बैतेश्वर गाउँपालिकाको केन्द्रको जग्गा विवादमा नेकपाको यस्तो छ चासो

6 days ago/Sunday, September 13th, 2020

इदोलखा संवाददाता ।

जिरी (दोलखा), २८ भदौ ।

दोलखाको बैतेश्वर गाउँपालिकालाई स्थानीयले दान गरेको जग्गामा अनियमितता भएको भन्ने बिषय सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतेस्वर गाउँ संगठन कमिटीले छानविनका लागि छानविन समिति गठन गरेको छ ।

बैतेस्वर गाउँ संगठन कमिटीको हिजो बसेको बैठकले गाउँपालिकाका जनताले गाउँपालिकालाई दान गरेको जग्गा अपचलन भएको बिषय सार्वजनिक भएपछि ७ सदस्यीय छानविन समिति गठन गरेको हो । कमिटीले नेकपा जिल्ला सचिवालय सदस्य एवँ गाउँ संगठन कमिटीका इन्चार्ज भिमप्रसाद दाहाल, जिल्ला सचिवालय सदस्यहरु लक्ष्मण खड्का, सुव्वा श्रेष्ठ र रोचकुमारी चौंलागाई तथा नेकपा बैतेस्वर संगठन कमिटीका अध्यक्ष माधवप्रसाद दाहाल, नेकपाका नेता माधव घिमिरे र गाउँ संगठन कमिटीका सदस्य हरिवहादुर पाण्डे सदस्य रहेको छानविन समिति गठन गरेको आज विज्ञप्ती जारी गरी जानकारी दिएको हो । सो छानविन समितिले आवस्यक अध्ययन, अनुषन्धान गरी यथार्थ विवरण सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ । बैतेस्वर गाउँपालिकालाई दान गरिएको जग्गा व्यक्तिको नाममा पास भएकोे बिषय सार्वजनिक भएपछि गाउँपालिकाले आरोपित व्यक्तिहरुलाई नैं राखेर गठन गरेको छानविन समितिलाई अस्विकार गर्दै नेकपा बैतेश्वरले नयाँ समिति गठन गरेको हो ।

गाउँपालिकाको बैठकले जग्गा व्यवस्थापनका लागि गठन गरेको समिति मार्फत गरिएको जग्गा व्यवस्थापनका क्रममा गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरुले नैं ‘जनताले दान गरेको जग्गा आफ्नो नातेदारको नाममा’ पास गरेको भन्ने बिषय सार्वजनिक हुनु दुःखद र खेदजनक भएको नेकपा बैतेस्वर गाउँ संगठन कमिटीको ठहर छ ।

साथै, गाउँपालिकालाई जनताले दान गरेको जग्गाको बिषयमा यथार्थ विवरण सार्वजनिक गर्न र सो जग्गा अपचलन गरिएको भए दोषि उपर कानून वमोजिम कारवाही गरी सम्वन्धित जग्गादाताको नाममा जग्गा फिर्ता गर्न, गराउन सम्वन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

२८ भदौ, २०७७ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 1475 पटक हेरीएको
error: Content is protected !!