बृहत सहकारी सम्मेलन सुरु, सहकारीलाई समृद्धिको मेरुदण्ड बनाउन मन्त्री अर्यालको आव्हान

3 months ago/Friday, May 10th, 2019

दोलखा, २७ बैशाख ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले सहकारीलाई समृद्धिको मेरुदण्ड बनाउन आव्हान गर्नुभएको छ ।

सहकारीको श्रोत साधनलाई उत्पादन र रोजगारीमा जोड्नु पर्ने भन्दै उहाँले समृद्धिको अभियानमा सहकारीले अग्रणी भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि सुरु भएको ‘बृहत सहकारी सम्मेलन २०७६’ को उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारी मन्त्री अर्यालले बचत र ऋण परिचालनको काम मात्रै गर्ने संस्था सहकारी संस्था हुन नसक्ने बताउनुभयो ।

सरकार सहकारी मैत्री भएको र सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सहकारी नियमावली ल्याएको भन्दै मन्त्री अर्यालले उत्पादन र रोजगारीसँग जोडिने संस्थालाई सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले दोलखा जिल्ला सहकारी संस्थाको दृष्टिले उर्वर भूमि बनेको भन्दै सहकारी र समुदायको लगानीमा व्यवसायीकताको सुरुवात पनि दोलखावाटै गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री अर्यालले सहकारी क्षेत्रका गुनासा र उजुरी मन्त्रालयमा बढेको भन्दै सहकारी क्षेत्रको सुशासन र आर्थिक अनुशासन माथि प्रश्न उठेको बताउनुभयो । आर्थिक अनुशासनलाई कायम गर्न नसके सहकारी अभियान दुर्घटनामा पर्ने खतरामा रहेको उहाँको भनाई छ । च्याउ झैं उम्रिएका सहकारी संस्थाहरु एकिकरणमा जानु र दोहोरो सदस्यता अन्त्य गरेर सहकारी क्षेत्रको शुद्धिकरण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सहकारी क्षेत्र नाफामुलक नभई सेवामुलक भएकाले सर्वसाधारणले तिर्नै नसक्ने व्याज दरको अन्त्य हुनु पर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो ।

के के भयो सम्मेलनमा ?

दोलखामा आजदेखि बृहत सहकारी सम्मेलन २०७६’ सुरु भएको छ । सदरमुकाम चरिकोटस्थित ए वान पार्टी प्यालेसमा सुरु भएको सम्मेलनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले उद्धघाटन गर्नुभएको छ । उद्यमशिलतामार्फत आर्थिक समृद्धिमा योगदान गर्न अन्तरसहकारी र स्थानीय तहबीच साझा बुझाई र सहमति विकास गरि आगमी आर्थिक वर्षबाट ठोस योजनाका साथ अघि बढ्न पूर्वतयारी गर्ने, उद्यमशिलता, आर्थिक समृद्धि, सहकारी सुशासन तथा सहकारी र स्थानीय तह साझेदारीको उद्देश्यका साथ जिल्लामै पहिलो पटक बृहत सहकारी सम्मेलन आयोजना गरिएको हो ।

जिल्ला सहकारी सँघ देलखाका अध्यक्ष एवम् सम्मेलन आयोजक मुल समारोह समितिका संयोजक हेमन्त चौँलागाईको अध्यक्षतामा भएको सम्मेलनको उद्धघाटन सत्रमा प्रतिनिधिसभा सांसद पार्वत गुरुङ, पूर्वराज्यमन्त्री देवी खड्का, नेकपा दोलखाका अध्यक्ष एवम् गाउँपालिका महासँघ ३ नम्वर प्रदेश अध्यक्ष तथा तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्का, राष्ट्रिय सहकारी सँघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको छ । सम्मेलनको उद्धघाटन अघि सातदोबाटो चोकबाट विभिन्न सांस्कृतिक झाँकी सहितको ¥याली निकालिएको थियो । जिल्ला सहकारी संघ दोलखा र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा सहकारीसहित विभिन्न क्षेत्रका ३ सय ५० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको छ ।

के कास्ता छन् कार्यपत्रको विषय?

भोलीसम्म चल्ने सम्मेलनमा विभिन्न ५ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा राष्ट्रिय सहकारी वैंक लिमिटेडकी सञ्चालक सरिता तिम्सिना भट्टराईले दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी क्षेत्रको कार्ययोजना विषयक कार्यपत्र प्रस्तुत गर्नहुनेछ भने सहकारी विभागका पूर्व रजिष्टार सुदर्शनप्रसाद ढकालले संघीय संरचनामा सहकारी संगठनः कानुनी व्यवस्था र विकास नितिहरु तथा लघुवित्त तथा सहकारी विज्ञ नवराज सिम्खडाले आर्थिक रुपान्तरण र उद्यमशिलताका लागि सहकारी नेतृत्व विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उद्यम विकास अधिकृत, सुमन उप्रेतीले दोलखा सहकारीमा उद्यामशिलताः वर्तमान अवस्था र भविष्यको बाटो र भीमेश्वर ३ का प्रेमप्रसाद अधिकारीले सहकारी व्यवस्थापन र उद्यमशिलता विकासमा स्थानीय सरकारको भूमीका विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सहकारी सम्मेलनका थप तस्वीरहरु

२७ बैशाख, २०७६ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 1145 पटक हेरीएको
error: Content is protected !!