भीमेस्वरको शिक्षाः अंग्रेजीमा पढाई, बिद्यार्थीलाई निशुल्क पोशाक

1 week ago/Tuesday, July 9th, 2019

ईदोलखा सँवाददाता ।
दोलखा, २४ असार ।
सरकारी बिद्यालयमा प्राथमिक तहसम्मका बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक उपलव्ध गराउँदै आएको दोलखाको भीमेस्वर नगरपालिकाले चालु शैक्षिक शत्रदेखि अंग्रेजी माध्यममा अध्यापन सुरु गरेको छ ।

कक्षा १ देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई अंग्रेजी माध्यमवाट अध्यापन गराई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेस्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । भीमेस्वर नगरपालिकामा रहेका ४३ सामुदायिक बिद्यालयमा बाल विकास तहदेखि प्रावि तहसम्म अध्ययन गर्ने करिव २ हजार ५ सय बिद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याईएको हो । जस अन्तर्गत चालु शैक्षिक शत्रबाट सवै बिद्यालयको प्राथमिक तहमा एउटा अंग्रेजी बिषय थप गरी अंग्रेजी माध्यमवाटै पठनपाठन गरिने छ । भीमेस्वर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममै प्राथमिकताका साथ यो बिषयलाई समेट्दै अंग्रेजी पुस्तक खरिदमा ५० प्रतिशत अनुदान दिने र शिक्षकहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

एउटै विद्यालय पोसाक कायम

नगरपालिकाले विगत दुई आर्थिक बर्षदेखि नगर क्षेत्रका सामुदायिक बिद्यालयमा प्रावि तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई निशुल्क बिद्यायल पोशाक र दिवा खाजा उपलव्ध गराउँदै आएको छ भने नगर क्षेत्रका सामुदायिक र सँस्थागत बिद्यालयको पोशाक एउटै बनाईएको छ । भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले नगरक्षेत्र भित्र रहेका संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको मनस्थिति परिवर्तन गर्नका लागि एउटै पोशाक कायम गरेको र शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ सम्म अंग्रेजी माध्यममा अध्यापन सुरु गरेको बताउनुभयो । बोर्डिङ स्कुलका बिद्यार्थी अंग्रेजीमा जान्ने हुने र सामुदायिक विद्यालयका बिद्यार्थी नजान्ने भन्ने भ्रम सिर्जना भएपछि आवश्यकता अनुसार अंग्रेजी माध्यममा पढाई सुरु भएको उहाँको भनाई छ । प्राथमिक तहमा अंग्रेजी माध्ययमा पढाई सुरु गर्नु अघि शिक्षकलाई दिइएको तालिममा करिव ५ लाख बराबर रकम खर्च भएको छ । शिक्षाको गुणस्तर अभिबृद्धि विना समृद्ध भीमेश्वरको सम्भावना नरहेको भन्दै नगरप्रमुख केसीले पोशाक र अंग्रेजी माध्ययममा अध्यापन गराउने विषयलाई निरन्तरता दिइने बताउनुभयो ।

वालमैत्री नगर घोषणाको तयारी

शिक्षा क्षेत्रलाई प्राथमितामा राखेको नगरपालिकाले आगामी भदौ २९ गते वालमैत्री नगर घोषणा गर्ने तयारी समेत गरेको छ । सो कार्यक्रम प्रदेशकै पहिलो कार्यक्रम हुने नगरप्रमुख केसीले बताउनुभयो । भीमेस्वर नगरपालिकाले गत आर्थिक वर्षमा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पोसाक खरिदमा मात्रै ३० लाख बजेट विनियोजन गरेकोमा २१ लाख खर्च भएको थियो भने चालु आर्थिक वर्षका लागि बिनियोजित २५ लाखमा १८ लाख ३० हजार खर्च भएको छ । नगरपालिकाले बिद्यार्थीलाई निशुल्क पोशाकका लागि आगामी आर्थिक बर्ष २५ लाख बजेट बिनियोजन गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।
भीमेश्वर नगरपालिकाले ‘भीमेश्वरबासीको इच्छा, सवैका लागि आधारभूत शिक्षा’ भन्ने नारा समेत अघि सारेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा नगरक्षेत्र भित्रका शिक्षकहरुलाई उत्प्रेरणा जगाउने, अंग्रेजी माध्यममा अध्यापन गराउन शिक्षकहरुलाई तालिम दिने, प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति सहयोग गर्ने र प्रविधिमा आधारित शिक्षण विधि उपलब्ध गराउने लगायतका कार्यक्रम पनि समेटिएको छ ।

२४ असार २०७६ । ५ः५५ बजे प्रकाशित ।

VIEWS: 2875 पटक हेरीएको
error: Content is protected !!