मुडे–चरिकोट सडक निर्माणमा लापरवाही गर्ने ठेकेदारको पोष्टर टाँसेर विरोध सुरु

4 weeks ago/Saturday, November 16th, 2019

दोलखा, ३० कात्तिक ।

दोलखामा सडक निर्माणको काममा लापरवाही र ढीलासुस्ती गर्ने ठेकदारको तस्वीरसहितको पोष्टर टाँसेर सार्वजनिक रुपमा विरोध सुरु भएको छ ।

नागरिक समाज तथा पत्रकारको अगुवाईमा व्यवसायी तथा स्थानीयले यातायातका साधन, सार्वजनिक स्थानमा पोष्टर टाँसेर विरोध सुरु गरेका हुन् । खाडीचौर–मुडे–चरिकोट खण्डको सडक विस्तारको काममा लापरवाही गर्दा सास्ती भोग्नुपरेको भन्दै चरिकोटस्थित सातदोबाटो चोक तथा चरिकोट हुँदै काठमाडौँ जाने यात्रुबाहक बसमा पोष्टर टाँसेर नागरिक खवरदारी अभियान सुरु भएको हो । अभियान अन्र्तगत आज मात्रै सार्वजनिक स्थानमा करिव सय वटा पोष्टर टाँसिसकेको अभियानमा सहभागि दोलखाका पत्रकार गोकर्ण भण्डारीले जानकारी दिनुभयो ।

खाडीचौर–चरिकोट सडक स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार कम्पनी शंकर माली जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटाको लापरवाहीका कारण समयमै सडक बन्न नसकेको भन्दै सार्वजनिक रुपमा विरोध सुरु गरिएको हो । फरक शैलीको विरोध अभियान प्रभावकारी हुने भन्दै ठेकेदारको फोटो टाँस्न थालिएको अभियानकर्ताहरुले बताएका छन् । सडक स्तरोन्नतीमा लापरवाही गरि चार वर्षसम्म काम पुरा नहुँदा यात्रुहरु खाडीचौर चरिकोट सडकखण्डमा कष्टपुर्ण यात्रा गर्न बाध्य भएका छन् भने सडक आसपासका स्थानीयले समेत सास्ती खेप्दै आएका छन् । बर्षाको समयमा सडकमा रहेको खाल्डाखुल्डी र हिलोको कारण समस्या हुने गरेको छ भने हिउँदको समयमा धुलोका कारण समस्या हुने गरेको छ । सो सडकको खाडीचौर मुडे खण्डमा केही काम भएपनि मुडे चरिकोट खण्डको अवस्था अझै उस्तै छ । सोही कारण मुडे चरिकोट सडक खण्डको जिम्मा पाएको ठेकेदार कम्पनी सकिल हैदर–शंकरमाली सुनौला खिम्ति जेभीका प्रवन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सार्वजानिक स्थान र सार्वजानिक सवारी साधानमा टाँसेर विरोध गरिएको हो ।

सडकको दुरावस्थाका कारण दोलखामा खाद्यान्न, औषधी, ईन्धन लगाएत अत्यावश्यक सामाग्री आपुर्तिमा समस्या हुँदै आएको छ भने दोलखाको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । भारतीय एक्जिम वैंकको करिव एक अर्व २४ करोड ऋण सहयोगमा खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार गर्न ठेक्का सम्झौता गरिएको चार वर्ष भन्दा पनि बढि भईसकेको छ । २ वर्षभित्र गर्नुपर्ने काम चार वर्षम पनि नहुँदा यात्रुलाई सास्ती भएपछि विरोधको नयाँ स्वरुप अघि सारिएको हो । आजदेखि सुरु भएको यो अभियान पर्सिसम्म जारी रहने पत्रकार भण्डारीले जानकारी दिनुभयो ।

सार्वजानिक स्थानमा यसरी टाँसियो ठेकेदारको पोष्टर, हेर्नुहोस् थप तस्वीर

३० कात्तिक २०७६ । ४ः ०० बजे प्रकाशित ।

VIEWS: 4935 पटक हेरीएको
error: Content is protected !!