकरण सूचीमा परेका थिए । त्यसमध्य ४ सय ७३ परिवारले पुननिर्माण लाभग्राहीमा कायम गर्नका लागि निवेदन दिएकोमा ११ जनाको मात्रै सम्बोधन भएको छ । ४ सय ६२ जना अझै अन्यौलमै छन् । ती मध्य केहीले आँफै निजि आवास निर्माण गरेपनि अधिकांश पीडितहरु अझै टहरामै कष्टकर रुपमा दिनरात गुजारीरहेका छन् ।

यसैगरी, मेलुङ गाउँपालिकाका ५ सय २६ भूकम्प पीडित प्रवलीकरण सूचीमा परेकोमा ३ सय १२ जनाले परिवर्तनका लागि सिफारिस गरेका थिए । उनीहरुको अझै कुनै सुनुवाई हुन सकेको छैन । वैतेश्वर गाउँपालिकामा पनि ३ सय ४६ परिवारको नाम प्रवलीकरण सूचीमा परेको थियो । उनीहरुमध्य ३ सय ३ परिवारको नाम परिवर्तनका लागि सिफारिस आएकोमा सबैको विवरण केन्द्रमा पठाईएकोमा ९ जनाको मात्रै सम्बोधन भएको र २ सय ९४ जनाको विषयमा अझै निर्णय आउन बाँकी रहेको पुननिर्माण कार्यालयले जनाएको छ । भीमेश्वर नगरपालिका भित्रका पनि ३ सय ५३ परिवार प्रवलीकरण सुचीमा परेकोमा १ सय ११ परिवारले पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन निवेदन दिएका थिए । त्यसमध्य ८ परिवारको मात्रै गुनासो सम्बोधन भएको छ भने १ सय ३ परिवारको विषयमा अझै कुनै निर्णय आएको छैन ।

जिल्लाको ९ स्थानीय तहमध्य सबैभन्दा बढि शैलुङ गाउँपालिकाका ९ सय १९ जना भूकम्प पीडितहरु प्रवलीकरण सूचीमा परेका थिए । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएपनि प्रवलीकरण लाभग्राहीमा परेको र निवेदन दिएपनि अझै पुननिर्माण लाभग्राही कायम भईनसक्दा भूकम्पको चार वर्ष वितिसक्दा समेत निजि आवास निर्माण गर्न नपाएको पीडितहरुको गुनासो छ ।

प्रवलीकरण सूचीमा परेका जिरी नगरपालिकाका १ सय ७२ भूकम्प पीडितमध्य १ सय ७ परिवारलाई पुननिर्माण लाभग्राहीमा परिवर्तन गर्न केन्द्रमा विवरण पठाईएपनि ७ जना मात्रै परिवर्तन भएका छन् । अझै सय परिवारले पुननिर्माण लाभग्राहीमा परिवर्तन हुन नसक्दा निजि आवास निर्माण गर्न सकेका छैनन् । जिल्लाको तामाकोशी गाउँपालिकाबाट पुननिर्माण लाभग्राहीमा परिवर्तन गर्न माग गर्दै ६९ परिवारको सिफारिस आएकोमा सबैको विवरण केन्द्रमा पठाईएपनि एक जनाको पनि सम्बोधन भइनसकेको पुननिर्माण कार्यालयले जनाएको छ ।

यस्तै, विगु गाउँपालिकाबाट पनि ५ जनालाई पुननिर्माण लाभग्राहीमा परिवर्तन गर्न सिफारिस भएकोमा कसैको पनि सम्बोधन भएको छैन ।
प्रवलीकरण सूचीमा परेका कालिञ्चोक गाउँपालिकाका २८ परिवारलाई पननिर्माण लाभग्राहीमा परिवर्तन गर्न केन्द्रमा विवरण पठाईएकोमा १० जना परिवर्तन भएका छन् भने १८ जनाको विषयमा अझै निर्णय आउन बाँकी छ । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएपनि प्रवलीकरण लाभग्राहीमा परेको र निवेदन दिएपनि अझै पुननिर्माण लाभग्राही कायम भईनसक्दा भूकम्पको चार वर्ष वितिसक्दा समेत निजि आवास निर्माण गर्न नपाएको पीडितहरुको गुनासो छ ।

यसको विषयमा के भईरहेको छ त ? भन्ने हाम्रो जिज्ञासामा अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय दोलखाका प्रमुख गणेश अर्यालले जिल्लामा प्राप्त सबैको विवरण केन्द्रमा पठाईएपनि केन्द्रबाट निर्णय नआउँदा अन्यौल भएको बताउनुभयो ।यद्धपी अहिले प्रवलीकरण सूचीमै सम्झौता गरि पहिलो किस्ता लिएपनि पुर्ननिर्माण लाभग्राहीमा परिवर्तन भएमा सबै किस्ता पाउने उहाँको भनाई छ । साथै त्यस्ता भूकम्प पीडितहरुको हकमा सरकारी अनुदान लिने समय सिमा समेत नतोकिएको प्रमुख अर्यालले जानकारी दिनुभयो ।

२७ माघ, २०७६ । ८ः१५ बजे प्रकाशित ।

VIEWS: 1675 पटक हेरीएको
error: Content is protected !!