रमेश र नितालाई देवदास स्मृति पत्रकारिता पुरस्कार

3 months ago/Monday, September 2nd, 2019

दोलखा, १६ भदौ ।

दोलखाका दुई जना पत्रकार देवदास स्मृति पत्रकारिता पुरस्कारवाट सम्मानित भएका छन् ।

नागरिक राष्ट्रिय दैनिकका दोलखा सँवाददाता रमेश खतिवडा र पत्रकार निता राउत देवदास स्मृति पत्रकारिता पुरस्कारवाट सम्मानित भएका हुन् । पत्रकार खतिवडालाई देवदास स्मृति पत्रकारिता पुरस्कार २०७६ वाट र निता राउतलाई देवदास स्मृति पत्रकारिता पुरस्कार २०७५ वाट सम्मान गरिएको हो । प्रदेश सभाका साँसद विशाल खड्काले सम्मानित पत्रकारहरुलाई जनही नगदा १० हजार र सम्मानपत्र सहित सम्मान गर्नुभयो । नेपाल पत्रकार महासँघ दोलखा शाखाका सँस्थापक अध्यक्ष स्वर्गिय देवदास श्रेष्ठको स्मृतिमा हरेक बर्ष दोलखाका एक जना क्रियाशिल पत्रकारलाई यो पुरस्कार दिने गरिएको छ । गत बर्षको पुरस्कार बितरण गर्न बाँकी रहेका कारण दुवै पुरस्कार देवदास स्मृति दिवसको अवसर पारेर प्रदान गरिएको हो । पत्रकार खतिवडाले आफूले पुरस्कार वापत पाएको ५ हजार र महासँघको फिल्ड रिपोर्टिङ मार्फत पाउने ४ हजार गरी ९ हजार पत्रकार तथा पत्रकार राउतले पुरस्कार स्वरुप पाएको पुरै रकम १० हजार पत्रकार महासँघको भवन निर्माणका लागि सहयोग गरेका छन् ।

स्मृति दिवसलाई सम्वोधन गर्दै प्रदेश सभाका साँसद विशाल खड्काले मुलुक सँघीयतामा गएसँगै पत्रकारहरुको जिम्मेवारी थपिएको बताउनुभयो । विगतका परिवर्तनहरुमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै साँसद खड्काले मुलुकको समृद्धि, गणतन्त्र र नेपालको सँबिद्यानको रक्षा तथा समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी दोलखाका अध्यक्ष एवँ तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेलले पत्रकारले बिरोध वा समर्थनमा भन्दा पनि यथार्थ र तथ्यपरक सूचना सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभयो ।

पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न स्मृति दिवसमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सामुदायिक रेडियो प्रसारक सँघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासँघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, पूर्व जिल्ला अध्यक्ष उद्धवप्रसाद पोखरेल, पुरस्कृत पत्रकार रमेश खतिवडा, नेपाल प्रेस संगठनका केन्द्रिय सदस्य शरद सापकोटा, प्रेस युनियनका जिल्ला अध्यक्ष दिपसंकर चौंलागाई, पत्रकार महासँघ दोलखा शाखाका उपाध्यक्ष लक्ष्मण थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१६ भदौ २०७६ । २ः१५ बजे प्रकाशित

VIEWS: 1695 पटक हेरीएको
error: Content is protected !!