यी हुन् गौरीशंकर संरक्षण क्षेत्रले १० बर्षमा गरेका मुख्य १० उपलव्धि

1 month ago/Monday, August 17th, 2020

करुणा बस्नेत ।

दोलखा, १ भदौ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले आयोजना स्थापनाको १० वर्षमा भएका मुख्य १० उपलब्धिलाई सार्वजनिक गरेको छ । आयोजनाले आज विज्ञप्ति जारी गर्दै १० वर्ष पुरा भएको अवसरमा आयोजनाले गरेका महत्वपुर्ण उपलब्धीहरु सर्वजनिक गरेको हो ।

क्यामेरा ट्रयापिङमा हिमचितुवा

आयोजनाले संरक्षण क्षेत्र स्थापना पछि पहिलो पकट क्यामेरा ट्रयापिङ्ग विधिद्वारा संरक्षण क्षेत्र भित्रको लप्चि उपत्यका र रोल्वालिङ्ग उपत्यकामा जैविक विविधताको अध्ययन गरिएको र सोही अध्ययनले संरक्षण क्षेत्र भित्र पहिलो पटक विश्वमै दुर्लभ हिँउ चितुवा, हाब्रे सहित नेपालको संरक्षीत वन्यजन्तुमध्ये ८ वटा वन्यजन्तु रहेको प्रमाणित भएको जनाएको छ । जसले गर्दा संरक्षण क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्व र आकर्षण बढेको जिक्यापले उपलब्धी मानेको छ । यस्तै यार्सागुम्बा लगायत बहुमुल्य जडिबुटीको संकलन सम्बन्धि पहिलो पटक दिगो व्यवस्थापन योजना जारी भएको र त्यसले गर्दा स्थानिय समुदायमा आर्थिक सुधार भएको जिक्यापको भनाई छ ।

९४ घरमा होमस्टे, २० हजार बढि विदेशी पर्यटक भित्रिए

आयोजनाले १० वर्षको अवधिमा पर्यटन प्रवद्र्धन अन्तर्गत संरक्षण क्षेत्र भित्र ५४ किलोमिटर पर्यटन पदमार्ग मर्मत सम्भार गरेको छ भने पर्यटन पदर्मार्गमा ५ सय ३ स्थानमा साईन पोस्टिङ र सूचना बोर्ड समेत राखिएको छ । संरक्षण क्षेत्र भित्र विभिन्न स्थानमा ९४ घरधुरीमा होमस्टे (घरबास) व्यवस्थापन तथा सञ्चालनमा आएको छ । सो अवधिमा २० हजार ६ सय ८४ जना विदेशी तथा सार्क मुलुकका पर्यटकहरु र सोहि संख्याको हाराहारीमा आन्तरिक पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेको र त्यसले स्थानियको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा सुधार ल्याएको आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।

बन्यजन्तुको सँख्यामा बृद्धि, पीडितलाई राहत र क्षेतिपूर्ति

संरक्षण क्षेत्र लागु भएसँगै संरक्षण क्षेत्र भित्र वन्यजन्तु वृद्धि भएको विभिन्न अध्ययन साथै स्थानियहरुले पनि अनुभूति गरेको जिक्यापको भनाई छ । वन्यजन्तु वृद्धिसँगै मानव र वन्यजन्तु वीच द्वन्दपनि वृद्धि हुनाले १९ जना मानिसलाई वन्यजन्तुले आक्रमण गरि घाईते बनाएको र १ सय ४९ वटा घरपालुवा वस्तु भाउको क्षति गरेपछि संरक्षण क्षेत्रले क्षतिपुर्ति व्यहोरेको छ । संरक्षण क्षेत्रले नेपाल सरकारको क्षति राहत सहयोग निर्देशिका अनुसार आयोजना र गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालयबाट गरी १४ लाख ४९ हजार २९ रुपैँया क्षतिपूर्ति दिएको छ । साथै मानव र वन्यजन्तुबीचको द्वन्दलाई दिगो व्यवस्थापन गर्नको लागि संरक्षण वन उपभोक्ता संजाल (सिफन) मार्फत वन्यजन्तु तथा मानव द्वन्द व्यवस्थापनका लागि करिव १० लाखको कोषको स्थापना गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट संरक्षण क्षेत्रभित्रका १३ हजार ७ सय ६ घर पुननिर्माणका लागि आवस्यक ५ लाख ७३ हजार २ सय २ क्यूफिट काठ व्यवस्थापन समिति र बन उपसमिति मार्फत निशुल्क उपलव्ध गराएको जिक्यापले जनाएको छ ।

भौतिक पूर्वाधारले सम्पन्न

गौरीशंकर संरक्षण क्षेत्र लागु भएपछि भौतिक पूर्वाधार विकास निर्माण अन्तर्गत दोलखाको सिङ्गटीमा प्रधान कार्यालयको स्थापना, रामेछापको शिवालयमा ईलाका संरक्षण कार्यालय र सिन्धुपाल्चोकको चाकुमा ईलाका संरक्षण कार्यालय भवन निर्माण गरि व्यवस्थापन भएको जिक्यापले जनाएको छ । सोहि अन्तर्गत दोलखाको सिङ्गटी र कालिन्चोक, रामेछापको शिवालय र सिन्धुपाल्चोकको चाकुमा पर्यटक सुचना केन्द्र तथा जाँच चौकि भवन निर्माण गरि कार्य सञ्चालनमा सहज र सेवाग्राहिलाई सहज र सुलभ भएको आयोजनाले उपलब्धी मानेको छ । सोही कार्यालयहरुमा कार्यालय व्यवस्थापनको लागि राखिएका कर्मचारीहरुमा ७० प्रतिशत स्थानियले रोजगारी पाएको जिक्यापको भनाई छ ।

समुदायदेखि जिल्लातहसम्मको सञ्जाल

गौरीशंकर संरक्षण क्षेत्र समुदायमा आधारित संरक्षण क्षेत्र भएकोले स्थानिय स्तरमा संरक्षण तथा विकास कार्यक्रम संचालन गर्नको लागि दोलखा, रामेछाप र सिन्धुपाल्चोकका साविकको २२ वटा गाविसमा संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन भई कार्यान्वयनमा आएको छ भने तीन वटै जिल्लामा जिल्ला स्तरीय संरक्षण क्षेत्र उपभोक्ता सञ्जाल गठन भएको छ । समितिहरुले कार्य सञ्चालन गर्नको लागि १५ वटा व्यवस्थापन समितिको आफ्नै भवनमा कार्यालय व्यवस्थापन गरेको र अन्य समितिहरुले स्थानिय तहसँग मिलेर कार्यालय व्यवस्थापन गरेका छन् । सो क्षेत्रमा रहेको साविकका सामुदायिक वनमा वन पैदावारको दिगो व्यवस्थापन गर्नेगरि १५ हजार ५ सय ९५ घरधुरीको लागि ४४ हजार हेक्टर वन क्षेत्रलाई कार्य योजना तयारी गरि ८७ वटा संरक्षण वनमा रुपान्तरण गरि हस्तान्तरण गरिएपछि संरक्षण वनबाट जम्मा ७५ हजार ५ सय ८८ जनसंख्या लाभान्वित भएको आयोजना प्रमुख साहले बताउनुभयो ।

२५ बिद्यालयमा संरक्षण शिक्षा

संरक्षण क्षेत्र भित्र रहेकोमध्ये २५ वटा विद्यालयहरुमा संरक्षण शिक्षा लागु भएको छ । संरक्षण शिक्षा लागु भएको विद्यालयहरुका १ हजार ७ सय जना विद्यार्थीहरुले छात्रवृत्ति पनि प्राप्त गरेका छन् । संरक्षण क्षेत्र आयोजनाले हाईटेक (उच्चप्रविधि) सतुवाको नर्सरी स्थापना गरेको छ । आयोजनाले बर्षेनी गर्ने ‘५ अ’ को कार्यक्रम अन्तर्गत २२ लाख ६५ हजार ५ सय १४ वटा नगदेवालीको बिरुवा बितरण गरिएको छ । जसवाट २ हजार २ सय ८८ घरधुरी लाभान्वित भएर आयआर्जन सुधार भएको पाइएको छ ।

बृक्षारोपण र किसानलाई सहयोग

वन क्षेत्रमा रहेका खालि जग्गामा वन विस्तार गर्नका लागि १ सय १६ हेक्टर जग्गामा ३ लाख ५१ हजार ८ सय ५१ वटा रुख तथा घाँस प्रजातीको वृक्षारोपण गरिएको छ । जिक्यापले ९ सय ५७ जना किसानको लागि गोलभेडा तथा अर्गानिक तरकारी उत्पादन गर्नको लागि टनेल, विउविजन तथा कृषिऔजारहरु वितरण गरि उद्यमी बन्नको लागि सहयोग गरेको पनि गरेको छ । जिक्यापले १० वर्षको अवधिमा मौरी पालक किसानको लागि ६२ घार मौरी वितरण गरेको छ । स्थानियले उत्पादन गरेको उत्पादनहरुलाई विक्रिवितरण गर्नको लागि विगु गाउँपालिकासँगको सहकार्य तथा लगानीमा स्थानिय उपज संकलन केन्द्र (कोसेली घर) को स्थापना गरिएको छ ।

लुङ्दरमा काठ प्रतिस्थापन, गृहिणीलाई फलामे चुल्हो

गौरीशंकर संरक्षण क्षेत्र आयोजना लागू भएपछि संरक्षण क्षेत्रका २ हजार १ सय ४२ घरधुरी बौद्धमार्गिहरुको घरमा लुङदरको लागि काठको पोल प्रतिस्थापन गर्दै २ हजार १ सय ४२ वटा फलामे पोल वितरण गरिएको छ । त्यसवाट वार्षिक २ हजार १ सय ४२ वटा सुरीलो खाँवा आकारका रुख कटान हुनवाट जोगिएको आयोजनाले जनाएको छ । ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्यको ख्याल तथा दाउरा खपत कम गराउने उद्धेस्यले जिक्यापले २ हजार ८ सय ३२ वटा सुधारिउको फलामे चुल्हो र १८ वटा एलपि ग्याँस सिलिण्डर र चुल्हो तथा ८५ वटा बिद्युतिय पोल र ३८ वटा सोलार प्यानल पनि बितरण गरेको छ ।

चोरी शिकारी घट्यो

हालसम्म सो आयोजनाले स्थानिय जनता, राजनितिक दल, सरोकारवाला, फेकोफनका प्रतिनिधिहरुसँग समय समयमा संरक्षण सम्बन्धि जनचेतना अभिवृद्धिको लागि विभिन्न स्थानमा ३ सय ७९ पटक गरि २० हजार ९१ जनाको सहभागीतामा जनचेतनामुलक कार्यक्रम पनि संचालन गरेको छ । जनचेतनामुलक कार्यक्रमले गर्दा मानिसहरुमा चोरी शिकारी क्रियाकलाप घटेको तथा स्थानियहरु आफै पनि चोरीशिकारी नियन्त्रणमा लागेको जिक्यापको भनाई छ ।

संरक्षणका लागि रेडियोवाट जागरण

जिक्यापले जनचेतना अभिवृद्धिको लागि दोलखामा रहेका ५ वटा स्थानिय रेडियोहरु मार्पmत संरक्षण क्षेत्रको गतिविधी तथा कार्यक्रम, समाचारहरु प्रचारप्रसार गर्नको लागि गौरीशंकर दर्पण कार्यक्रम प्रशारण भएको जिक्यापले जनाएकोे छ । स्थापना देखि हालसम्म संरक्षण किसान, संरक्षण गार्ड, अलैचि खेती, संरक्षण शिक्षा, पर्यटन व्यवसायि, होटल व्यवस्थापन, घरबास व्यवस्थापन जस्ता १ सय ७० वटा तालिम आयोजना गरी त्यसवाट ४ हजार ४ सय ५७ जनालाभान्वित भएको अयोजनाले आफ्नो उपलब्धि मानेको छ ।

१ भदौ, २०७७ । ११ः४५ बजे प्रकाशित ।

VIEWS: 1745 पटक हेरीएको
error: Content is protected !!