प्रहरी महानिरिक्षक सहितको टोली दोलखामा, उच्च सुरक्षा सर्तकर्ता अपनाउन निर्देशन

2 weeks ago/Sunday, February 21st, 2021

दोलखा,९ फागुन ।

नेपालको राजनीति तरल र जटिल ढंगले अघि बढिरहेका बेला नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आईजिपी) शैलेश थापा क्षेत्री सहितका नेपाल प्रहरीका उच्च अधिकारीले दोलखा भ्रमण गरेका छन् ।

प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, अतिरिक्त प्रहरी महानिरिक्षक निरज साही र बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक बसन्त लामा लगायतका उच्च सुरक्षा अधिकारीको टोलीले दोलखाको भ्रमण गरेका हुन् । नेपाल प्रहरीका आईजिपी, एआईजि र डिआईजी सहितको टोलीले जिल्ला सुरक्षा समितिका अधिकारीहरुसँग छलफल गरी दोलखाको समग्र शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी पनि लिएका छन् । सो क्रममा आईजिपी क्षेत्रीले मुलुकको घटनाक्रम फरक ढँगले अघि बढिरहेको भन्दै नयाँ परिस्थितीमा सिर्जना हुने सुरक्षा चुनौतीको सामान गर्नका लागि सवै सर्तक र तयारी अवस्थामा रहनु पर्ने बताउनुभएको छ । जिल्ला सुरक्षा समितिको बैठकमा बोल्दै आईजिपी क्षेत्रीले शान्तिसुरक्षा र अमनचयन कायम गर्न कुनै कसर बाँकी नराख्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन पनि दिनुभयो ।

नेपाल प्रहरीका उच्च अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीवीच भएको छलफलमा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले दोलखामा दरवन्दी अनुसारको सुरक्षाकर्मी नभएको र श्रोत साधन समेत पर्याप्त नभएकोमा प्रहरी महानिरिक्षक सहित नेपाल प्रहरीका उच्च अधिकारीहरुको ध्यानाकर्षण गराउनु भएको थियो । प्रहरी महानिरिक्षक सहितको उच्च अधिकारीको टोली र जिल्ला सुरक्षा समितिका अधिकारी वीच चरिकोटको सेकेण्ड होम रिर्सोटमा छलफल भएको थियो ।

प्रहरी महानिरिक्षक क्षेत्री सहितको टोली हिजो वेलुकी दोलखाको प्रसिद्ध धार्मिक एवँ पर्यटकीयस्थल पुगेर आज विहान चरिकोट झरेको थियो । प्रहरी महानिरिक्षक सहितको उच्च अधिकारीको टोली आजै रामेछापतर्फ प्रस्थान गरेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

९ फागुन, २०७७ । ४ः३० बजे प्रकाशित ।

VIEWS: 2250 पटक हेरीएको
error: Content is protected !!