संघीय सरकारले दिने बजेट कम भएको विगु गाउँपालिकाका जनप्रतिनिधिको गुनासो

2 months ago/Tuesday, June 11th, 2019

दोलखा, २८ जेठ ।

दोलखाको विगु गाउँपालिकाका जनप्रतिनिधिहरुले सरकारले दिने बजेट वर्षेनी घट्दै गएको गुनासो गरेका छन् ।

आगमी आर्थिक वर्षका लागि केन्द्र सरकारले विनियोजन गरेको बजेट सार्वजनिक भएसँगै विगुका जनप्रतिनिधिहरुले केन्द्र सरकारबाट प्राप्त हुने बजेट वर्षेनी कम हुँदै गएको गुनासो गरेका हुन् । विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले केही दिन अघि सिंगटीमा आयोजित एक कार्यक्रममा बोल्दै स्थानीय सरकारलाई केन्द्र र प्रदेश सरकारबाट दिईने बजेट वर्षेनी कम हुँदै गएको गुनासो गर्नुभएको थियो । विशेषगरि विगु गाउँपालिका प्रदेश र केन्द्र सरकारको बजेटमा ठगिँदै गएको भन्दै उहाँले आँफुहरुको कार्यकाल सकिँदासम्म कर्मचारीको तलव पुग्ने मात्रै बजेट आउने हो की भन्ने आशंका व्यक्त गर्नुभयो ।

अध्यक्ष खड्काले विनियोजन गरिएका बजेट पनि कागजमा मात्रै सिमित हुने गरेको बताउनुभयो । संघीय बजेटमा जिल्लाको विगु र गौरीशंकर गाउँपालिका ठगिएको भन्दै उहाँले विगु गाउँपालिकालाई प्रदेशबाट पनि कम बजेट आउने गरेको गुनासो गर्नुभयो । यद्धपी गौरीशंकर गाउँपालिकाबाट धेरै सांसद रहेकाले प्रदेशको बजेट थपिन सक्ने भन्दै उहाँले विगु गाउँपालिकाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने कोही नभएकाले प्रदेशको बजेट पनि कम आउने हो की भन्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

कस्ता योजना प्रभावित ?

गाउँपालिका अध्यक्षको यस्तो गुनासो पछि हामीले थप जिज्ञासा राखेका थियौँ । बजेट कम हुँदा विगु गाउँपालिकाको कुन कुन योजना प्रभावित भए त? किन वर्षेनी घट्छ, विगु गाउँपालिकाको बजेट ? हाम्रो यो जिज्ञासामा गाउँपालिकाका उपाध्यक्ष सन्जिव ओलीले बजेट कम हुँदा विकास निर्माणको काम प्रभावित हुने बताउनुभयो । बजेट कम हुँदा प्राथमिकीकरण गरिएका आयोजनाहरु सञ्चालन गर्न समेत कठिनाई हुने उहाँको भनाई छ ।

जिल्लाका ९ स्थानीय तहमध्य सबैभन्दा कम बजेट पाएको विगु गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट कुल २३ करोड ९० लाख बजेट पाउने भएको छ । जसमध्य वित्तिय समानीकरणतर्फ ११ करोड ९ लाख पाउनेछ भने सशर्त अनुदानतर्फ १२ करोड ८१ लाख विनियोजन गरिएको छ । विगु गाउँपालिकाले चालु आर्थिक वर्षका लागि वित्तिय समानीकरणतर्फ ११ करोड २८ लाख र सर्शत अनुदानतर्फ १२ करोड ४५ लाख गरि कुल २३ करोड ७३ लाख बजेट पाएको थियो ।

चालु वर्षको भन्दा १९ लाख कम

यो तथ्यांकलाई आधार मान्दा विगु गाउँपालिकालाई आगमी आर्थिक वर्षको लागि विनियोजन गरिएको कुल बजेट चालु वर्षको भन्दा १७ लाख बढि भएपनि वित्तिय समानीकरण तर्फको बजेट भने घटेको छ । विगु गाउँपालिकालाई चालु वर्ष ११ करोड २८ लाख बजेट विनियोजन गरिएकोमा आगमी आर्थिक वर्षका लागि ११ करोड ९ लाख मात्रै छुट्याईएको छ । विगुलाई आगमी आर्थिक वर्षका लागि वित्तिय समानीकरण तर्फ विनियोजन गरिएको बजेट चालु वर्षको भन्दा १९ लाख कम छ । आगमी आर्थिक वर्ष दोलखाका ९ वटा स्थानीय सरकारले कुल २ अर्ब ५५ करोड १२ लाख बजेट पाउने भएका छन् । जसमध्य नगरपालिकातर्फ भीमेश्वर नगरपालिकालाई र गाउँपालिकातर्फ कालिञ्चोक गाउँपालिकालाई सबैभन्दा बढि बजेट विनियोजन भएको छ ।

२८ जेठ, २०७६ । १ः ४५ बजे प्रकाशित ।

VIEWS: 810 पटक हेरीएको
error: Content is protected !!