माथिल्लो तामाकोशीमा दोलखावासीले न्यूनतम ३० देखि अधिकतम १०३ कित्ता शेयर पाए

1 year ago/Wednesday, October 31st, 2018

दोलखा, १४ कार्तिक ।

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा दोलखावासीले आवेदन गरेको शेयर बाँडफाँड भएको छ । आज भएको बाँडफाँड बमोजिम दोलखावासीले न्यूनतम ३० कित्तादेखि अधिकतम १०३ कित्तासम्म शेयर पाएका छन् । प्रति कित्ता एक सय दरको तामाकोशीको शेयर सवैभन्दा कम पाउनेले ३ हजारको र अधिकतम पाउनेले १० हजार ३ सय बराबरको शेयर पाएका छन् ।

‘ग’ बर्गलाई ३० देखि ३४ कित्ता

माथिल्लो तामाकोशीको शेयर निश्काशन तथा विक्रि प्रवन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रवन्धक सनराईज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमति लिएर आज शेयर बाँडफाँड गरेको हो । जस अनुसार आयोजना प्रभावित क्षेत्रको दृष्टिले ‘ग’ बर्गमा परेका आवेदनकर्ता मध्ये ३० कित्ता शेयर माग गर्नेले सतप्रतिशत, ४० कित्ता शेयर माग गर्नेले ३२ कित्ता र सो भन्दा माथि ५० कित्तादेखि ३०० कित्ता शेयर माग गर्नेले जम्मा ३४ कित्ता मात्रै शेयर पाएका छन् । ‘ग’ बर्गमा कूल ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता शेयर बाँडफाँड भएको छ । ‘ग’ बर्गमा दोलखाका १ लाख ८९ हजार ९ सय २३ जना आवेदकहरुले २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

‘ग’ बर्गमा दोलखाको साविक आलम्पु, बाबरे, भेड्पु, भुषाफेदा, विगु, चंखु, क्षेत्रपा, चिलंखा, च्यामा, डाँडाखर्क, ताम्चेतदुधपोखरी, फस्कु, घ्याङसुकाठोकर, हावा, झुले, झ्याँकु, जिरी नगरपालिका, जुँगु, काब्रे, कालिञ्चोक, काटाकुटी, खोपाचाँगु, लापिलाङ, मागापौवा, मार्व, मेलुङ, मिर्गे, पवटी, शैलुङ्गेश्वर, सुरी, बोच, लाकुरीडाँडा र श्यामा गाविस तथा भीमेश्वर नगरपालिकाको साविक वडा नम्बर ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछ ।

‘ख’ बर्गलाई ३० देखि ४८ कित्ता

यस्तै, आयोजना प्रभावित ‘ख’ बर्गमा ३० देखि ४० कित्ता शेयर माग गर्ने आवेदकले माग गरे वमोजिम तथा ५० कित्तादेखि ३०० कित्ता शेयर माग गर्नेहरुले ४८ कित्ताका दरले ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता शेयर बाँडफाँड गरिएको माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । ‘ख’ बर्गमा कूल ८१ हजार २ सय ४२ जना आवेदकले १ करोड २७ लाख ८१ हजार २ स्य ९० कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए ।

‘ख’ बर्गमा साविक ओराङ्ग, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु र शहरे गाविस तथा भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ नम्बर वडा पर्दछन् ।

‘क’ बर्गलाई ३० देखि १०३ कित्ता

आयोजनाको अति प्रभावित ‘क’ बर्गमा शेयर आवेदन गरेका मध्ये २० देखि १०० कित्ता शेयर माग गरेका आवेदकहरुलाई माग बमोजिम पूरै तथा ११० कित्तादेखि ३०० कित्ता शेयर माग गर्ने सवै आवेदकहरुले १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता शेयर पाएका छन् । ‘क’ बर्गमा कूल ५ हजार ५० जना आवेदकरुले १३ लाख ८८ हजार ३ सय कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए ।

शेयर विक्रि प्रवन्धक कम्पनीले दोलखावासीले दिएको आवेदनको शेयर बाँडफाँड गरेपछि बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता अति प्रभावित ‘क’ बर्गमा परी ३०० कित्ता शेयर आवेदन गरेका ४ हजार १ सय ८६ जना आवेदकलाई गोला प्रथाद्धारा थप १ कित्ता शेयर बाँडफाँड गरेको छ । ‘क’ बर्गमा साविक लामावगर र गौरीसँकर गाविस पर्दछ । शेयर बाँडफाँड पछि आवेदककर्ताको बढी हुन आएको रकम एक साताभित्र व्यक्तिको खातामा फिर्ता हुने आयोजना प्रमुख बिज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

१४ कार्तिक २०७५ । ५ः०० बजे प्रकाशित

VIEWS: 20985 पटक हेरीएको
error: Content is protected !!