विद्युतीय करेन्टको अर्को दुखद घटनाः गौरीशंकरमा कोदो रोप्न गएका युवकको पनि ज्यान गयो

4 months ago/Sunday, July 7th, 2019

दोलखा, २२ असार ।

दोलखाको गौरीशंकर गाउँपालिकामा कोदो रोप्ने मेला गएका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँका २६ वर्षिय दोर्जे तमाङको कोदो रोप्नका लागि बारी खन्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छिमेकीको मेला गएका तमाङको हिजो साँझ कोदालोले बारी खन्ने क्रममा नजिकै रहेको विद्युतको पोलबाट प्रवाह भइरहेको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । बारीमा दुई वटा पोल रहेको र सोही पोलबाट प्रवाह भइरहेको करेन्ट लागेर तमाङको मृत्यु भएको उहाँले बताउनुभयो ।

करेन्ट लागेर सोही स्थानका ७२ वर्षिय बिर्खबहादुर गुरुङ, ४३ वर्षिया सानीमायाँ तमाङ, ३३ वर्षिया लक्ष्मी तमाङ र ४० वर्षिय हेमबहादुर तमाङ घाइते भएका छन् । घाईते सबै जनालाई उपचारका लागि चरिकोट अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

यसअघि यही असार ११ गते पनि जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ की एक महिलाको करेन्ट लागेर मृत्यु भएको थियो । धान रोप्ने मेला गएकी ४० वर्षिया दुर्गा बुढाथोकीको पानी लिन जाने क्रममा विद्युतको पोलबाट एक्कासी करेन्ट प्रवाह हुँदा घटनास्थलमै मृत्यु भएको थियो । योसँगै चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै जिल्लामा करेन्ट लागेर ५ जनाको मृत्यु भइसकेको छ ।

२२ असार, २०७६ । ६ः ३० बजे प्रकाशित ।

VIEWS: 7530 पटक हेरीएको
error: Content is protected !!