बागमती प्रदेशको नीति तथा कार्यक्रमः फिल्म सिटी र जिरी ताल प्राथमिकतामा परेन

1 week ago/Friday, June 11th, 2021

ईदोलखा संवाददाता ।

दोलखा, जेठ २८ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले प्रदेश सभाको हिजोको बैठकमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि ल्याएको नीति तथा कार्यक्रममा नयाँ भन्दा अधिकाँश पुराना कार्यक्रम र योजनालाई निरन्तरता दिईएको छ । कोरोना महामारी नियन्त्रणका लागि केही योजना ल्याईए पनि प्रदेश आफैंले गर्ने ठोस योजना र कार्यक्रम देखिएको छैन । नीति तथा कार्यक्रममा बागमती प्रदेशको दुर्गम हिमाली जिल्ला दोलखाका महत्वका आयोजनाहरुले समेत प्राथमिकता पाएका छैनन् ।

महामारीमा बिद्यालयका स्टाफ नर्सलाई पनि खटाउने

प्रस्तुत नीति तथा कार्यक्रममा कोरोनाको महामारीवाट प्रदेशका नागरिकको जीवनरक्षाका लाग प्रदेश प्रमुख कोभिड १९ खोप कोषको स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सवै नागरिकलाई खोपको व्यवस्था गरिने उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारले कोरोना संक्रमतिको उपचारका लागि प्रदेश अन्तर्गतका अस्पतालमा एचडियु, आईसियु र भेन्टिलेटरको स्थापना तथा सुदृढ गर्ने र अक्सिजन प्लान्ट जडान कार्यलाई निरन्तरता दिने भएको छ । महामारीका बेला प्रदेश अन्तर्गतका ३ सय ५९ वटा सामुदायिक बिद्यालयमा रहेका स्टाफ नर्सलाई आवस्यक्ता अनुसार अस्पताल तथा स्वास्थ्य सँस्थामा खटाईने भएको छ ।

कोरोनावाट आमाबुबा गुमाएकालाई भत्ता

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षवाट कोरोना महामारीका कारण आमाबुबा दुवै गुमाएका वालवालिकाहरुलाई स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजारका दरले शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने तथा यसअघि आमा र बाबु दुवै नभएका बालवालिकाहरुलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाई गाउँ फर्किएका जनशक्तिलाई ‘मेरो गाउँ, उद्यमसहित जिउने ठाऊँ’ भन्ने अभियान सञ्चालन गर्ने सरकारको योजना छ । सो कार्यक्रमा मार्फत भौतिक पूर्वाधार निर्माण, उद्यमशिलता र रोजगारी बढाउने प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले निर्माणाधिन हिल स्टेसन तथा नमूना पर्यटन गन्तव्यहरुमा एकीकृत पूर्वाधार विकासलाई निरन्तरता दिदै निजी क्षेत्रको संलग्नतामा सञ्चालनको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रदेशमा कार्यरत कर्मचारीको मनोवल उच्च बनाई क्रियाशिल बनाउन विशेष कार्यक्रम ल्याउने, प्रदेशका कर्मचारीलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फिल्म सिटी र जिरी तालले प्राथमिकता पाएन

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा जिरी लगायतका प्रदेशका चार जिल्ला चार वटा सहरको एकिकृत विकास तथा सौन्दर्यकरणका लागि बिस्तृत अध्ययन गरी आगामी आर्थिक बर्षवाट सहरी किवास कार्यक्रम सञ्चालन गर्ने उल्ल्खे गरिए पनि दोलखाको चर्चित आयोजनाकोरुपमा रहेको फिल्म सिटी र जिरी ताल निर्माणको बिषयले भने नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छैन । मानवि विकास सुचाँकमा पछि परेको दोलखाको गौरीशंकर, रामेछापको उमाकुण्ड लगायतका क्षेत्रको पहिचान गरी सघन विकास कार्यक्रम सँचालन गर्न सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

२८ जेठ, २०७८ । ८ः१५ बजे प्रकाशित ।

VIEWS: 1510 पटक हेरीएको
error: Content is protected !!