३ नम्बर प्रदेशको नाम ‘गौरीशंकर’ राख्न सांसद विशाल खड्काको प्रस्ताव

2 weeks ago/Tuesday, May 14th, 2019

हेटौंडा, ३१ बैशाख ।

दोलखावाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विशाल खड्काले ३ नम्बर प्रदेशको राजधानीको नाम ‘गौरीशंकर’ राख्न प्रस्ताव गर्नुभएको छ ।

सांसद खड्काले ३ नम्बर प्रदेश सभाको संसद सचिवालयमा आज औपचारिक रुपमा प्रदेशको नाम ‘गौरीशंकर’ हुनु पर्ने भन्दै प्रस्ताव दर्ता गराउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीको सँसद सचिवालयमा प्रस्ताव पेश गरे लगत्तै सांसद खड्काले संसद सचिवालयमा पनि प्रस्ताव दर्ता गराउनुभएको छ । प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नामाकरण गर्ने व्यवस्था भएपनि धार्मिक एकता, सांस्कृतिक बिविधता, नेपालको औपचारिक समय र भौगोलिक पहिचान सहितको नाम गौरीशंकर राख्न उपर्युक्त भएका कारण औपचारीक रुपमा प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले गौरीशंकर प्रदेशको नाम उपर्युक्त हो भन्दै ६ वटा आधार पनि पेश गर्नुभएको छ ।

 

यस्ता छन् प्रस्तुत आधारहरु

सांसद खड्काले प्रस्तुत गरेको आधारमा नेपालका ८ वटा हिमश्रृङखला मध्ये चार वटा प्रदेश नम्बर ३ मा पर्ने र त्यस मध्ये रोल्वालिङ हिमश्रृङखलामा पर्ने गौरीशंकर हिमाल पवित्र हिमाल भएका कारण सोही हिमालको नामवाट प्रदेशको नाम राख्नु पर्ने उल्लेख छ । नेपालको अन्तराष्ट्रिय पहिचान हिमाल र बुद्धको देश भएपनि जलाधारका हिसाबले दुई प्रदेशको नामाकरण भईसकेको अवस्थामा प्रदेश १ बाहेक अन्य प्रदेशको नाम हिमालवाट राखिने सम्भावना कम भएका कारण पनि ३ नम्बर प्रदेशले हिमालकै नाम राख्न उपर्युक्त हुने आधार पनि प्रस्तुत गरिएको छ ।

नेपालको प्रमाणिक समय मापनको आधार र समय निर्धारण गौरीशंकर देशान्तरवाट गरिएका कारण प्रदेशको नाम गौरीशंकर राखिदा प्रदेश मात्र नभई समग्र देशको प्रतिनिधित्व हुने प्रस्तावमा उल्लेख गरिएको छ । गौरीशंकर शिव र गौरी पार्वतीको प्रतिक तथा बौद्ध धर्माबलम्वि र तिव्वतियनहरुको समेत धार्मिक आस्थाको धरोहर भएका कारण पनि धार्मिक एकता र सांस्कृतिक विविधताको सम्मान गर्न प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने सांसद खड्काले पेश गरेको प्रस्ताव पत्रमा उल्लेख छ ।

सांसद खड्काले पेश गरेको प्रदेशको राजधानीको नामाकरण सन्दर्भमा प्रदेश सभाको बैठकमा छलफल हुनेछ । ३ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने बिषयलाई सूचिमा राखेर प्रदेश सभाको बैठक सुरु गरिए पनि कांग्रसले हिजो सदन अवरोध गरेका कारण आज पनि चल्न सकेको छैन । संसद बैठक सुचारु गर्नका लागि कांग्रेस संसदीय दलका नेताहरुसँग छलफल भईरहेको छ ।

३१ बैशाख २०७६ । ५ः०० बजे प्रकाशित

VIEWS: 3225 पटक हेरीएको
error: Content is protected !!