२० वर्षमा हुन नसकेको काम साँढे दुई वर्षमा गरेका छौँः शैलुङ गाउँपालिका अध्यक्ष दुलाल

3 months ago/Sunday, February 16th, 2020

बागमति प्रदेश सरकारले दोलखाको शैलुङ गाउँपालिकालाई हालै प्रदेशकै उत्कृष्ट गाउँपालिका घोषणा गरेको छ । बागमति प्रदेश सरकारले प्रदेश स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसर पारि कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तिय प्रतिवेदन लगाएतका सुचकलाई आधार मानेर शैलुङ गाउँपालिकालाई प्रदेशभित्रकै उत्कृष्ट गाउँपालिका घोषणा गरेको हो । बागमती प्रदेशका १३ जिल्लाको १ सय १९ स्थानीय तहमध्य दोलखाको शैलुङ गाउँपालिका प्रदेशकै उत्कृष्ट बन्न कसरी सम्भव भयो ? शैलुङलाई नमुना बनाउनका लागि गाउँपालिकाले के कस्ता योजना अघि सारेको छ ? आज हामीले यसै सन्दर्भमा आधारित रहेर शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, सहकर्मी लक्ष्मी बस्नेतले गरेको यो कुराकानी ।

शैलुङ गाउँपालिका बागमति प्रदेशकै उत्कृष्ट बन्न कसरी सम्भव भयो ?

स्थानीय तहको निर्वाचन भईसकेपछि हामी सुरुदेखि नै काममा जुट्यौँ । कर्मचारी साथी, माननीय ज्युहरु, जनप्रतिनिधि, सरोकारवाला निकाय, राजनीतिक दल जनता सबैको सहयोग लिएर हामीले काम सुरु ग¥यौँ । जसको परिणाम स्वरुप अहिले चाहीँ हामी बागमति प्रदेश कै नमुना तथा उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट भयौँ ।

गाउँपालिका उत्कृष्ट घोषणा त भयो, अझ उत्कृष्ट काम गरेर देखाउनुपर्ने जिम्मेवारी पनि थपियो नी होईन ??

अब हिजो चाहीँ शैलुङ गाउँपालिका भनेर कसैले चिन्न सक्ने अवस्था थिएन । हाम्रो परिचय थिएन । अहिले शैलुङ गाउँपालिका भनेर चिन्ने स्थिति बनेको छ । हामीले परिचय पाएका छौँ । अब हामी अझ गम्भिर ढंगले त्यसलाई पुष्टी गर्नका लागि काममा जुट्छौँ ।

खासगरी शैलुङलाई नमुना बनाउनका लागि तँपाईहरुले अघि सारेका पूर्वाधार विकासका योजना र कार्यक्रमहरु के के हुन ??

मुख्य त हामीले सडक पूर्वाधारलाई प्राथमिकता राखेका छौँ । सडक पूर्वाधार एकदमै कमजोर थियो हाम्रो । सबै सुचकांकमा शैलुङ गाउँपालिका पछाडी थियो । अहिले हामीले यसलाई विशेष जोड दिएर करिव ४ सय किलोमिटर सडक निर्माण गरिसकेका छौँ । हामी लोकमार्ग देखि गाउँपालिका केन्द्रसम्म पिच सडक र गाउँपालिका केन्द्र देखि प्रत्यक वडासम्म जाने सडकलाई सर्वयाम सञ्चालन हुने बनाउन चाहीरहेका छौँ । सँगसँगै दुईवटा वडाहरु जोड्ने नजिकका अन्य स्थानीय तहहरु जोड्ने सडक निर्माणका लागि पनि हामी लागिरहेका छौँ ।

यसका अलवा गाउँपालिकाको भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकीका भवनहरु निर्माण गर्ने, यसैगरी विद्यालय पुननिर्माणको कामलाई विशेष जोड दिने, निजि आवास पुननिर्माणमा जोड दिने । समग्रमा चाहीँ शिक्षा, स्वास्थ्य, कृषी, सिञ्चाई, खानेपानी, विद्युतीकरण सबै क्षेत्रमा शैलुङ गाउँपालिका लागिरहेको छ । त्यसभित्र पनि नागगरिकलाई सेवा प्रवाह गर्ने कुरालाई कसरी चुस्त गर्न सकिन्छ ? त्यसमा हामी लागिरहेका छौँ । कर्मचारी समायोजनका कारण केही अप्ठ्यारो परेको थियो तर, अब कर्मचारीहरु आउँदै हुनुहुन्छ, हामी थप विकास निर्माणका काम लगाएत सेवा प्रवाहका कामलाई अझ व्यवस्थित ढंगले अघि बढाउँछौँ ।

हिजो चाहीँ शैलुङ गाउँपालिका भनेर कसैले चिन्न सक्ने अवस्था थिएन । अहिले शैलुङ गाउँपालिका भनेर चिन्ने स्थिति बनेको छ । हामीले परिचय पाएका छौँ । अहिले हामीले यसलाई विशेष जोड दिएर करिव ४ सय किलोमिटर सडक निर्माण गरिसकेका छौँ ।

चालु वर्ष गाउँपालिकामा के कस्ता योजनाहरु सञ्चालन भएका छन् ? अनी उपलव्धी कस्तो छ ??

योजना त हाम्रा थुप्रै छन् । झण्डै ५ सय योजना हामीले सम्पन्न गरिसकेका छौँ, नियमित रुपमा गर्नुपर्ने । त्यसमध्य पनि हामीले शिक्षामा थप लगानी गरेका छौँ । विद्यालय व्यवस्थित गर्ने काम गरेका छौँ । पूर्वाधारमा हाम्रो मुडेदेखि ढुंगेसम्म साँढे १४ किलो मिटर बाटो पिचका लागि ठेक्का भएको छ । गाउँपालिका भवन बन्दैछ । त्यसैगरी कृषी उपसंकलन केन्द्र बनेका छन् । यो वर्ष कोल्डस्टोर निर्माणका लागि टेण्डर प्रक्रिया अगाडी बढाईरहेका छौँ । पर्यटकीय क्षेत्रमा हामीले पैदलमार्ग निर्माण गरेका छौँ । त्यसैगरी विभिन्न सांस्कृतिक धरोहरहरुलाई अझ व्यवस्थित गर्ने गरि अगाडी बढेका छौँ । शैलुङको कालापानीसम्म विद्युतीकरण विस्तार गरेका छौँ ।

आगमी आर्थिक वर्षका लागि शैलुङ गाउँपालिकाले कस्ता योजना र कार्यक्रमहरु तय गरेको छ ??

हामी तत्काल गर्नुपर्ने कामहरुलाई यो वर्षपनि र अर्काे वर्ष पनि निरन्तरता दिन्छौँ । केही हाम्रा मध्यकालिन योजनाहरु छन् । ती मध्यकालिन योजनाहरु निर्माण गर्ने काम अघि बढेको छ र केही दीर्घकालिन योजनाहरु छन् । ती दीर्घकालिन योजना सम्पन्न गर्नका लागि पनि हामी त्यसका आधारहरु निर्माण गर्दैछौँ । त्यसो हँुदा खेरी अझ थप व्यवस्थित गर्दै अर्काे वर्ष हामी अहिले चालु योजनाहरुलाई सम्पन्न गर्ने, थप योजनाहरु फेरी सुरु गर्ने र एउटा समृद्ध शैलुङ निर्माण गर्नेतर्फ हामी अघि बढिरहेका छौँ ।

शैलुङ गाउँपालिका हिजोदेखि राज्यबाट एकदम टाढा रहेको थियो । अहिले हामीले शिक्षामा दुई वटा प्राविधिक विद्यालय सञ्चालन गर्ने अनुमति पाईसकेका छौँ । विगत २० वर्षमा हुन नसकेका काम हामीले यो साँढे दुई वर्षमा सम्पन्न गरेका छौँ । पाँच वर्षमा हामी थुप्रै परिवर्तन गर्नेछौँ ।

तँपाईहरु निर्वाचित भएर आएको करिव साँढे २ वर्षको अवधिमा भएका मुख्य र उपलव्धीमुलक कामहरु केलाई मान्न सकिन्छ ??

शैलुङ गाउँपालिका हिजोदेखि राज्यबाट एकदम टाढा रहेको थियो । झण्डै ३१ प्रतिशत जनता गरिविको रेखामुनि थिए । राज्यका कुनै पनि विकास निर्माण लगाएत महत्वपुर्ण चिजहरु थिएन हामीसँग । अहिले हामीले शिक्षामा दुई वटा प्राविधिक विद्यालय सञ्चालन गर्ने अनुमति पाईसकेका छौँ । अब समृद्धिका निम्ती हाम्रो दीर्घकालिन आधार भनेको चाहीँ पर्यटन क्षेत्र नै हो । जसमा शैलुङ, चर्नावती धाम र अन्य मठमन्दिर, गुम्वाहरु छन् । त्यसको विकासका निम्ती जोड दिईरहेका छौँ ।

सँगसँगै कृषी तथा पशुपालनको क्षेत्र, वनजंगल, जडिबुटि पनि हाम्रा समृद्धिका आधारहरु हुन् । ती हाम्रा समृद्धिका आधारहरुलाई छिटो भन्दा छिटो पुरा गर्ने हिसावले पनि हामी लागिरहेका छौँ । अहिले हामीले प्रत्यक वडामा कृषी र पशु क्षेत्रका एक÷एक जना प्राविधिक पठाएका छौँ । उहाँहरुसँग समन्वय गर्दै अब कृषी र पशुपालनका क्षेत्रमा लगानी बढाउँछौँ । यसरी सिंगो एउटा समृद्ध शैलुङ गाउँपालिका निर्माण गर्ने र नागरिकलाई चुस्त सेवा प्रवाह गर्ने हाम्रो उद्देश्य रहेको छ । त्यसकारण आगमी वर्ष हामी झन व्यवस्थित ढंगले अघि बढ्छौँ ।

गाउँपालिकामा योजना र कार्यक्रम कार्यान्वयन गर्न कत्तिको चुनौती छ ??

चुनौती त एकदमै चूनौती रहेको छ । हिजोको त्यो सर्वदलीय समयताका जुन विकृतिहरु देखिईरहेका थिए ती विकृतिहरुलाई हटाउनुपर्ने छ । अहिले पनि कतिपय मानिसहरुले नियम कानुन बुझ्दैनन् । जनाप्रतिनिधिहरुलाई दवाव दिन्छन् । हामीले सबै कुरा विधिका आधारमा, नियम कानुनका आधारमा गर्ने कोशिस गरेका छौँ । यसो गर्दा कतिपय कठिनाईहरु उत्पन्न हुन्छन् । समाजमा अनेक खालका बहुआयामिक समस्याहरु पनि देखा पर्छन । ती समस्याहरुले पनि गाउँपालिकाको विकास निर्माणलाई, हाम्रो सेवा प्रवाहलाई असर पु¥याउँछ । तर, अब हामी सिद्धान्त र यहाँका राजनीतिक दल तथा राज्यका अन्य अंगलाई साथमा लिएर ती चूनौतीहरुलाई पार गर्न सक्छौँ जस्तो लाग्छ ।

पाँच वर्षको कार्यकालमा शैलुङ गाउँपालिकामा कस्तो परिवर्तन आउला ??

पाँच वर्षमा हामी थुप्रै परिवर्तन गर्नेछौँ । विगत २० वर्षमा हुन नसकेका काम हामीले यो साँढे दुई वर्षमा सम्पन्न गरेका छौँ । र अब बाँकी दुई वर्ष काम गर्दाखेरी स्वभाविक रुपमा शैलुङ गाउँपालिका हिजो पछाडी रहेपनि अब अन्य गाउँपालिका सरह अथवा त्यो भन्दा माथि जानेगरि एउटा नमुना गाउँपालिका बनाउने हाम्रो प्रयत्न रहनेछ ।

४ फागुन, २०७६ । २ः ३० बजे प्रकाशित ।

VIEWS: 9925 पटक हेरीएको
error: Content is protected !!