भीमेस्वरका भूमिहिनको पीडाः बस्नलाई घर छैन, घर बनाउन जग्गा छैन

3 months ago/Sunday, May 12th, 2019

दुर्गा बस्नेत ।

दोलखा, २९ बैशाख ।

भूकम्प गएको ४ बर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित साङकुचा टोलका भूमीहीन १७ घरपरिवार अझै टहरामा दिनरात गुजारिरहेका छन् ।

आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा साङकुचा टोलका १७ परिवार टहरामा दिनरात गुजार्न बाध्य भएका हुन् । भूकम्पपछि स्थायी आवास निर्माणका लागि सरकारले अनुदान दिने भएपनि उनीहरुले जग्गाधनि पुर्जा नभएकै कारण सरकारी अनुदान समेत लिन पाएका छैनन् । आफ्नै नाममा जग्गा नहुँदा घर कहिले र कहाँ बनाउने भन्दै भौतारिँदा भौतारिँदै उनीहरुको दैनिकी बित्ने गरेको छ । जस्ताको टहरोमा दिनरात कष्टकर रुपमा जीवनयापन गरिरहेका साङकुचावासीको दैनिकी कष्टकर बन्दै गएको छ । आफ्नो सात पुस्ताले त्यही भूमिमा बिताएपनि लालपुर्जाकै कारणले घर बनाउन समस्या भएको स्थानीय लक्ष्मी थामीको गुनासो छ । आफ्नो नाममा जग्गा सम्बन्धी कुनै प्रमाण नभएकाले साङकुचावासी समस्यामा परेका हुन् ।

सरकारी अनुदान पाए घर बनाउने आशमा जीवन गुजारिरहेका साङकुचाका भूमीहीन परिवारले सम्बन्धित निकायमा पटक–पटक धाउदा समेत उनीहरुको गुनासो सम्बोधन हुन सकेको छैन । सदियौदेखि आफ्ना पुर्खाले सोही भूमीमा जीवन गुजारे पनि सरकारले भुकम्पपछिको पुननिर्माण गर्ने क्रममा जग्गाधनी लालपुर्जा अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि भूमिहिन परिवार मारमा परेका हुन् ।

साङकुचाका भूमीहीन व्यवस्थापन सरोकार समितिका संयोजक मोहन योगीले भूमीहीनको समस्या समाधान गर्न स्थानीय सरकारले कुनै पहल नगरेको गुनासो गर्नुभयो । आफुहरुले वडा र नगरपालिकालाई पटक–पटक ताकेता गरेपनि बेवास्ता गरिएको उहाँले बताउनुभयो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा ७१ भूमीहीन परिवार रहेका छन् । त्यसमध्ये १७ घरपरिवार साङकुचामा मात्रै छन् । उनीहरु मध्ये केहीले जग्गाधनी पुर्जा नभएपनि सोही स्थानमा घर बनाउन सुरु गरेका छन् । यद्धपि अधिकांशको बास टहरामै बितिरहेको छ । वडामा धेरै भूमीहीन घरपरिवार भएपनि कति परिवारले घर निर्माण गर्न सुरु गरे वा गरेनन् भन्ने तथ्यांक वडापालिकासँग छैन । साङ्कुचावासीको समस्याका बिषयमा भीमेस्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विराजमान श्रेष्ठले भूमीहीन परिवारको वडाबाट पठाउनु पर्ने तथ्यांक र सिफारिस माथिल्लो निकायमा पठाए पनि हालसम्म सुनुवाई नभएको जानकारी दिनुभयो । गुठीको जग्गाको लालपूर्जा दिन सम्भव नभएकाले सरकारी स्तरबाटै यसको समाधान हुनुपर्ने उहाँको भनाई छ ।

भूमीहीन नागरिकलाई सरकारले उपलब्ध गराउने भनेको दुई लाख रुपैया उपलब्ध गराउन आफु लागि परेको भन्दै उहाँले माथिल्लो निकायबाटै ढिला गर्दा समस्या भएको बताउनुभयो ।

२९ बैशाख २०७६ । १०ः४० बजे प्रकाशित

VIEWS: 1200 पटक हेरीएको
error: Content is protected !!