स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी नहुँदा सेवाग्राही समस्यामा

4 months ago/Saturday, August 10th, 2019

लक्ष्मी बस्नेत ।

दोलखा, २५ साउन ।

आर्थिक वर्ष सकिए लगत्तै दोलखाका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले जिल्ला छाडेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु विभिन्न प्रयोजनका लागि जिल्ला बाहिर गएपछि सेवा प्रवाहमा समस्या भएको हो । गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित वडा कार्यालयका वडा सचिव समेत कार्यक्षेत्रमा नभएपछि सेवाग्राही समस्यामा परेका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै कामको चाप समेत कम हुने भएपछि कर्मचारीहरु विदा तथा कार्यालयकै काम देखाउँदै धमाधम जिल्ला बाहिर गएका हुन् । केही कर्मचारी विदामा छन् भने केही आफ्नै व्यक्तिगत समस्या र केही कार्यालयको काम देखाउँदै कार्यक्षेत्र बाहिर छन् । केही स्थानीय तहको भने प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीको टोली नै अवलोकन तथा स्थलगत भ्रमणमा रहेका छन् ।

९ मध्य ५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन्

जिल्लाको शैलुङ, वैतेश्वर, विगु, कालिञ्चोक र मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु जिल्ला बाहिर रहेका हुन् । शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वकर्मा आँफै विरामी परेपछि केही दिन यता ‘रेस्ट’ मा छन् भने मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल पनि केही दिनदेखि विदामै रहेका छन् ।

यसैगरी, कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँईकेल भने अघिल्लो सातादेखि नै केन्द्रीय राजधानी काठमाडौँमा रहेका छन् । केही आफ्नै व्यक्तिगत काम र केही कार्यालयको कामका कारण काठमाडौँ बसेको प्रमुख प्रशासकीय अधिकृत कुँईकेलले बताउनुभयो । यद्धपी आँफुहरु कार्यालय बाहिर भएपनि अन्य कर्मचारीहरु कार्यालयमै रहेकाले कार्यालयको सेवा प्रवाहमा कुनै समस्या नभएको उहाँको भनाई छ ।

वैतेश्वर र विगुको टोली अवलोकन भ्रमणमा

वैतेश्वर र विगु गाउँपलिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको टोली भने अवलोकन तथा स्थलगत भ्रमणमा रहेको छ । वैतेश्वर गाउँपालिकाको टोली गाउँपालिकाकालई बालमैत्री गाउँपालिका घोषणाको तयारीका लागि नवलपरासी र कञ्चनपुर भ्रमणमा रहेको छ । बालमैत्री घोषणाका लागि गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित गाउँ कार्यपालिका सदस्यको टोली नवलपरासीको देवचुली र कञ्चनपुरको भिमदत्त नगरपालिकाको अवलोकन भ्रमणमा रहेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विहिबार देखि अवलोकन भ्रमणमा गएको टोली सोमबार जिल्ला फर्किनेछ ।

जिल्लाको विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको टोली पनि स्थलगत अवलोकन भ्रमणमा रहेको छ । कृषी फार्मको स्थलगत अवलोकनका लागि गाउँपालिकाकै टोली ककनी गएको गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो । मंगलबार गाउँपालिकाबाट गएका प्रमुख प्रशासकीय अधिकृत ओली पनि सोमबार मात्रै जिल्ला फर्किने तयारीमा छन् ।
जिल्लाको ९ स्थानीय तहमध्य ५ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कार्याक्षेत्र बाहिर भएपनि चार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भने कार्यालयमै रहेका छन् । जिल्लाको जिरी र भीमेश्वर नगरपालिका तथा तामाकोशी र गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्रमै रहेका हुन् ।

कर्मचारी नहुँदा सुचना लिन पनि कठिन

कर्मचारीहरु कार्यालयमा नभएको स्थानमा भने सेवा लिन समस्या भएको सेवाग्राहीको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी कार्यालयमा नहुँदा दैनिक प्रशासनिक कामका लागि तथा पञ्जिकरण लगाएतका सेवा लिन कार्यालय पुगेका सेवाग्राहीहरु समस्यामा पर्ने गरेका हुन् । बर्खाको समयमा जिल्लाका विभिन्न स्थानमा बाढि पहिरोका कारण ठुलो क्षति भईरहेका बेला कर्मचारी नहुँदा बाढी पहिरो पीडितको राहत तथा उद्धारको काममा समेत समस्या भएको छ ।

यद्धपी प्रमुख प्रशासकीय अधिकृतहरुले भने आर्थिक वर्षको सुरुमा खासै कामको चाप नभएको र खाता समेत सञ्चालन भईनसकेकाले आँफुहरु कार्यालय बाहिर भएपनि कार्यालयको कामकारवाही र सेवा प्रवाहमा कुनै समस्या नभएको दावि गरेका छन् । तर, केही स्थानीय तहमा भने प्रमुख प्रशासकीय अधिकृत मात्रै नभएर सुचना अधिकारी, लेखापाल तथा अन्य कर्मचारी समेत विभिन्न कामका लागि कार्यालय बाहिर भएपछि सुचना लिन समेत कठिन हुने गरेको छ ।

२५ साउन, २०७६। १ः ४५ बजे प्रकाशित ।

VIEWS: 2600 पटक हेरीएको
error: Content is protected !!