भारत सरकारको अनुदान सहयोगमा दोलखाका १० विद्यालय पुननिर्माण हुने

7 months ago/Friday, February 14th, 2020

सिर्जना गोले ।

दोलखा, २ फागुन ।

भारत सरकारले दोलखाको विभिन्न स्थानमा १० वटा पक्की विद्यालय भवन निर्माण गरिदिने भएको छ ।

दोलखाको विभिन्न स्थानीय तहमा रहेको १० विद्यालयको पुननिर्माण भारत सरकारले गर्ने भएको हो । दोलखामा भारत सरकारको लगानीमा ३ करोड देखि करिब १४ करोड सम्मको सुविधा सम्पन्न विद्यालय भवनहरु निर्माण हुनेछन् । सबैभन्दा बढी लागतको बैतेश्वर गाउँपालिकास्थित कालिढुंगा मावि मिर्गेको विद्यालय भवन बन्ने भएको छ भने कम लागतमा भिमेश्वर नगरपालिकास्थित भिम माविको भवन निर्माण हुनेछ । कालिढुंगा माविको भवन भारत सरकारको १३ करोड ६२ लाखको लागतमा र भिम माविको भवन ३ करोड ९ लाखको लागतमा निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा दोलखाका इन्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कालिढुंगा माविमा तीन तले १३ कोठाको र २ तले ६ कोठाको २ वटा भवन तथा टुएसी भवन र भिम माविमा ६ कोठाको २ तले भवन र एउटा शौचालय निर्माण हुनेछ । यसैगरी, भारत सरकारकै १२ करोड ६७ लाख लगानीमा गौरीशंकर गाउँपालिकास्थित मानेडाँडा मावि झ्याँकुको सुविधा सम्पन्न विद्यालय भवन निर्माण हुनेछ । सो रकमबाट १७ कोठाको २ वटा भवन, टुएसी भवन तथा एमसीसी भवन र एउटा शौचालय निर्माण गरिने योजना छ ।

भारत सरकारलेनै बनाउने जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित कालिनाग मावि सुनखानीको २/२ तलको ६/६ कोठाको गरी १२ कोठेको २ वटा भवन तथा १ तलाको ३ कोठे भवन र शौचालय निर्माण हुनेछ । त्यसका लागि १० करोड ७५ लाख बजेट रहेको छ । यस्तै, विगु गाउँपालिकास्थित शान्ति आवासीय मावि १० करोड ५६ लाखको लागतमा २० कोठाको २ /२ तलको ३ वटा भवन, एउटा टुएसी भवन र शौचालय निर्माण हुनेछ ।  उता, शैलुङ गाउँपालिकास्थित दुर्गा मावि मागापौवाको विद्यालय भवन पनि भारत सरकारकै लगानीमा बन्दैछ । दुर्गा माविको ३ तले १३ कोठाको एउटा र २ तले ६ कोठाको अर्काे भवन तथा शौचालय निर्माण हुनेछ । त्यसको लागि ९ करोड ३३ लाख बजेट आएको छ । यता, सदरमुकाम चरिकोटस्थित कालिञ्चोक मावि चरिकोटमा पनि ९ करोड २९ लाखको लागतमा १३ कोठाको तीन तले भवन, ८ कोठाको २ तले भवन र एउटा शौचालय निर्माण हुनेछ ।

नेपाल सरकारको समन्वयमा भारत सरकारको लगानीमा निर्माण हुने विद्यालय भवनको निर्माण कार्य सम्झौता अनुसार केही समयमै सुरु हुनुपर्ने जिल्ला आयोजना कार्यन्वयन ईकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो । श्याम सुन्दर प्रेरा जेभी कम्पनी काठमाण्डौले १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सो विद्यालयहरुकोे निर्माणको जिम्मा लिएको छ ।  दोलखामा भारत सरकारले बनाउने १० विद्यालय भवन छुट्टा–छुट्टै डिजाइनको बन्नेछन् ।

यस्तै, तामाकोशी गाउँपालिकास्थित २ वटा विद्यालय भवन भारत सरकारकै लगानीमा निर्माण हुनेछ । कालापानी मावि जफेको २ तलाको ६ कोठे, एक तलाको ३ कोठे भवन, इएमसी भवन र एउटा शौचालय निर्माण हुनेछ । त्यसका लागि ६ करोड ६६ लाख बजेट रहेको छ । ५ करोड ५८ लाखको लागतमा बन्ने गुप्तेश्वर मावि मालुको २ तले ६ कोठे भवन र एउटा शौचालय निर्माण हुनेछ । भारत सरकारको लगानीमा ६ करोड २४ लाखको लागतमा बैतेश्वर गाउँपालिकास्थित क्षेत्रवती माविमा पनि विद्यालय भवन निर्माण हुने भएको छ । क्षेत्रवती माविको ९ कोठाको ३ तले, ६ कोठाको २ तले र एउटा शौचालय निर्माण हुनेछ । यद्धपी, टुएसी, टुलालिन र इएमसी लगायतको भवनहरु कति कोठाको बन्ने भन्ने कुराको एकिन जानकारी नआइसकोको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

नेपाल सरकारको समन्वयमा भारत सरकारको लगानीमा निर्माण हुने विद्यालय भवनको निर्माण कार्य सम्झौता अनुसार केही समयमै सुरु हुनुपर्ने जिल्ला आयोजना कार्यन्वयन ईकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो । श्याम सुन्दर प्रेरा जेभी कम्पनी काठमाण्डौले १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सो विद्यालयहरुकोे निर्माणको जिम्मा लिएको छ । विद्यालय निर्माणका लागि सो कम्पनिले केन्द्रिय आयोजना कार्यन्वयन ईकाईसँग गत २६ तारिखमा सम्झौता गरेको छ । दोलखामा भारत सरकारले बनाउने १० विद्यालय भवन छुट्टा–छुट्टै डिजाइनको बन्नेछन् । २०७२ सालको विनाशकारी भुकम्पका कारण विद्यालयहरु ध्वस्त भएपछि नेपाल सरकार, विभिन्न संघसंस्था र चिन, भारत लगायतका देशहरुले नेपालमा विद्यालयहरु निर्माण गरिरहेका छन् ।

यसैबीच, दोलखामा चिन सरकारको सहयोगमा पनि ३ वटा विद्यालयको सुविधा सम्पन्न भवन निर्माण हुँदैछ । चिन सरकारले जिल्लाको भिमेश्वर नगरपालिकास्थित सर्व मावि जिलु, कालिनाग मावि सिंगटी र दोलखाको जिरी नगरपालिकास्थित जिरी माविको भवन निर्माण गर्ने भएको हो । जसअनुसार सर्व मावि जिलु र कालिनाग मावि सिंगटीको विद्यालय भवन निर्माणका लागि शिलान्यास भैसकेपनि जिरी माविको शिलान्यास गरी काम सुरु गर्न बाँकी छ ।

तस्विर सौजन्यः क्षेत्रवती मावि बैतेश्वरको अस्थायी भवन

२ फागुन, २०७६ । ११ः१० बजे प्रकाशित ।

VIEWS: 3975 पटक हेरीएको
error: Content is protected !!