भूकम्पले ढलेका दोलखाका चार सरकारी कार्यालय यसरी बने

2 weeks ago/Saturday, July 6th, 2019

करुणा बस्नेत ।

दोलखा, २१ असार ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त दोलखाका चार वटा सरकारी कार्यालय पुननिर्माण सम्पन्न भएको छ ।

दोलखा सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला सिँचाई डिभिजन र जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यलयको भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित चार वटा भवन जिल्लाकै सरकारी कार्यालय मध्य सबैभन्दा सुविधा सम्पन्न र आधुनिक भवन बनेका छन् । एसियाली विकास बैंङ एडिवि र नेपाल सरकारको सहयोगमा नवनिर्मित भूकम्परहित चार वटै भवन एउटै प्याकेजमा निर्माण सम्पन्न भएका हुन् । यी सबै भवनको कुल लागत १७ करोड ३ लाख ९५ हजार रहेको राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई भवन दोलखाले जनाएको छ । सुरुमा भवन निर्माणका लागि २०७३ चैत १३ गते २०७५ चैत २७ मा सक्ने गरी १३ करोड ३ लाख ९५ हजारमा सम्झौता भएपनि लागत बढेर १७ करोड पुगेको थियो ।

पुननिर्माणको अवस्था सन्तोषजनकः सिईओ ज्ञवाली

नवनिर्मित भवनको शुक्रबार संयुक्त रुपमा उद्धघाटन गरिएको छ । भवन उद्धघाटन गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले भूकम्पपछिको पुननिर्माणको अवस्था सन्तोषजनक र उत्साहप्रद भएको बताउनुभयो । भूकम्पपछिको पुननिर्माणले सुविधा सम्पन्न कार्यालय भवन, बिद्यालय भवन र सुरक्षित घर पुननिर्माणको अवसर दिएको उहाँको भनाई छ । उहाँले पुननिर्माणको काम सम्पन्नताको दिशातर्फ अघि बढेको र सन्तोषको सिर्जना हुँदै गएको बताउनुभयो । सिमित श्रोत साधनकाबीच करिव ८ लाख स्थायी आवास निर्माण र सोही आधारमा कार्यालय भवन र शैक्षिक सँस्था निर्माणको बिषय जटिल भएपनि अहिले धेरैजसो काम सम्पन्न गर्न सफल भएको सिईओ ज्ञवालीले बताउनुभयो ।

दोलखाको पुननिर्माणलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

कार्यक्रममा बोल्दै प्रदेश सभाका साँसद पशुपति चौंलागाईले भीमेस्वर नगरपालिका अन्तर्गत ऐतिहासिक दोलखा सहर सहित ३ वटा बस्तिहरुलाई पुननिर्माण गर्नका लागि पुननिर्माण प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभाका अर्का साँसद विशाल खड्काले पनि दोलखाको सम्पदा बस्तिलाई प्राथमिकताका साथ निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । साँसद खड्काले छिमेकी मुलुक भारतले निर्माणको जिम्मा लिएका बिद्यालयका पुननिर्माणको काम हुन नसकेको भन्दै ति बिद्यालय तत्काल पुननिर्माण गर्नु पर्ने बताउनुभयो ।
केन्द्रीय आयोजना कार्यन्वयन ईकाई भवनका आयोजना निर्देशक नवराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नवनिर्मित जिल्ला प्रशासन कार्यालयको भवन

नवनिर्मित डिभिजन वन कार्यालयको भवन

नवनिर्मित जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय भवन

२१ असार, २०७६ । १ः ०० बजे प्रकाशित ।

VIEWS: 1735 पटक हेरीएको
error: Content is protected !!