भीमेश्वर नगरपालिकामा कोरोना संक्रमण बढ्दै, शहर भन्दा ग्रामीण क्षेत्र बढी प्रभावित

3 months ago/Tuesday, July 27th, 2021

सिर्जना थापा (खड्का) ।

दोलखा, १२ साउन ।

दोलखाको भीमेश्वर नगरपालिकामा कोरोना संक्रमणदरमा कमी आउन सकेको छैन ।

सदरमुकाम समेत रहेको भीमेश्वर नगपालिकामा अन्य स्थानीय तहको तुलनामा कोरोना संक्रमणदर तीब्र रहेको हो । जिल्लाभरबाट साउन ७ गते ५५ जनाको र ८ गते २३ जना गरी ७८ जनाको स्वाव संकलन गरी पठाएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जसमध्ये भिमेश्वर नगरपालिकाका २८ जनामा संक्रमण देखिएको नगरपालिकका स्वास्थ्य संयोजक श्यामबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरबाट ६३ जनाको स्वाव संकलन गरी पठाएकोमा हिजो ३४ जनाको रिपोर्ट पोजेटिभ आएकोमा भीमेश्वर नगरपालिकाको मात्रै २४ जना रहेका छन् ।

वडा नम्बर २ मा बढी संक्रमित

हिजो वडा नम्बर १ मा २ जना, वडा नम्बर २ मा १ जना, ३ मा ५ जना, ४, ५ र ७ मा २÷२ जना, ६ मा १० मा कोरोना संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरपालिकाको वडा नम्बर २ मा हाल सबैभन्दा बढी ४६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने सबैभन्दा कम वडा नम्बर ९ मा एकजना मात्रै रहेका छन् । भीमेश्वर नगरपालिका १ मा हालसम्म १ सय २१ जना कोरोना संक्रमित भैसकेकोमा १३ जना सक्रिय संक्रमित रहेका छन् । वडा नम्बर २ मा १ सय ९९ जना संक्रमित रहेकोमा हाल ४६ जना सक्रिय संक्रमित रहेका छन् । वडा नम्बर २ को राम्पा, डोक्थली लगायतका क्षेत्रमा संक्रमित बढी देखिएका छन् ।

सुरुमा भीमेश्वर नगरपालिका ६ मा संक्रमण बढी देखिएपनि पछिल्लो समय भीनपा २ मा देखिएको कोरोना संक्रमणदरमा कमि आउन नसकेको हो । सुरुमा केहीमा कोरोना संक्रमण देखिएकोमा संक्रमितलाई होम आईसोेलेसनमा बस्न आग्रह गर्दा पनि नमानेपछि संक्रमण समुदायस्तरमै फैलिएको वडापालिकाको कार्यालयले जनाएको छ । यस्तै, वडा नम्बर ३ मा १ सय २७ जना संक्रमित बनेकोमा १ सय जनाले कोरोना जितिसकेका छन् । ३ मा २७ जना सक्रिय संक्रमित रहेका छन् । वडा नम्बर ४ मा १३ जना संक्रिय संक्रमित रहेका छन् । ४ मा १ सय ११ जना कोरोना संक्रमित बनेकोमा ९८ जना कोरोनामुक्त भैसकेका छन् । वडा नम्बर ४ जिलुमा पनि यसअघि एकैदिन ३५ जनासम्ममा कोरोना संक्रमण देखिएको थियो ।

बजार क्षेत्रमा भीडभाड बढ्दै

वडा नम्बर ५ मा ४७ जना संक्रमित बनेकोमा हाल ५ जना उपचाररत छन् । भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ मा हालसम्म १ सय ४२ जनालाई कोरोना देखापरेकोमा १ सय ११ जना कोरोमुक्त भैसकेका छन् । वडा नम्बर ६ मा ३१ जना संक्रिय संक्रमित रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केही समय वडा नम्बर ६ चरिकोटमा मानिसहरुको चहलपहल बढी हुने भएकाले संक्रमणदर तीब्र बनेको थियो । वडा नम्बर ६ मा अहिले संक्रमणदरमा केही कमि आएपनि सदरमुकामका बजार, पसलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी भीडभाडका गतिबिधि बढिरहेकाले संक्रमणको जोखिम कायमै रहेको देखिन्छ ।

नगरपालिकाको वडा नम्बर ७ मा ५० जना संक्रमित बनेकोमा १० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । वडा नम्बर ८ मा ४ जना उपचाररत रहेका छन् । वडा नम्बर ८ मा २५ जनामा कोरोना देखिएकोमा २१ जना कोरोनामुक्त भैसकेका छन् । यस्तै वडा नम्बर ९ मा १ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । भीमेश्वर नगरपालिकामा हालसम्म ८ सय ६१ जना कोरोना संक्रमित भैसकेकोमा हाल १ सय ५० जना सक्रिय संक्रमित रहेका छन् । जसममध्ये ७ सय ११ जनाले कोरोना जितिसकेका छन् ।

स्वास्थ्य परिक्षण गराउनै छाडे

भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्यामबहादुर खड्काले निशेधाज्ञा खुकुलो बनेसँगै भीडभाड बढेको तर मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई लापरवाही गर्दा पनि अन्य स्थानीय तहको तुलनामा नगरपालिकामा कोरोना संक्रमणदर बढेको बताउनुभयो । उहाँले संक्रमित मात्रै परीक्षणको दायरा आउने र उनीहरुको कन्ट्याक टे«सिङमा परेकाहरु पनि स्वास्थ्य परीक्षणका लागि नआउने गरेका कारण पनि संक्रमण बढेको बताउनुभयो । यसअघिको तुलनामा भाईरसको असर कम देखिएका कारणले पनि मानिसहरुले यसलाई सामान्य रुपमा लिएको र होम आईसोलेसनमा बस्दा पनि सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोना समुदायमै फैलिएको उहाँको भनाई छ । नगरपालिकाले समुदायमा थप फैलन नदिन कोरोना पोजेटिभ देखिएकाहरुको कन्ट्याक टे«सिङ गर्नुका साथै समाजमा चेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको संयोजक खड्काले बताउनुभयो ।

१२ साउन, २०७८ । १०ः५० बजे प्रकाशित ।

VIEWS: 3815 पटक हेरीएको
error: Content is protected !!