शिक्षक र कर्मचारी सहकारीको सँचालक बन्न नपाउने

11 months ago/Tuesday, September 18th, 2018

लक्ष्मी बस्नेत ।

दोलखा, २ असोज ।

जिल्लामा रहेका सहकारीहरुलाई नियमन तथा व्यवस्थापन गर्ने अधिकार पाएका दोलखाका सबै स्थानीय सरकार सहकारी ऐन निर्माणमा जुटेका छन् ।

विगतमा डिभिजन सहकारी कार्यालयबाट हुँदै आएका कामहरु स्थानीय सरकारबाट हुने भएपछि जिल्लाका स्थानीय तहहरु धमाधम ऐन निर्माणमा जुटेका हुन् । जस अनुसार दोलखाका ९ स्थानीय तह मध्य अधिकांसले सहकारी ऐन निर्माण गरिसकेका छन् । जिल्लाका दुई नगरपालिकाको सहकारी ऐन बनेर राजपत्रमा पनि प्रकाशित भईसकेको छ भने केही गाउँपालिकाले ऐन निर्माण गरेपनि राजपत्रमा प्रकाशित हुन बाँकी छ । जिल्लाको वैत्यश्वर र गौरीशंकर गाउँपालिका भने ऐन निर्माणकै क्रममा छन् ।

एक व्यक्ति एक सहकारीमा मात्रै सदस्य बन्न पाउने

जिरी नगरपालिकाको ‘सहकारी ऐन २०७४’ यही २०७५ साल साउन १ गतेबाटै प्रारम्भ भईसकेको छ । भीमेश्वर नगरपालिकाले पनि केही नयाँ व्यवस्था सहित सहकारी ऐन २०७४ निर्माण गरेको छ । जिरी नगरपालिकाले कुनै एक व्यक्ति एक भन्दा बढि सहकारीको सदस्य बन्न नपाउने र सार्वजनिक विद्यालयको शिक्षक तथा राष्ट्रसेवक कर्मचारीहरु सहकारीको सञ्चालक बन्न नपाउने गरि सहकारी ऐन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो । जिरी नगरपालिकाको सहकारी ऐनले शिक्षक मात्र वा सरकारी कर्मचारी मात्र सदस्य हुने गरि दर्ता भएको सहकारी संस्थामा बाहेक अन्य सहकारी संस्थामा सार्वजानिक विद्यालयको शिक्षक तथा राष्ट्रसेवक कर्मचारीहरु सम्बन्धित सेवाको कानुनले अनुमति दिएको अवस्थामा बाहेक पदाधिकारीमा बस्न पाउने छैनन् ।

लगातार दुई पटक सँचालक हुन नपाउने

जिल्लाको जिरी र भीमेश्वर नगरपालिकाले सहकारी ऐन बनाएर लागु गरेकोमा दुवै नगरपालिकाबीच केही ऐनहरु भने समान रहेका छन् । दुवै नगरपालिकाको ऐनमा कुनै एक व्यक्ति एकै प्रकृतिको एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने र यसअघि नै एक भन्दा बढि संस्थाको सदस्य भएमा ऐन प्रारम्भ भएको मितिले ३ वर्षभित्र कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै, नगरपालिकाको सहकारी ऐनमा एउटै व्यक्ति लगातार एउटै पदमा २ पटकभन्दा बढि सञ्चालक हुन नपाउने, एउटै परिवारको एक भन्दा बढि सदस्य एकै अवधिमा सञ्चालक तथा लेखा समितिको पदमा उम्मेदवार बन्न र निर्वाचत हुन नपाउने, एक व्यक्ति एक भन्दा बढि सहकारीको सञ्चालक र कर्मचारी बन्न नपाउने व्यवस्था छ ।

धमाधम ऐन बनाउँदै गाउँपालिका

मेलुङ, कालिञ्चोक र तामाकोशी गाउँपालिकाको सहकारी ऐन बने पनि राजपत्रमा प्रकाशित हुन बाँकी छ । विगु गाउँपालिकाले पनि सहकारी ऐन बनाईसकेको छ भने वैतेस्वर र गौरीशंकर गाउँपालिका सहकारी ऐन बनाउने क्रममा छन् । एक मात्रै स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई स्थानीय सरकारले र एक भन्दा बढि स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीलाई प्रदेश सरकारले हेर्ने व्यवस्था छ ।

८० सहकारी प्रदेशले हेर्ने

दोलखामा भएका ५ सय २३ वटा सहकारी मध्य ८० वटा प्रदेशले हेर्नेछन् भने ४ सय ४३ वटा सहकारी स्थानीय सरकार मातहत रहने जिल्ला सहकारी सँघ दोलखाले जनाएको छ । दोलखामा ६ वटा सँघ सहित ५ सय २३ वटा सहकारी संस्था रहेकोमा १ सय ९८ वटा बचत तथा ऋणका सहकारी रहेका छन् भने १ सय ९९ कृषी सहकारी, ३८ वटा बहुउद्देश्यीय सहकारी, ३७ वटा उपभोक्ता सहकारी र १० वटा पर्यटन सहकारी रहेको जिल्ला सहकारी सँघका अधयक्ष हेमन्त चौँलागाईले जानकारी दिनुभयो । यस्तै, विद्युत र पर्यटन सम्बन्धि ७/७ वटा, तरकारी तथा फलफुलका ६, चिया, कफी तथा स्वास्थ्य सहकारी ४/४, कोसली र सञ्चार सहकारी २/२ वटा तथा १/१ वटा यातायात, मौरी पालन र चौँरी पालन सहकारी रहेका छन् ।

जिल्लामा जिल्ला सहकारी सँघ, जिल्ला बचत तथा ऋण सहकारी सँघ, कृषी सहकारी सँघ, जिल्ला उपाभोक्ता सहकारी सँघ, जिल्ला दुग्ध उत्पादक सहकारी सँघ र जिल्ला बहुउद्देशीय सहकारी सँघ गरि ६ वटा सँघ रहेका छन् ।

२ असोज, २०७५ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 6985 पटक हेरीएको
error: Content is protected !!