सडकको दुरावस्था र टेलिकमको लापरवाहीविरुद्ध चरिकोटमा प्रदर्शन

3 weeks ago/Sunday, September 29th, 2019

दोलखा, १२ असोज ।

दोलखाका नागरिकहरुले डिभिजन सडक कार्यालय र नेपाल टेलिकम दोलखा शाखाको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सदरमुकाम चरिकोटमा बिरोध प्रदर्शन र दुवै कार्यालयमा तालावन्दी गरेका छन् ।

चरिकोट खाडीचौर सडकको दुरावस्था र नेपाल टेलिकम दोलखा शाखाको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै नगरवासी, पत्रकार र उद्योगी व्यवसायीहरुले आज बिरोध प्रदर्शन र तालावन्दी गरेका हुन् । यद्धपि, बिरोधको क्रममा गरिएको तालावन्दीलाई स्थानीय प्रशासनले तोडिदिएको छ । तालावन्दी गरे लगत्तै खटिएको प्रहरीले दुवै कार्यालयको ताला तोडेको हो । ठेकेदार कम्पनी र सरकारको लापरवाहीका कारण चरिकोट खाडीचौर सडक अलपत्र परेको र पछिल्लो समय टेलिकम दोलखा शाखाकोे सेवा प्रवाहमा चरम लापरवाही भएको भन्दै दोलखाका नागरिकले विरोध गरेका हुन् । उनीहरुले चरिकोट खाडीचौर सडक निर्माण सुरु भएको दुई वर्षमा सम्पन्न हुनुपर्ने भएपनि ५ वर्षसम्म पनि बन्न नसकेको, दशैंमा आवतजावत गर्ने यात्रुहरुले सास्ती व्यहोर्नु परेको र सडककै कारण दोलखामा आर्थिक चहलपहल समेत घटेको बताएका छन् । उनीहरुले तत्काल सडक मर्मत गरी यातायात सहज नगराए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

लगातार समस्या तर, टेलिकमको वेवास्ता

चरिकोटवासीले नेपाल टेलिकम दोलखा शाखाको सेवा प्रवाहप्रति पनि असन्तुष्टि जनाउँदै तालावन्दी गरेका छन् । नेपाल टेलिकम अन्र्तगतका ल्याण्डलाइन फोन, मोवाइल र एडिएसएल इन्टरनेट सेवामा लगातार समस्या देखापर्दा पनि टेलिकमले वेवास्ता गरेको भन्दै उनीहरुले कार्यालयमा तालावन्दी गरेका हुन् । सदरमुकाम चरिकोट लगायत दोलखा जिल्लाभर ल्याण्डलाइन फोन र मोवाइलमा समस्या देखा परेको छ । फोनमा डायल टोन समेत छैन भने मोवाइलमा फोन नलाग्ने र लागे पनि नसुनिने समस्या देखिएको छ । टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्याल सरुवा भए लगत्तै जिल्लामा आएका कार्यालयका प्रमुख धर्मराज महर्जनले टेलिफोनमा लगातार समस्या देखिँदा पनि वेवास्ता गरेका भन्दै सर्वत्र बिरोध हुँदै आएको छ ।

कडा आनदोलन गर्ने चेतावनी

तत्काल फोनमा देखा परेको समस्या समाधान नभए अझ कडा आन्दोलन गर्ने स्थानीयले बताएका छन् । डिभिजन सडक कार्यालय र नेपाल टेलिकम दोलखा शाखाको कार्यालयमा तालावन्दी गर्नुअघि सातदोबाटोबाट सुरु भएको सिठ्ठी जुलुस खवरदारी सभामा परिणत भएको थियो । खवरदारी सभालाई पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवि मास्के, प्रेस युनियन वागमति विशेष क्षेत्र संयोजक रमेश खतिवडा, पत्रकार दिपशंकर चौलागाँई, उद्योग वाणिज्य संघ दोलखा शाखाका सदस्य विमल श्रेष्ठ, क्षेत्रीय होटल संघका सदस्य गणेश विक्रम शाही ठकुरी लगायतले सम्बोधन गरेका थिए ।

१२ असोज, २०७६ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 2825 पटक हेरीएको
error: Content is protected !!