३ महिना भित्र शैलुङमा ‘भ्यू टावर’ निर्माण गरिने

2 years ago/Saturday, March 31st, 2018

दोलखा, १७ चैत्र ।

दोलखाको पर्यटकीय एवँ धार्मिक स्थल शैलुङमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तिन महिना भित्र ‘भ्यू टावर’ निर्माण कार्य पूरा गर्ने भएको छ ।

पर्यटन मन्त्रालयले हिजो सरकार गठन भएको सय दिनभित्र सम्पादन गरिने प्रमुख कामहरु सार्वजनिक गर्दै शैलुङमा भ्यू टावर निर्माण गर्ने जनाएको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारीले सार्वजनिक गर्नु भएको कार्य सूचि र कार्यतालिकाको १३ नम्बर बुँदा अन्तर्गत एकिकृत पर्यटन पूर्वाधार विकास कार्यक्रममा दोलखा र रामेछापको सिमानामा रहेको पर्यटकीय स्थान शैलुङमा भ्यू टावर निर्माण सम्पन्न गर्ने उल्लेख छ । पर्यटन मन्त्रालयकै बजेटम शैलुङको सवैभन्दा अग्लो र ठूलो थुम्कामा भ्यू टावर निर्माण कार्य भईरहेको छ । पर्यटन मन्त्रालयले टावर निर्माणका लागि विनियोजन गरेको बजेटलाई जिल्ला समन्वय समिति रामेछाप मार्फत कार्यान्वयन भईरहेको छ । ठेकेदार मार्फत निर्माण भईरहेको भ्यू टावरको मुख्य पूर्वाधार निर्माणको काम सम्पन्न हुने क्रममा रहेको दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिँह तामाङले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालयले सरकार गठन भएको सय दिनभित्र शैलुङमा भ्यू टावर निर्माण गरिसक्ने लक्ष्य राखेपनि दोलखाका जनप्रतिनिधीहरु भने भ्यू टावरलाई बौद्ध धर्म र र सँस्कृतिसँग जोडेर पुरात्तात्विक हिसावले निर्माण गर्नुपर्ने पक्षमा छन् । अघिल्लो महिना ३ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले शैलुङ क्षेत्रको भ्रमणको क्रममा अग्लो स्थानमा रहेको शैलुङमा भ्यू टावर निर्माण औचित्यहिन भएको टिप्पणी गर्नुभएको थियो । भ्यू टावर र तामाङ समूदायको धर्म सँस्कृतिसँग सम्वन्धित छ्योर्तेन निर्माणको क्रममा शैलुङको सवैभन्दा ठूलो थुम्को क्षतिग्रस्त भएको छ । शैलुङमा १०८ वटा प्राकृतिक थुम्काहरु रहेका छन् ।

दोलखामा दुई पदमार्ग निर्माण गरिने

पर्यटन मन्त्रालयले एकिकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तत्काल सम्पादन गर्ने कार्यक्रम भित्र दोलखाका थप दुई योजनालाई पनि समेटेको छ । जस अन्तर्गत मन्त्रालयले दोलखा र सिन्धुपाल्चोको सिमाना मुढे बजारदेखि शैलुङ सम्म पदयात्रा मार्गको पुननिर्माण कार्य सुरु गरिने छ । यस्तै, दोलखाको गौरीसँकर गाउँपालिकाको जगतवाट–टासिनाम हुँदै–डाल्दुङ–बेदिङ सम्मको पद मार्ग पनि सरकार गठन भएको मितिले सय दिन भित्र सम्पन्न गरिने छ । यी दुई पदमार्ग निर्माण गरी पर्यटन विकास मार्फत गरिवी निवारण र रोजगारीको अवसर सिर्जना गर्ने मन्त्रालयको योजना छ ।

पर्यटन मन्त्रालयले दोलखा देखि रामेछापको लखनपुर सम्म पनि पदमार्ग निर्माण गर्ने भएको छ । यो पदमार्गको ८० प्रतिशत काम तत्काल पूरा गर्ने मन्त्रालयको योजना छ ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले पर्यटन मन्त्रालयले मुढेदेखि शैलुङ सम्म पदमार्ग निर्माणलाई प्राथमिकतामा राखेर तत्काल काम सुरु गर्ने निर्णयको स्वागत गर्नुभएको छ । ईदोलखासँग कुराकानी गर्दै अध्यक्ष दुलालले पदमार्ग निर्माण शैलुङ क्षेत्रको एकिकृत पर्यटन विकासमा कोसेढुँगा हुने बताउनुभयो । एकिकृत पर्यटन विकासमा गाउँपालिका समेत सक्रिय भएर लाग्ने अध्यक्ष दुलालको भनाई छ । शैलुङमा भ्यू टावर निर्माण सम्पन्न गर्ने बिषयमा भने अध्यक्ष दुलालको फरक मत रहेको छ । उहाँले भ्यू टावर निर्माण गर्दा प्राकृतिक र भौगोलिक सुन्दरतालाई बचाउनु पर्ने र टावरलाई अन्तिम रुप दिँदा बौद्ध धर्म र सँस्कृतिसँग जोडेर निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नु पर्ने प्रतिक्रिया दिनुभयो ।

१७ चैत्र, २०७४ । ११ः०० बजे प्रकाशित ।

VIEWS: 4020 पटक हेरीएको
error: Content is protected !!