फ्रेण्डसिपले उद्यम गर्न चाहने शेयर सदस्यहरुलाई सहुलियतमा ऋण दिने

1 month ago/Monday, January 25th, 2021

जिरी (दोलखा), १२ माघ ।

दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उद्यम गर्ने शेयर सदस्यहरुलाई १० प्रतिशतको ब्याजदरले ऋण उपलब्ध गराउने भएको छ ।

फ्रेण्डसिप साकोसले १० जनाको समूह बनाएर आउनेलाई १० प्रतिशतका व्याजदरले एक व्यक्ति बराबर एक लाख रुपैंया सम्म ऋण उपलब्ध गराउने भएको हो । उद्यमी गरिरहेका उद्यमीका साथै नयाँ उद्यम गर्न चाहनेहरुलाई सहुलियतमा ऋण र प्राविधिक सहयोग समेत उपलब्ध गराउने संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले जानकारी दिनुभयो । संस्थाले कृषिलाई विशेष प्राथमिकता दिएपनि अन्य उद्यम गर्न चाहने शेयर सदस्यहरुका लागि पनि सहुलियतमा ऋण प्रदान गर्नेछ भने विना धितो एक व्यक्ति बराबर लाख रुपैंया सम्म ऋण उपलब्ध गराउनेछ ।

यसैबीच, संस्थाले उद्यमी गरिरहेका १० जना महिलालाई दुई दिने तालिम पनि दिएको छ । संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा उद्यम गरिरहेका १० जना महिला शेयर सदस्यहरुलाई शनिबार र आइतबार गरी दुई दिन तालिम दिएको हो । संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेफ्स्कुनकी कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो ।

१२ माघ, २०७७ । ७ः २० बजे प्रकाशित ।

 

VIEWS: 1580 पटक हेरीएको
error: Content is protected !!