कोरोना भाईरसको त्रासका कारण दोलखा महोत्सव स्थगित

1 month ago/Monday, March 2nd, 2020

दोलखा, फागुन १९ ।

दोलखा सदरमुकाम चरिकोटमा पर्सी देखि सुरु हुने भनिएको दोलखा महोत्सव स्थगित भएको छ ।

दोलखा उद्योग वाणिज्य संघले भ्रमण वर्षको अवसर पारेर बुधबारदेखि सदरमुकाम चरिकोटमा आयोजना गर्न लागेको वृहत दोलखा महोत्सव स्थगित भएको हो । आयोजक दोलखा उद्योगा वाणिज्य संघले आज विज्ञप्ती जारी गरी मुलुकभर फैलिएको कोरोना भाइरसको जोखिम बढेकाले त्यसको सर्तकता अपनाउन यही फागुन मसान्तसम्मका लागि महोत्सव स्थगित गरिएको जानकारी गराएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण विभिन्न मुलुकमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा रहेका मुलुकको सुचीमा राखेसँगै सरकारले भ्रमण वर्ष २०२० लगायतको कार्यक्रम स्थगित गरि ठुलो भेला तथा जमघट हुने मेला महोत्सव तथा सभा समारोह नगर्न नगराउन आग्रह गरेको थियो । सोही आग्रह अनुसार दोलखा महोत्सव पनि स्थगित गरिएको संघले जनाएको छ ।

संघले भोली आयोजना गर्ने भनिएको लगानी सम्मेलन पनि स्थगित भएको छ । दुवै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा सरकारले मेला, महोत्सव आयोजना नगर्न आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले यसअघि आजै दोलखा महोत्सव र छेच्यु महोत्सवका आयोजकलाई माथिको निर्देशन भन्दै महोत्सव आयोजना नगर्न निर्देशन दिनुभएको थियो । प्रजिअ शर्माले आज विहान दोलखा महोत्सवको मुख्य आयोजक दोलखा उद्योग वाणिज्य संघका पदाधिकारीलाई कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो । यस्तै जिरीको एलुङमा हुने छेच्यु महोत्सवको मुख्य आयोजक जिरी नगरपालिका र सहआयोजक संस्थाहरुलाई पनि यस्तै निर्देशन दिइएको छ ।

जिरी नगरपालिका मुख्य आयोजक र युवा सञ्जाल जिरी लगायतका संघसंस्था सह–आयोजक रहेको छेच्यु महोत्सव भोलिदेखि तिन दिनसम्म आयोजना गर्न लागिएको छ । महोत्सव तयारीका लागि सबै तयारी खर्च भइसकेको अवस्थामा मेला महोत्सव नगर्न सरकारले निर्देशन दिएपछि उद्योग वाणिज्य संघले अन्तिम समयमा आएर दोलखा महोत्सव स्थगित गरेको हो । यद्धपी एलुङमा हुने छेच्यु महोत्सवलाई सामान्य ढंगले मनाउने तयारी भइरहेको छ । सरकारको निर्णयपछि दोलखा महोत्सव उद्धघाटनका लागि आउने भनिएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, छेच्यु महोत्सवको उद्धघाटनका लागि आउने महिला बालिलका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको पुर्व निर्धारित कार्यक्रम रद्ध भएको छ ।

१९ फागुन, २०७६ । ३ः २० बजे प्रकाशित ।

VIEWS: 12270 पटक हेरीएको
error: Content is protected !!