वैदेशिक रोजगारमा रहेका दोलखाली नागरिकको विवरण धमाधम संकलन गरिदै

5 days ago/Tuesday, May 19th, 2020

लक्ष्मी बस्नेत ।

दोलखा, ६ जेठ ।

संघीय सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरिरहेका बेला दोलखाका स्थानीय सरकारले विदेशमा रहेका दोलखाबासिको तथ्यांक संकलन गर्न सुरु गरेका छन् ।

दोलखाका ९ वटै स्थानीय सरकारले देश बाहिर रहेका आफ्ना पालिका भित्रका नागरिकको तथ्यांक संकलन गर्न सुरु गरेका हन् । जसअनुसार जिल्लाको कालिञ्चोक गाउँपालिकाले वैदेशिक रोजगारीमा रहेका पालिका भित्रका नागरिकको तथ्यांक संकलनको काम करिव सम्पन्न गरेको छ । गाउँपालिकाले हालसम्म २८ सय ८५ जनाको तथ्यांक संकलन गरिसकेको छ । गाउँपालिकाभित्रका २ हजार ७५ जना नागरिक भारतमा र ८ सय ९ जना तेस्रो मुलुकमा रहेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतपछि सबैभन्दा बढि नागरिक मलेसियामा रहेको पाईएको छ ।

कालिञ्चोकमा २८८५ जनाको तथ्यांक संकलन

कालिञ्चोक गाउँपालिका वडा नम्वर १ साविक कालिञ्चोक गाविसका सबैभन्दा बढि ७ सय १४ जना विदेशमा रहेका छन् भने वडा नम्वर २ बाबरेका ७ सय जना विदेशमा रहेको गाउँपालिकाले जनाएको छ । यसैगरी, साविक लामिडाँडा गाविस अर्थात हालको वडा नम्वर ३ मा २ सय ७७, वडा नम्वर ४ मा १ सय ९, साविक लापिलाङ गाविस अर्थात हाल वडा नम्वर ५ का १ सय ५ र वडा नम्वर ६ का ४ सय ४४ जना विदेशमा रहेको तथ्यांक संकलन भएको छ । साविक सुनखानी गाविस अर्थात कालिञ्चोक गाउँपालिकाको हालको वडा नम्वर ७ का २ सय ३५ र वडा नम्वर ८ का १ सय ३७ तथा साविक सुन्द्रावती गाविस हालको वडा नम्वर ९ का १ सय ६३ जना विदेशमा रहेको गाउँपालिकाले जनाएको छ । सबै वडाका गरि हाल विदेशमै रहेका २८ सय ८५ जनाको तथ्यांक संकलन गरिएको र अझै केही छिटपुट बाँकी रहेकाले यो संख्या बढ्न सक्ने कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिनुभयो ।

जिल्लाको शैलुङ गाउँपालिकाको पनि दुई वटा वडाले तथ्यांक संकलनको काम अन्तिम चरणमा पुर्याएका छन् । शैलुङ गाउँपालिकाको वडा नम्वर ३ र वडा नम्वर ५ काटाकुटीले विदेशमा रहको वडा भित्रका नागरिकको तथ्यांक संकलनको काम अन्तिम चरणमा पु¥याएका हुन् । जसअनुसार वडा नम्वर ३ मा ७३ र वडा नम्वर ५ मा ८३ जनाको तथ्यांक संकलन भईसकेको छ । यद्धपी अझै तथ्यांक संकलनको काम भईरहेकाले यो संख्या थप हुनसक्ने वडा कार्यालयले जनाएको छ ।

जेठ १० गतेसम्म तथ्यांक संकलन गरिसक्नुपर्ने

जिल्लाका अन्य स्थानीय तहहरुले पनि तथ्यांक संकलन गरिरहेका छन् । केही स्थानीय तहमा तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको छ भने केही स्थानीय तह अब सुरु गर्ने तयारीमा छन् । जसअनुसार तामाकोशी गाउँपलिकाको पनि तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईरालाले जानकारी दिनुभयो । यस्तै, वैतेश्वर गाउँपालिकामा पनि धमाधम तथ्यांक संकलनको काम भईरहेको छ भने गौरीशंकर गाउँपालिकाले चाँडै तथ्यांक संकलन सुरु गर्ने तयारी गरेको छ ।

सरकारले कोरोना भाईरसको जोखिमका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने तयारी गरेपछि स्थानीय तहसम्म त्यसको तयारी तीव्र पारिएको हो । जसअनुसार जिल्लास्थित कोभिड १९ जोखिम न्युनीकरण समन्वय समितिको आज बसेको बैठकले पनि सबै स्थानीय सरकारलाई जेठ १० गतेसम्ममा विदेशमा रहेका पालिकाभित्रका नागरिकको तथ्यांक तयार पार्न भनेको छ । दोलखामा स्थानीय सरकारले विदेशमा रहेका नागरिकको पूर्ण तथ्याँक तयार पारेपछि सोही आधारमा विदेशवाट फर्किनेहरुका लागि क्वारेन्टाईनको तयारी गरिने छ ।

आवरण तस्वीरः कोभिड १९ जिल्ला समन्वय समितिको मंगलबार बसेको बैठकमा सहभागि ।

 

VIEWS: 3340 पटक हेरीएको
error: Content is protected !!