रामबोलेस्थित ऐतिहाँसिक कालिदेवी मन्दिरमा कात्तिक २२ देखि भव्य मेला सुरु हुने

1 week ago/Wednesday, November 6th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा) २० कात्तिक ।

दोलखा जिल्ला धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर मध्ये एक मानिने जिरी नगरपालिका वडा नम्बर ८ रामबोले स्थित कालिदेवीको मन्दिरमा यो बर्ष पनि भव्य मेला लाग्दैछ । विगतका वर्षमा झै यो वर्षपनि रामबोलेको कालीदेवी मन्दिरमा कात्तिक २२ गतेदेखि भव्य मेला सुरु हुने भएको हो । यो वर्ष हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक कालीदेवी संरक्षण समितिले जनाएको छ । कालीदेवी मन्दिरमा आफ्नो मनोकांक्षा पुरा होस् भन्ने कामनाका साथ ठूलो सँख्यामा श्रद्धालु भक्तजन पुग्ने गरेका छन् । सो मन्दिरमा सैंयौं पाठी, परेवा र भालेको बलीपुजा पनि गर्ने गरिन्छ ।  प्रत्येक वर्ष भव्य मेला लाग्ने सो मन्दिरमा दोलखा र आसपासका जिल्ला सहित राजधानी र भारतदेखिका दर्शनार्थीहरु आउने गर्दछन् । कालीदेवी मन्दिरमा दर्शनार्थीले मागेको कुरा पुग्ने भएकोले पनि मेलामा मात्रै नभएर अन्य बेलामा समेत दर्शनार्थीहरुको आगमन भइरहने पूजारी गोरे तमाङको भनाई छ ।

खासगरी रामबोलेको कालीदेवी मन्दिरमा एकादशीदेखी पञ्चमीसम्म भव्य मेला लाग्ने गर्दछ भने द्धाद्धशीदेखि पञ्चमी सम्म लगातार बलि पूजा हुने गर्दछ । प्रत्येक वर्ष मेला लाग्ने समयमा श्रद्धालु भक्तजनहरु सोलि, डोलि र बलिपूजा सहित मन्दिर पुग्ने गर्दछन् । तर, पछिल्लो समय कालीदेवी मन्दिरसम्म सडक मार्गको विकास भएपछि दर्शनार्थीहरु दैनिक मन्दिरमा आउन थालेको मन्दिर सँरक्षण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष जनक लोप्चनले बताउनुभयो ।

आगामी बर्ष महोत्सवको आयोजना गर्ने

ऐतिहासिक रामबोले मन्दिरमा लगातार १५ दिन मेला लाग्ने गरे पनि आगामी पूर्णिमा र पञ्चमीको अघिल्लो रातको मेलालाई बिशेष रुपमा लिईन्छ । विगतका वर्षहरुमा रामबोले मन्दिरमा पूर्णिमा र पञ्चमीका दिन रातभर युवायुवति जुहारी खेल्ने र जुहारी जित्नेले विवाह गरी लैजाने चलन भएपनि पछिल्ला बर्षहरुमा यसको रौनकता हट्दै गएको छ । जिरी नगरपालिकाकै महत्वपूर्ण धार्मिकस्थलको रुपमा रहेको कालिदेवी मन्दिरको संरक्षण तथा प्रवद्र्धनका लागि आगामी बर्ष महोत्सवको आयोजना गर्ने जिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेज बहादुर खड्काले जानकारी दिनुभयो ।

रामबोले स्थित कालिदेवी मन्दिरमा लाग्ने बिशेष मेला, मेला मात्र नभएर स्थानीय जातजाति र समुदायको साँस्कृतिक पहिचानलाई प्रदर्शन गर्ने थलो पनि हो । साक्षात् शक्तिवान देवीको रुपमा पुजिने कालिदेवी मन्दिर जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्य एक हो ।

२० कात्तिक, २०७६ । ८ः१५ बजे प्रकाशित ।

VIEWS: 5380 पटक हेरीएको
error: Content is protected !!