भ्रमण वर्षलाई लक्षित गरि चरिकोटमा किवी महोत्सव, पर्यटकहरुलाई विशेष छुट

1 month ago/Wednesday, December 25th, 2019

दोलखा, ९ पौष ।

दोलखाको भीमेश्वर नगरपालिकाले दोलखा किवी महोत्सव तथा चरिकोट स्ट्रिट फुड फेस्टिबलको तयारी तिव्र पारेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नगरपालिकाले यही पुस १६ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागेको किवी महोत्सव तथा चरिकोट स्ट्रिट फुड फेस्टिबलको तयारी तिव्र पारेको हो । सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी आयोजना गर्न लागिएको महोत्सवको तयारी तिव्र पारीएको जानकारी गराएको हो । नगरपालिकामा पहिलोपटक किवी फलको पहिचान भएको र धेरै किवी उत्पादन हुने भएकाले नगरपालिकामै महोत्सवको आयोजना गरीएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ मा किवीफल उत्पादन हुने गरेको छ ।

किवी महोत्सवलाई सफल पार्नका लागि नगरपालिकाले विभिन्न ९ वटा समिति समेत गठन गरेको छ । ती समितिलेहरुले समेत महोत्सवको काम सुरु गरीसकेको नगरपालिकाले जनाएको छ । महोत्सव दोलखाका ९ वटै स्थानीय तह, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, नागरिक समाज, पत्रकार, टोल सुधार समिति, किवी उत्पादक कृषक, किवी जोन दोलखा, कृषि ज्ञान केन्द्र, बागवानी फर्म बोचको सहकार्यमा आयोजना हुन लागेको हो ।

महोत्सवमा आउने पर्यटकलाई खान र बस्न छुट

महोत्सवको प्रदेश नम्बर तीनका कृषिमन्त्रि दावादोर्जे लामाले उद्धघाटन गर्नुहुनेछ । महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी होटल व्यवसायी संघ दोलखाले होटलमा वास बस्ने पर्यटकलाई २५ प्रतिशत, खाजा र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । महोत्सवमा किवी घरेलु उत्पादनबाट तयार भएका हस्तकलाका सामाग्री, सुन्तला लगायत कृषि उत्पादनसँग समेटीने कृषि र पर्यटनसँग सम्बन्धीत सामाग्रीहरु राखिनेछन् । यस्तै महोत्सव अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको नृत्य तथा सांगीतीक प्रस्तुती रहनेछ भने विभिन्न सांस्कृतिक झाँकी तथा ¥यालीहरुको समेत सहभागीता हुनेछ । महोत्सवमा सहभागी अतिथिहरुलाई स्थानीय परिकारले समेत सत्कार गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले महोत्सवको अवसरमा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागमा विजेता खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

९ पौष, २०७६ । ६ः ०० बजे प्रकाशित ।

VIEWS: 1135 पटक हेरीएको
error: Content is protected !!